यसरी जन्मियो ‘कानूनी भाषा र साहित्य’
कानूनी भाषा, साहित्य, वाङ्मय समृद्ध बनोस्, चिन्तन-मनन र छलफल गर्ने बानी विकसित होस् भन्ने चाहना राख्ने हो भने कुनै न कुनै निकायले संरक्षकत्व वा अभिभावकत्व लिनैपर्छ।
त्यो समयमा सामाजिक संस्थाका रूपमा दर्ता पाउन लगभग असम्भव थियो। त्यसै कारणले २०४१ सालमा कम्पनी ऐन, २०२१ अन्तर्गत कानून व्यवसायी क्लब काठमाडौं प्रालिका रूपमा दर्ता भयो। त्यस वेलादेखि २०६५ साल माघ ८ गतेसम्म म यस संस्थासँग आबद्ध रहें। राजनीतिक परिवर्तनपछि २०४७ साल जेठ २० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा संस्थाका रूपमा दर्ता पाएको त्यही क्लबमा मैले विभिन्न हैसियतले काम गर्ने अवसर पाएँ।
संस्थाको विधानको दफा (५) (१) (ञ) मा कानूनी साहित्यको संवर्द्धन र श्रीवृद्धिमा क्रियाशील रहने उद्देश्य छ। यो उद्देश्य पूरा गर्न २०५३ साल जेठ ३२ गते पत्रिका प्रकाशन गर्ने निर्णय भयो। २०४० सालमै कानूनले दर्ता प्राप्त गरी दुई अङ्क प्रकाशित भई बन्द भएको थियो। २०४४ सालदेखि अर्को प्रकाशक (नेपाल कानून किताब कम्पनी प्रा.लि.)बाट अठार अङ्क प्रकाशित भई २०४८ (कार्तिक–पुस) देखि पुन: प्रकाशन बन्द भएको थियो। त्यही कानून नै स्थायी तवरले दर्ताकर्ताबाट हक हस्तान्तरण गराई लिई २०५३ साल फागुनदेखि क्लबले प्रकाशन आरम्भ गर्यो। आजसम्म पछिल्ला केही वर्षमा बाहेक यसमा निरन्तरता छ। र, यो निरन्तरता सबैको सहयोगबाट कायम रहनुपर्दछ।
२०५३ फागुनको अङ्क १ देखि २०६५ पुसको अङ्क ७२ सम्मका १२ वर्ष कहिले संयोजक, कहिले पहिलो सम्पादक र लामो समय प्रधानसम्पादकको जिम्मेवारी मैले पाएँ। त्यसमा छापिएका प्रत्येक लेखरचना पहिलो पटक छापिन योग्य छ कि छैन जाँच्न, दोस्रो पटक भाषिक संशोधन गर्न, तेस्रो पटक विषयवस्तु सम्पादन गर्न, चौथो र पाँचौं पटक कम्तीमा दुई पटक ‘प्रुफ’ पढ्ने दायित्व मेरै थियो। तर, २०७७ कात्तिकपछिको अवकाशित जीवनमा पाठकका रूपमा यो पत्रिका पढ्दा ‘जीवनमा केही गरिएको रहेछ’ भन्ने सन्तुष्टि पाएको छु।
‘सक्रियता नै जीवन हो र निष्क्रियता नै मृत्यु’– मैले पढेमध्येका एउटा घतलाग्दो दर्शन हो। २०६५ पुसअघिका कानून विषयका केही प्राचीनतम बाहेकका अन्य पुस्तक र पत्रिका मेरो सङ्कलनमा प्राय: छुटेको नहुनुपर्ने हो। यसपछि २०७० चैतसम्म उपहारस्वरूप प्राप्त भएका पुस्तक र पत्रिका मात्र मसँग रहे। कारण पुस्तक तथा पत्रिका किन्न पसल पसल चहार्न मलाई स्वअनुशासनले अनुमति दिएन। सक्रियताका लागि अध्ययन र लेखन बाहेक अरू विकल्प नभएको मेरो जीवनको मध्यान्तरपछिको दोस्रो शृङ्खला (इनिङ्स) का लागि पुन: कानूनी पुस्तक/पत्रिका जम्मा गर्नुपर्ने आवश्यकता पर्यो।
