एकवर्षमा देशभर २४३ पक्की पुल
सरकारले गतवर्ष देशभरी २४३ पक्की पुल निर्माण गरेको छ ।
अघिल्ला वर्षहरुमा वार्षिक १०० वटाको हाराहारीमा पुल निर्माण हुने गरेकामा यस वर्ष दोब्बरभन्दा बढी पुल निर्माण भएको सडक विभागले जनाएको छ ।
सरकारले आर्थिक वर्ष २०७४/०७५ मा ३०० पुल सम्पन्न गर्ने लक्ष्य लिएको थियो । विभागका प्रवक्ता शिवहरि सापकोटाले महत्वाकांक्षी भएकाले मात्रै लक्ष्यमा नपुगिएको बताए ।
“एक सयको हाराहारीमा निर्माण हुने गरेकामा दुई सय नाघ्नु नै महत्वपूर्ण भएको हो”, उनले भने, “अहिले जति निर्माण सम्पन्न भएको छ त्यसमा पनि खुशी हुनुपर्छ ।”
गत आर्थिक वर्षको शुरुआतमा पुराना र नयाँ गरेर ९२५ सडक पुल निर्माणाधीन रहेको विभागले जनाएको छ । तीमध्ये निर्माणाधीन ६८२ पुल बजेट नभएकाले सम्पन्न भइनसकेको सापकोटाको भनाइ छ । “यस वर्षको बजेटबाट यी पुल निर्माणको काम अघि बढ्नेछ ,” उनले भने ।
सरकारले तुइन, फड्के र अस्थायी साँघु दुई वर्षभित्र पूर्णरूपले विस्थापित गर्ने याेजनाअनुसार चालू आवमा रु दुई अर्ब ३८ करोड विनियोजन गरेको छ।