‘मेरा सन्तान किसान नबनून्’
बिहानदेखि साँझ खेतमै बित्छ, तरकारीले बजार पाउँदैन। न्यूनतम आवश्यकता त पूरा हुन्छन्, तर रहर अपूरै छन्। त्यसैले त चितवनकी दुर्गा कार्की भन्छिन्- मेरा सन्तान किसान नबनून्।
घडीले बिहानको ४ बजाउन नपाउँदै उनका आँखा खुलिसक्छन्। जुरुक्क उठेर गोठमा पुग्छिन्। चार वटा लैनो गाईका लागि कुँडो बनाउँछिन्। कुटी काटेर भुस मिलाउँछिन्। पराल दिन्छिन्।
गोबर सोहोरेर गोठ सफा गर्दासम्म ५ बजिसकेको हुन्छ। चार वटै गाई दुहेर साइकल कुँदाउँदै तीन किलोमिटर परकोे डेरीमा दूध पुर्याउँदासम्म बिहानको ७ बज्छ।
१३ वर्षदेखि चितवनको भरतपुर महानगरपालिका-१६, ठूलोगढीकी दुर्गा कार्की (५९)को हरेक बिहान यसैगरी बितिरहेको छ। बिहान गोठको व्यस्त तालिकापछि दिउँसो भने तरकारी बारीमा भेटिने गर्छिन्।
तरकारी खेतीका लागि दुर्गाले १० कट्ठा जमीन भाडामा लिएकी छन् जहाँ टमाटर, बन्दा, काउली, मुला लगायत तरकारी लगाएकी छन्। बारीमा काम गर्दागर्दै साँझको ५ बजिसक्छ। हरेक दिन १२ देखि १३ घन्टा गोठ र खेतमा व्यस्त हुने दुर्गा भन्छिन्, “यति नगरे त परिवार पाल्नै सकिंदैन। छोराछोरी पढाउनु, हातमुख जोर्नु, लुगाफाटो जुटाउनु गोठ र बारी त गर्नैपर्यो।”
कृषिकर्ममा लाग्ने उनको रुचि थिएन। एउटा यस्तो घटना भयो जसले उनलाई कृषिमा लाग्न बाध्य बनायो।
त्यो थियो, घरेलु हिंसा। उनका श्रीमान् जाँडरक्सी सेवन गरेर हरेक दिन कुटपिट गर्थे। यसले आफूलाई मात्रै नभई छोराछोरीलाई पनि असर पर्न थालेपछि उनी बाराबाट माइतीघर भरतपुर पुगिन्। “छोराछोरी पुर्याएर गएको मान्छे फर्केर आएनन्, गएको गयै भए,” दुर्गा भन्छिन्, “मैले पनि धेरै चिन्ता गरिनँ, हरेस खाइनँ। खेतीपाती गरेर एक्लै छोराछोरी हुर्काएँ।”
पाँचमध्ये जेठी छोरी आशाको विवाह भइसकेको छ। बाँकी चार सन्तान उनीसँगै छन्। माइली छोरी आश्मा सप्तगण्डकी बहुमुखी क्याम्पसमा पत्रकारितामा स्नातक अध्ययनरत छिन्। काइँली छोरी ईश्वरी अहिले दुर्गा श्रेस्कान्त माविमा कक्षा १२ मा पढिरहेकी छन्। साइँली छोरी प्रियंका र कान्छो छोरा आयुष विजयनगरको श्री माध्यमिक विद्यालयमा कक्षा ११ र कक्षा ५ मा अध्ययनरत छन्।
चार जना छोराछोरीलाई पढाउन मात्र विद्यालयमा मासिक १५ हजारसम्म खर्च हुन्छ। त्यस बाहेक कापी, किताब, कलम, पोशाक, खाजा र अन्य गरी १० हजार लाग्छ। घर चलाउन थप १० हजार गर्दा महीनामा कम्तीमा ३५ हजारसम्म खर्च हुने हिसाब छ। औंला भाँचेरै हिसाब निकाल्दै दुर्गा भन्छिन्, “खर्च हुने ठाउँ यति धेरै छन्। तर, आम्दानी गाईको दूध मात्र छ। तरकारी खेतीमा त ऋणले नै थिचेको छ।”
उनी दूध बेचेर महीनाको ५० हजारसम्म आम्दानी गर्छिन्। जसमध्ये १५ हजार गाईको आहारा र स्याहारमा खर्च हुन्छ। बाँकी ३५ हजार चार सन्तान पढाउन र घरव्यवहार धान्न खर्च हुन्छ।
