विद्यालय शिक्षा सुधारका लागि विश्व ब्यांकको १५ अर्ब ८० करोड रुपैयाँ ऋण
बहुपक्षीय विकास साझेदार विश्व ब्यांकले नेपालको शिक्षा क्षेत्र सुधारका लागि १२ करोड अमेरिकी डलर (करीब १५ अर्ब ८० करोड रुपैयाँ) ऋण दिने भएको छ।
ब्यांकले विद्यालय शिक्षा क्षेत्र कार्यक्रमका लागि यो रकम सहुलियतपूर्ण ऋणका रूपमा दिन लागेको आइतबार प्रेस विज्ञप्ति मार्फत जनाएको छ। ब्यांकको सञ्चालक समितिले ऋण अनुमोदन गरेको छ।
सार्वजनिक विद्यालयमा यसअघि सञ्चालित विद्यालय शिक्षा क्षेत्र कार्यक्रमको निरन्तरताका लागि सरकारले विश्व ब्यांकसँग ऋण काढ्न लागेको हो। यद्यपि, यसअघिको कार्यक्रमको प्रभावकारिताकै विषयमा प्रश्न उठ्ने गरेको छ।
नयाँ कार्यक्रमले विद्यार्थीको गुणस्तरीय सिकाइ सुनिश्चित गर्न शिक्षक निगरानी व्यवस्था लागू गर्ने ब्यांकको विज्ञप्तिमा उल्लेख छ। उच्च आधारभूत र माध्यमिक तहका अंग्रेजी, गणित र विज्ञान विषयको शिक्षणलाई यो कार्यक्रम मार्फत प्रभावकारी बनाइने जनाइएको छ।
खासगरी हरित कक्षाकोठा, डिजिटल शिक्षण एवं सिकाइमा सुधारका लागि यो रकम खर्च हुनेछ। त्यसैगरी, कक्षा ६-८ का छात्रा, अपाङ्गता भएका विद्यार्थी र आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाको शैक्षिक सुधारका लागि छात्रवृत्ति दिन सघाउने विश्व ब्यांकले जनाएको छ।