यसै सिलसिलामा एक दिन पैरवी प्रकाशनमा पुग्दा यसका निर्देशक पदम शिवाकोटीले कानूनका पुराना सम्पादकीयहरूका बारेमा पसलमा क्रेताहरूको टिप्पणीबाट उत्साहित भएको सुनाउँदै तिनको सङ्कलन छाप्ने इच्छा प्रकट गर्नुभयो। ७२ मध्ये ६७ वटा सम्पादकीय मैले नै लेखेको थिएँ। यो तथ्य पत्रिकामै छापिएको छ। कानून ४० देखि मात्र त्यो अङ्कको सम्पादकीय लेख्नेको नाम त्यसैमा छाप्न थालियो। त्यसअघिका सम्पादकीय मैले लेखेको कुरा पनि त्यसैमा छापियो। अङ्क ४८ देखि सम्पादकीयको शीर्षक पनि दिन थालियो। बैठकमा मैले तयार गरेका सम्पादकीय सुनेपछि अति उत्साहित भई बूढी औंला उठाउँदै (थम्स अप गर्दै), सम्पादकीयहरू जम्मा गरेर छुट्टै छाप्नुपर्दछ भन्ने सम्पादक स्वर्गीय रविराज भण्डारीको सम्झना आयो। आफूले लेखेका सम्पादकीय पूर्व प्रकाशनलाई सङ्केत गरेर छाप्न मलाई कसैको स्वीकृति आवश्यक थिएन। कमल दीक्षितका विभिन्न पुस्तकका भूमिकाको सङ्कलन छापिएको मलाई जानकारी थियो। तर, यसो गर्दा उचित होला कि नहोला तथा गरे कसरी गर्ने, सोच्नुपर्ने महसूस भयो। म तत्काल केही बोलिनँ।
संयोगले भोलिपल्ट मित्र कमलनारायण दासबाट पुन: कानून प्रकाशनको जिम्मेवारी लिइदिन आग्रह आयो। म यसका लागि तयार भइनँ। तर, क्लबका दरिलो खम्बा, निकटतम मित्र, अत्यन्त सहयोगी र सकारात्मक साथीको वचन टार्न मलाई गाह्रो पर्यो। कानूनको प्रकाशनमा उहाँको सहयोग र कानूनमाथि आक्रमणका वेलामा उहाँको प्रतिरोध सम्झेर मैले भनें, ‘कानूनका लागि म केही पक्कै गर्छु।’
मैले नेपाली कानूनी भाषाका समस्या, लेख्नेका समस्या र पढ्ने पढाउनेका समस्याबाट परिचित हुने मौका पाएको छु। राष्ट्रिय न्यायिक प्रतिष्ठानमा कानूनी नेपाली भाषालाई तालीमको विषय बनाउन गरेको आग्रह/बहस (लबिइङ), आफू सर्वोच्च अदालत प्रकाशन समितिको अध्यक्ष भएपछि बुलेटिन र नेपाल कानून पत्रिकाको ह्रस्वदीर्घ मिलाउन एवम् अन्य प्रकाशनको भाषासम्पादन गर्न भाषाविद्को दरबन्दी सिर्जना गरी नियुक्ति गर्न सफल भएको बिर्सिसकेका कामको सम्झना आयो।
