साझा नीति र कार्यक्रम बनेपछि मात्र सरकारले पूर्णता पाउँछ: माधव नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले साझा नीति र कार्यक्रम बनेपछि मात्रै सरकारले पूर्णता पाउने बताएका छन्।
प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले अहिले साझा नीति र कार्यक्रम बनाउन छलफल चलिरहेको बताए। “गठबन्धनमा रहेका सबै दलले साझा नीति र कार्यक्रम अगाडि सार्नुपर्छ,” नेपालले भने, “अहिले छलफल भइरहेको छ। त्यो टुङ्गो लाग्ला, कागजमा हस्ताक्षर होला।”
त्यसकै आधारमा मन्त्रिपरिषद् विस्तार हुने उनको भनाइ थियो। “साझा नीति र कार्यक्रम बन्छ। त्यसकै आधारमा सरकारले पूर्णता पाउँछ,” नेपालले भने।
प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा आफूले अर्थ र परराष्ट्र मन्त्रीका विषयमा सुझाव दिएको नेपालले बताए। प्रधानमन्त्रीलाई दिएको सुझावबारे बताउँदै उनले भने, “प्रधानमन्त्रीलाई भनेको छु, अर्थमन्त्री यस्तो व्यक्तिलाई दिनुहोस् जसले देशको अर्थतन्त्रका समस्या राम्ररी बुझ्न सकेको छ। समस्याका कारण पत्ता लगाउन सक्छ। समाधान दिन सक्छ।”
यस्तै, परराष्ट्र मन्त्रालयमा पनि कूटनीति बुझेको मान्छे ल्याउन सुझाव दिएको उनले बताए। “परराष्ट्र मन्त्रालयको सन्दर्भमा पनि त्यस्तै सुझाव दिएको छु। काबिल मान्छे खोजेर दिनुहोला भनेको छु,” उनले भने।
नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको एक महीना पुग्न लाग्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। गठबन्धनमा सहभागी साना दललाई भागबन्डा मिलाउन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको जनाइएको छ।