लुम्बिनी सरकारबाट बाहिरियो माओवादी
नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ।
लुम्बिनी प्रदेश सरकारमा सहभागी तीनै जनाले राजीनामा दिएको माओवादीबाट सरकारमा सहभागी कृष्णा केसीले बताइन्। “प्रदेश सरकारबाट बाहिरिने पार्टीको निर्णयपछि मुख्यमन्त्री लीला गिरी समक्ष राजीनामा बुझाएका छौं,” केसीले हिमालखबरसँग भनिन्।
राष्ट्रपति निर्वाचनसँगै बनेको नयाँ गठबन्धनले प्रदेश सरकार पनि फेरबदल गर्ने भएपछि केन्द्रको निर्देशनमा प्रदेश सरकारबाट बाहिरिएको केसीले बताइन्। लुम्बिनी प्रदेश सरकारमा माओवादीबाट संसदीय दलका नेता जोखबहादुर महराको नेतृत्वमा इन्द्रजित थारू र कृष्ण केसी सहभागी भएका थिए। चित्तबुझ्दो मन्त्रालय नपाएको भन्दै केसीले मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइनन्।
त्यस्तै, जनमत पार्टी पनि लुम्बिनी सरकारबाट बाहिरिएको छ। लुम्बिनी सरकारमा सामाजिक विकास मन्त्री रहेका चन्द्रकेश गुप्ताले पनि राजीनामा दिएका छन्।
माओवादी र जनमत सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री गिरीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ। नेकपा (एमाले) संसदीय दलका नेता गिरी माओवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका थिए। दुई स्वतन्त्र सांसद सहित ५७ सांसदले उनलाई विश्वासको मत दिएका थिए।