अदालतका खासगरी इजलास अधिकृतहरूलाई शुद्ध र परिमार्जित भाषा प्रयोग गर्न सर्वोच्च र प्रत्येक पुनरावेदन अदालतका मातहत अदालतमा आफ्नो नेतृत्वमा सञ्चालन गर्ने गरेको भाषा तालीम अभियानको अधुरोपनको पनि सम्झना आयो। यस विषयमा कानूनले गरेका कार्यहरू त आफ्नै अगाडि टेबुलमै थिए। तिनले विगतमा यस पत्रिकाका लागि बगाइएका रगत, पसिना र खर्च गरिएका समय, श्रम, रकम र चुनौतीको सम्झना दिलाए, मुटुमा माया जगाए।
यिनै सम्झना र आवश्यकता बोधले यो पुस्तकको योजना बनेको हो। सामग्री छनोटदेखि प्रकाशनसम्मका सारा जिम्मेवारी विना कुनै पारिश्रमिक आफूले लिने, पुुस्तकको लेखकस्व (रोयल्टी) कानूनको खातामा जम्मा गर्ने र यो रकम केवल कानून प्रकाशनमा खर्च हुने मेरो प्रस्ताव अनुमोदन भएपछि यो पुस्तकको योजनाले मूर्तता पाएको हो। लिखित पत्र र सम्झौता सम्पन्न भएपछि काम शुरू भयो। पहिले एउटा घटनामा मौखिक आधारमा काम गर्दा मैले व्यहोर्नुपरेको आर्थिक भारका बारेमा मित्र लक्ष्मीप्रसाद उप्रेती चिरपरिचित हुनुहुन्थ्यो। त्यस्तो आर्थिक भार उठाउन सक्ने स्थितिमा अब म छैन, यो कुरामा पनि उहाँ जानिफकार हुनुहुन्छ।
अन्तत: यस पुस्तकले यो आकार लियो। यसमा परिशिष्टका सामग्री बाहेक नयाँ केही छैन। पहिले नै लेखिएका र मूलत: कानूनका विभिन्न अङ्कमा छापिएका सान्दर्भिक लेख रचनाहरूको संग्रह नै यो पुस्तक हो। सम्पादनका माध्यमले साहित्यका विभिन्न विधालाई आधार मान्दै वर्गीकृत सामग्रीको संयोजनलाई पुस्तकको रूप दिइएको छ।
आरम्भमा कानूनी भाषा, वाङ्मय र साहित्य मात्र सीमा रहेको यो पुस्तकका लागि गर्दै जाँदा ११२ जना व्यक्तित्वहरू (केही दोहोरिएका समेत) सँग गाँसिन पुग्यो। तीमध्ये कानून र न्याय क्षेत्रका लागि अविस्मरणीय योगदान दिने दिवङ्गत व्यक्तिहरू श्रद्धाञ्जली शीर्षकमा समावेश हुनुभयो। केही योगदानी वा महत्त्वपूर्ण वा आदर्श दिवङ्गत व्यक्तिहरूको चिनारी प्रस्तुत भयो। लेखक आफैंले सम्झेर लेखेका कुराले सम्झना शीर्षकमा स्थान पाए। सम्बन्धित व्यक्ति बाहेक अरूले उहाँ वा कुनै घटनाका विषयमा लेखेका कुरा स्मृति शीर्षकमा समेटिए। अग्रजका अनुभव आजका लागि अमूल्य पूँजी हुन्। ती अनुभव विभिन्न शीर्षकभित्र अटाए। ती समस्त व्यक्तित्वहरूकै कारणले आज हाम्रो कानूनी प्रणाली यो स्थानमा छ। यो कुरा यस क्षेत्रमा आउन चाहने नयाँ पुस्ताले थाहा पाउनै पर्दछ। आज ती संरक्षित भएनन् भने भोलि यस विषयमा भनिदिने पनि केही नरहने स्थिति छ।
