नागरिकले पहिचान माग्दा ज्यान लिनु निन्दनीय छ: अशोक राई
जनता समाजवादी पार्टी (जसपा)का नेता अशोक राईले पहिचान माग्दा नागरिकको ज्यान लिनु निन्दनीय भएको बताएका छन्।
कोशी प्रदेश नामकरणको विरोधमा भइरहेको आन्दोलनका क्रममा नागरिकको ज्यान गएको घटनाप्रति दुःख व्यक्ति गर्दै सांसद राईले सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद राईले भने, “हामीले लोकतान्त्रिक परिपाटी, संघीयता, लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छौं। तर, यही गणतन्त्र, लोकतन्त्र र संघीयताभित्र पहिचान माग्ने आन्दोलनकारीको ज्यान लिनु दुःखद र निन्दनीय छ।”
कोशी नामकरणको विरोधमा चैत ५ गते विराटनगरमा भएको प्रदर्शनका क्रममा संघीय लिम्बुवान प्रान्तीय मञ्चका नेता पदम लिम्बू घाइते भएका थिए। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा लिम्बूको चैत १० गते मृत्यु भएको थियो।
स्थानीय प्रशासनको बर्बर दमनका कारण लिम्बूको ज्यान गएको सांसद राईको भनाइ थियो। “शान्तिपूर्ण रूपमा जनताले आफ्नो अधिकार माग्नु, पहिचान माग्नु नैसर्गिक अधिकार हो,” राईले भने, “पहिचान माग्दा ज्यान गुमाउनु दुःखद र गम्भीर घटना हो। यसमा संघीय सरकार र प्रदेश सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।”
नेता राईले पहिचानका लागि चलिरहेको आन्दोलनमा भइरहेको प्रहरी दमन रोक्न पनि सरकारसँग माग गरेका छन्।