दूध बिक्री त छँदै छ, तरकारी खेतीबाट थप सहयोग पुग्ला भनेर उनी त्यतातिर लागेकी थिइन्। शुरूका केही वर्ष राम्रै पनि भएको थियो। तर, पछिल्ला केही वर्षयता भने तरकारी खेतीप्रति उनको असन्तोष बढ्दो छ। “कृषि गर्न नजानेर हो वा भाग्यले ठगेर हो। अहिले आम्दानीभन्दा नोक्सान बढी हुन थालेको छ,” दुर्गा भन्छिन्।
तरकारीको मुख्य सिजनमै मूल्य अत्यधिक घट्ने गरेपछि घाटा हुन थालेको उनले बुझेकी छन्। “यो वर्ष चाहिं आम्दानी हुन्छ कि भनेर १० कट्ठामा तरकारी लगाएकी थिएँ, तर बेच्ने वेला मूल्य घट्यो। आम्दानी त के, लगानी पनि उठेन,” उनी निराशा पोख्छिन्, “त्यसैले खेती गरेको यत्तिका वर्ष भए पनि जिन्दगी जहाँको त्यहीं नै छ।”
यो वर्ष मात्र ऋण गरेर एक लाख लगानीमा आठ कट्ठा जमीनमा काउलीमा खेती गरेकी थिइन् जसबाट ७० हजार मात्र आर्जन भयो। “अब ३० हजार रुपैयाँ कसरी तिर्नु? हाम्रो मेहनत कसरी उठ्छ त?” उनी आफैंलाई प्रश्न गर्छिन्।
यसरी घाटामा पर्नुको मुख्य कारण भने सिजनमा तरकारीको मूल्य घट्नु भएको उनका छिमेकी तथा कृषक नरहरिप्रसाद कँडेल बताउँछन्। तरकारी उत्पादन हुने मुख्य समयमा चितवनका कृषकले प्रतिकिलो १७ रुपैयाँसम्म लगानी भएको तरकारी प्रतिकिलो आठ रुपैयाँमा बेच्नुपरेको नरहरि गुनासो गर्छन्। उनको भनाइमा सहमति जनाउँदै दुर्गा भन्छिन्, “समयमा नबेच्दा बिग्रिन्छ, बेच्ने वेला भाउ आउँदैन। आधाभन्दा कममा बेच्नुपरेपछि कसरी आम्दानी हुन्छ?”
मूल्य घट्नुको कारण भने भारतबाट आउने तरकारी भन्ने लाग्छ, उनलाई। भारतका किसानले बीउबिजनदेखि सिंचाइ र मलखादमा सहुलियत पाउँछन्।जसले गर्दा उत्पादन सस्तो हुन्छ। नेपालमा भने किसानले झन् चर्को मूल्यमा किन्नुपरेकाले लागत नै बढी हुने गरेको उनको अनुभव छ।
तीन वर्षयता लगातार तरकारीको मूल्य नपाउँदा ऋण थपिंदै गएको उनी बताउँछिन्। अझ पछिल्लो समय त चारै छोरी पनि साँझबिहान बारीमा सघाउँछन्। उनी आफैं बिहान १० देखि साँझ ७ बजेसम्म बारीमै खटिन्छिन्। जति गर्दा पनि घाटामै चल्नुपरेपछि घरीघरी ऐंठन हुन्छ, कृषि पेशा नै छाडौं जस्तो लाग्छ, उनलाई। तर, अर्को विकल्प नभएपछि फेरि कोदालो बोकेर बारीतिर लाग्छिन्।
त्यससँगै कृषिले उनको परिवारलाई जोडेको पनि छ। श्रीमान्ले छोडेर गएपछि पाँच छोराछोरी कसरी हुर्काउने, के गर्ने मेसो नै पाएकी थिइनन्। जब खेतीपाती गर्न थालिन्, त्यसैले बाटो बन्यो। अहिले छोराछोरी पढ्दै छन्, खेतीपातीमा सघाउन सक्ने भएका छन्, घरधन्दा चलेको छ, हाँसीखुशी साट्ने परिवार बनेको छ। उनी भन्छिन्, “खेतीपाती गाह्रो त गाह्रो छ, घामपानी सहनुपर्छ। तर, हिम्मत हार्दिनँ। ह्या, आज नभए भोलि हुन्छ भन्छु। त्यति आँट पनि आउँछ।”
दुर्गा घरीघरी सोच्छिन्- के अन्य पेशामा लागेकाहरूको जीवन पनि दुःखैदुःखमा बित्छ? के बिहान ४ देखि साँझ ५ बजेसम्म काम गर्दा पनि छोराछोरी पढाउन, उपचार गर्न, ऋण तिर्न सक्दैनन्?