कानूनकर्मीहरूकै कलमबाट जन्मेका भुइँमान्छेका कथा, नीति कथा, निबन्ध, हास्यव्यङ्ग्य, समाचार विश्लेषण र यात्रा वर्णन पनि यस पुस्तकमा संगृहीत छन्। कानूनकर्मीहरूका लेखनद्वारा आफ्नै विषयमा लेखिएका आत्मालाप र अग्रजहरूको कानून सम्पादकहरूसँगका वार्तालापलाई पनि पुस्तकले महत्त्वका साथ समावेश गरेको छ। आदर्श छवि बनाएर यस संसारबाट बिदा हुनुभएका कानूनकर्मी व्यक्तित्वहरू समेतका सन्दर्भ र यस क्षेत्रका कानूनी समाजले अझै योगदानको अपेक्षा राखेको कर्मठ अग्रज व्यक्तिहरूका सम्झना, लेख र विचारले पनि पुस्तकको ओजन बढाएका छन् कि भन्ने आग्रह छ।
कानूनी भाषा र साहित्य यस पुस्तकको सीमा त हो नै, योगदानीहरूप्रति श्रद्धा र अग्रजहरूप्रति सम्मान पनि यो पुस्तकको ध्येय बन्न पुग्यो। अर्को शब्दमा ९७ जनाको व्यक्तित्वका विषयमा लेखिएका वा लेखेका कुरामा नेपाली कानूनी भाषा र साहित्य समाहित हुन पुग्यो।
पुस्तक १९ खण्डमा विभाजित छ। कानून ५० मा शुभेच्छाका साथ आशीर्वाद दिनुहुने नेपाली साहित्यका पद्य तथा गद्य दुवै फाँटका मूर्धन्य व्यक्तिहरू, न्याय, कानून व्यवसाय, कानूनी साहित्य र कानून शिक्षाका अग्रणी व्यक्तित्वहरूका शब्दपुष्पबाट यो पुस्तक आरम्भ भएको छ। प्रारम्भिकका रूपमा कानून र न्यायलाई सम्बोधन गरेका शुद्ध साहित्यका प्रतिनिधि रचनाहरू र साहित्यसेवी कानूनकर्मीहरूको विवरण समावेश छ। साहित्यिक सिर्जनाद्वारा नेपाली साहित्यलाई सिंगार्न आजका कानूनका विद्यार्थी र कानूनकर्मीहरूलाई प्रेरणा जागोस् भन्ने यसको उद्देश्य हो। यसै खण्डमा साहित्यकै एउटा सहरूप मानिने कानूनी भाषा र साहित्यको वर्तमान स्थितिको लेखाजोखा पनि यसमा गरिएको छ। शुद्ध लेख्न प्रेरित गर्न व्याकरण सम्बन्धी विषय पनि समावेश गरिएको छ। समाजमा प्रचलित कानून र न्यायसँग सम्बन्धित उखानटुक्का र हास्यव्यङ्ग्य विधाले पनि यहाँ ठाउँ पाएका छन्।
यस पुस्तकका सामग्री कानूनका विभिन्न अङ्क र यहाँ नभएको तर समावेश नगरी नहुने रत्नबहादुर विष्ट, रमानन्दप्रसाद सिंह, विश्वनाथ उपाध्याय वासुदेव ढुङ्गाना र डा. शान्ता थपलियाका विषयका सामग्री अन्य प्रकाशनबाट साभार गरिंदै प्रकाशित भएका हुन्। ती व्यक्तिहरू सम्बन्धित लेख अरू पत्रिकामा छापिएका भए पनि साभार नगर्दा पुस्तक आफ्नो उद्देश्यमा अपूर्ण हुने महसूस गरियो। ती सामग्री कहिले र कानून समेतको कुन अङ्कमा अर्थात् कुन मितिमा प्रकाशित भए त्यो त्यहाँ जनिएको छ।
कतिपय कुरा अहिले असान्दर्भिक लाग्दछन्, कतिपय शब्द अहिले प्रयोगबाटै हराइसकेका पनि छन्। तिनलाई सम्पादन गरेर हटाउने कोशिश गरिएको छैन्। कारण यो इतिहास हो। तसर्थ, यस पुस्तकमा समाविष्ट सामग्री जुन समयमा ती लेखिए त्यही समय र समाजको परिप्रेक्ष्यमा ग्रहण गरिदिनुहुन पाठकहरूसँग विनम्र अनुरोध छ।
समग्रमा यो पुस्तकको उद्देश्य कानूनी साहित्यका बारेमा पाठकहरूलाई सहज जानकारी, कानून क्षेत्रका मूर्धन्य व्यक्तित्वहरूको परिचय तथा उहाँहरूका प्रेरणायोग्य अनुभवहरूमा नयाँ पुस्ताको पहुँच स्थापित गर्नु हो। साथै सबैलाई शुद्ध, सरल र परिष्कृत कानूनी नेपाली भाषासँग नाता गाँस्न सहयोग पुर्याउनु पनि यसको उद्देश्य हो। सम्भव भएसम्म विभिन्न शैलीका लेखाइलाई यहाँ समेटिएको छ। यो पाठकलाई मनपर्ने शैली अपनाउन सजिलो होस् भन्ने अपेक्षा हो।
यो पुस्तक विषयवस्तुमा पूर्ण छ भन्ने दाबी गर्नु अनुचित हुन्छ। कानून सम्पादकहरू साहित्यकार थिएनौं, व्याकरणविद् पनि थिएनौँ, तर नेपाली साहित्यलाई माया गर्ने प्राणी अवश्य थियौं। २०५३ सालदेखि कानूनले कानूनी साहित्यका क्षेत्रमा गरिआएको सेवाको यो पुस्तक केवल एक संग्रह हो। एउटा प्रमाण हो।
फिरादमा अन्यायका आर्तनाद हुन्छ भने पुनरावेदनमा न्याय नपाएको खण्डनयुक्त दु:खेसो। रिटमा मौलिक र कानूनी हकको अपहरणको फेहरिस्त हुन्छ भने निर्णयमा कानूनी औचित्य र आधारको सविस्तार तार्किक वर्णन। यी शुद्ध साहित्य होइनन्, तर सहसाहित्य अवश्य हुन्। मीठो, सरस र शुद्ध लेखाइबाट न्यायकर्ता पनि लोभिन्छ, जोकोही पाठक पनि आकर्षित हुन्छन्। शुद्ध, सरल, संक्षिप्त र लालित्ययुक्त मस्यौदा हाम्रो उद्देश्य हुनुपर्दछ। राज्यका काममध्ये कानूनी क्षेत्रमा नेपाली भाषाको बढी नै प्रयोग हुन्छ। त्यसैले यो शुद्ध, सरल, संक्षिप्त, लालित्ययुक्त र परिमार्जित हुनैपर्दछ।
कानूनमा प्रकाशित शुद्ध, संक्षिप्त र लालितयुक्त लेखहरू छनोट गर्ने काम सजिलो हुँदो रहेनछ। यो कुरा काममा हात हालेपछि मात्र महसूस भयो। यहाँ छनोट भएका सामग्रीमा भाषिक समानता छैन। कानूनमै छापिएका कसैका विषयमा लेखिएको कुनै सामग्री राख्ने, कुनै नराख्ने गर्न पनि मिलेन। कानूनकै सम्पादक वा लेखकहरूद्वारा विभिन्न समयमा यी लेखिएका भएबाट भाषिक असमानता अनौठो र अस्वाभाविक होइन। तर, सबै भाषिक दृष्टिकोणले उद्देश्यपूर्ण रहून् भन्ने प्रयास भने भएको छ। लामो अनुभव सँगाल्नुभएका कानूनकर्मीका अनुभव दिगो राख्न र स्थापित हुन गरिएका संघर्षका गाथाबाट यस क्षेत्रमा आउने भावी पुस्तालाई यो क्षेत्र बुझ्न र यसको इतिहास जान्न सघाउ पुर्याउनेछ कि भन्ने आग्रह छ।