यस्ता प्रश्न उब्जिन थालेको दुई वर्ष भयो। ठ्याक्कै दुई वर्ष नै भयो, पित्तथैलीको पत्थरी र कुइनोमा समस्या आएको पनि। भरतपुर अस्पतालले पत्थरीको शल्यक्रिया गर्न सुझाएको दुई वर्ष भइसक्यो। तर, पैसा नहुँदा दोहोर्याएर अस्पताल जान सकेकी छैनन्।
त्यस्तै, दाहिने हातले गह्रुँगो वस्तु उठाउन सक्दिनन्। कुइनाको जाली फाटेको बताउँदै चिकित्सकले हातलाई आराम दिनुपर्ने भनेका छन्। तर, त्यो सुविधा उनीसँग छैन। “यतिका वर्ष खेती गर्दा रोग लाग्यो, तर उपचार गर्ने पैसा कमाउन सकिएन,” दुर्गा भन्छिन्, “मेरा छोराछोरी किसान नबनून्, कम्तीमा उपचार गर्न सक्ने जागीर खाऊन्।”
त्यसैले त छोराछोरीलाई शिक्षाबाट वञ्चित हुन दिएकी छैनन्। आफूले दुःखकष्ट सहनुपरे पनि स्कूल पठाइरहेको उनी बताउँछिन्। “केटाकेटीले पढ्न चाहेको विषय पढाउन नसके पनि पढाइबाट अलग गर्दिनँ,” यति बोल्दा उनको अनुहार मलिन बन्यो। केही बेर ओठ च्याप्दै दुर्गा बोलिन्, “दिनरात माटो, मल, बीउ, विषादी, गोबरको काम गरेर राम्रो भविष्य बनाऊँ सकिएन। छोराछोरीको त्यस्तो नहोस् भन्ने हो।”
कृषिमा आम्दानी नहुँदा कहिलेकाहीं त उनलाई आफैंले खेती गर्न नजानेको हो कि जस्तो पनि लाग्छ। त्यसपछि उनी कृषि ज्ञान केन्द्र पुगिन्। ज्ञान केन्द्रले पनि केही नयाँ तरकारीको बीउ र खेती गर्ने प्रक्रिया सिकाएर पठायो। त्यसै अनुसार खेती गर्दा उब्जनी त भयो, फेरि बजार मूल्य मिलेन।
लगानी अनुसार मूल्य निर्धारण गर्न आग्रह गर्दै स्थानीय सरकारसँग गुनासो पनि गरिन्। जनप्रतिनिधिलाई जानकारी गराइन्। तर, कसैले वास्ता गरेनन्। “आज नभए पनि भोलि आम्दानी होला भनेर आजसम्म खेतीपाती गरियो। तर, यसरी कति समयसम्म काम गर्न सकिएला, थाहा छैन,” दुर्गा भन्छिन्।
के चाहन्छन् किसान?
खेतीप्रति लगाव बढाउन एउटा किसान के चाहन्छ? दुर्गा भन्छिन्, “आफूले गरेको उत्पादन बिक्री नहुने र बजार मूल्य नपाउने समस्या हल भए पुग्छ, अरू केही चाहिंदैन।”
उनले भने जस्तै बजारको माग गर्दै चितवनका किसान पाँच वर्षदेखि सडक आइरहेका छन्। त्यससँगै उनीहरूले समयमा मलखाद पनि पाउँदैनन्। ८०० पर्ने मलको २८ सयसम्म तिर्नुपरेको उनीहरू गुनासो गर्छन्।
त्यस्तै, सिंचाइको पनि व्यवस्था छैन। आकाशे पानीको भर हुँदैन। कहिले बाढी आउँछ त कहिले खडेरी पर्छ। त्यसैले सहज रूपमा सिंचाइको व्यवस्था गर्नुपर्ने चितवनका किसानको आग्रह छ।
कहिले बीउबिजन नपाउने, कहिले मलखाद नपाउने, कहिले सिंचाइ नहुने, कहिले बजार नपाइने। यस्तै चिन्तैचिन्ताबीच पनि कृषकले खेती गरिरहेको दुर्गा सुनाउँछिन्।
यिनै चिन्ताको समाधान नै कृषकको चाहना भएको कृषिविज्ञ कृष्ण पौडेल पनि बताउँछन। “बीउ, मलखाद, बजारको सहजता भए किसानले घाटा बेहोर्नु पर्दैन,” पौडेल भन्छन्, “अहिलेसम्म सिंहदरबार वा राजधानीको मुख ताकियो, अब किसानका समस्या स्थानीय सरकारले सुल्झाउनुको विकल्प छैन।”