त्यस वेला ६५ वर्ष नाघेका सबै कानूनकर्मीका अनुभव समेट्ने कानून सम्पादन समितिले प्रयास गरेको थियो। चिनारी र श्रद्धाञ्जलीका हकमा यस क्षेत्रमा योगदान भएका व्यक्ति मात्र परून् भन्ने सम्पादन समितिको उद्देश्य हुन्थ्यो। सार्थक जीवन जिएका यस्ता व्यक्तिहरूको छलफलपछि उहाँहरूको नाम नै कार्यवृत्त (माइन्यूट) पुस्तिकामा लेखिन्थ्यो। ‘आयो, खायो, लियो, गयो’– सार्थक जीवन होइन। आयो, खायो, दियो, गयो’– सार्थक जीवन हो। प्रत्येक सार्थक जीवनले कानूनमा स्थान पाओस्, सम्मान पाओस् भन्ने सम्पादन समितिको उद्देश्य हुने गर्दथ्यो। सार्थक र निरर्थक जीवन छुट्याउने मापदण्ड त्यो व्यक्तिले कानूनी समाजलाई दिएको योगदान मात्र मानिन्थ्यो।
के योगदान हो, के होइन भन्ने कानूनले अपनाई आएको मापदण्डकै परिमार्जित स्वरूप नै क्लबले २०६५ साल भदौ ४ गते अनुमोदन गरेको छ। यो मापदण्ड स्व. शङ्करलाल केडिया स्मृति कानून सम्मान कार्यविधि, २०६५ को नियम २ र ३ मा समावेश छ। यो कानून ७०(२०६५ भदौ) अङ्कमा प्रकाशित नै छ। यो कार्यविधि समेत २०६५ फागुन ९ गते पुस्तिकाका रूपमा प्रकाशित पनि छ। त्यो कार्यविधिको योगदान मानिने र नमानिने खण्ड निम्न छ:–
योगदान नमानिने
देहायको हैसियत वा कार्यलाई मात्र मनोनयनको प्रयोजनका लागि योगदान मानिनेछैन:–
(क) कुनै उच्च पद हासिल गरेको,
(ख) उच्च आर्थिक हैसियत प्राप्त गरेको,
(ग) सञ्चार माध्यममा छाउने गरेको,
(घ) संख्यात्मक रूपमा धेरै कृति प्रकाशन गरेको,
(ङ) संख्यात्मक रूपमा धेरै अनुसन्धान गरेको,
(च) संख्यात्मक तथा प्राविधिक रूपमा उच्च शैक्षिक उपाधि हासिल गरेको,
(छ) व्यवसायमा वा सेवा वा नोकरीमा लामो समय बिताएको,
योगदान मानिने
देहायका कार्यलाई मुख्य रूपमा योगदान मानिनेछ:–
(क) कानून व्यवसाय
(१) बहस तथा मस्यौदा कलामा उच्च स्तर,
(२) कानून व्यवसायीका रूपमा निष्कलंक छवि,
(३) कानून व्यवसायसँग सम्बन्धित संस्थाहरूको विकासमा नि:स्वार्थ रूपमा ठोस सहयोग,
(४) नवोदित कानून व्यवसायीहरूलाई स्थापित गर्न सहयोग,
(५) न्यायपालिका, राष्ट्र र समाजलाई न्याय तथा कानून सम्बद्ध बौद्धिक मार्गदर्शन।
(ख) कानून शिक्षण
(१) आदर्श शिक्षकका रूपमा कानून शिक्षण क्षेत्रमा स्थापित,
(२) कानून शिक्षकका रूपमा निष्कलङ्क छवि,
(३) बौद्धिक व्यक्तिका रूपमा समाजमा स्थापित,
(४) कानून सम्बन्धी गहन अध्ययन र अनुसन्धानमा संलग्न,
(५) शिक्षण क्षेत्र, राष्ट्र र समाजलाई न्याय तथा कानून सम्बद्ध बौद्धिक मार्गदर्शन।
(ग) कानूनी साहित्य सिर्जन
(१) उत्कृष्ट कानूनी पुस्तक लेखन,
(२) उत्कृष्ट कानूनी लेखहरू लेखन,
(३) अनुसन्धानद्वारा कानूनी क्षेत्रलाई विशिष्ट सहयोग,
(४) अनुकरणयोग्य लेखन र अनुसन्धान,
(५) न्याय तथा कानून सम्बद्ध नवीन दर्शन तथा विधिशास्त्रीय अभिव्यक्ति।
(घ) न्यायिक तथा कानूनी क्षेत्र
(१) आदर्श न्यायिक वा कानूनकर्मी छवि,
(२) नजीर वा कानून निर्माणमा महत्त्वपूर्ण सहयोग,
(३) निर्णय वा कानूनी सेवाबाट समाजलाई सारगर्भित सहयोग,
(४) न्यायिक वा कानूनी पदीय जिम्मेवारीका अतिरिक्त आफ्नो क्षेत्रको विकासका लागि ठोस सहयोग,
(५) कानूनी दर्शन, अनुसन्धान र कानूनी साहित्य सिर्जनमा सारगर्भित सहयोग।
सम्मान पाउन २० वर्षको योगदान हुनुपर्ने र उल्लेखनीय योगदानको संख्या कम्तीमा तीन वटा हुनुपर्ने कुरा क्लब तथा केडिया फाउन्डेशनबीच २०६५ साल जेठ ३० गते सम्पन्न सम्झौतामा उल्लेख छ। यसको पालन के कति भयो त्यो आफ्नो ठाउँमा छ। योगदानका आधारमा सम्मानको यो नीतिलाई कानूनले भने पहिलेदेखि नै पालन गरिआएको थियो। यहाँ पनि आधार त्यसैलाई बनाइएको छ।
साहित्यको संवर्द्धनमा मुख्य भूमिका पत्रिकाहरूकै हुन्छ। सरकारी र बारको स्रोतबाट प्रकाशित हुने पत्रिकाहरूले आर्थिक समस्या बेहोर्न पर्दैन। यस्तो स्रोत संवैधानिक निकाय, सरकारी निकाय र विश्वविद्यालयलाई पनि प्राप्त छ। निजी स्तरका पत्रिका कति प्रकाशित भए र कति दिगो भए यसको लेखाजोखा हुनुपर्दछ। प्रकाशन बन्द भएका पत्रिकाको यसो हुनाका कारणका बारेमा पनि अध्ययन हुनुपर्दछ। आज निजी स्तरबाट नियमित रूपमा प्रकाशित हुने गरेका पत्रिकाको संख्या चार-पाँचभन्दा बढी छैन। कानूनी साहित्यको प्रवर्द्धन गर्ने नै हो भने पत्रिकाहरूलाई जीवित राख्दै दिगो बनाउने योजना बन्नुपर्दछ। कानूनी भाषा र साहित्यलाई पत्रिकाले के कसरी सहयोग गर्न सक्दछ भन्ने कुराको प्रमाण यही पुस्तक होइन र?
अन्य क्षेत्रका पत्रिकालाई प्रेस काउन्सिलको वर्गीकरणका आधारमा सूचना विभागले विज्ञापनका रूपमा सहयोग गर्दछ। कानूनी भाषा, साहित्य, वाङ्मय समृद्ध बनोस्, चिन्तनमनन र छलफल गर्ने बानी विकसित होस् भन्ने चाहना राख्ने हो भने कुनै न कुनै निकायले संरक्षकत्व वा अभिभावकत्व लिनैपर्दछ। यसका लागि नेपाल कानून व्यवसायी परिषद् उपयुक्त निकाय हो। विगत हेर्ने हो भने २०६४ भदौको कानून ६४ मा नेपाल कानून व्यवसायी परिषद्ले पूरा पृष्ठको विज्ञापन दिएको थियो। अङ्क ४१ (२०६० कार्तिक) र अङ्क ५१ (२०६२ असार) का अङ्कमा काठमाडौं स्कूल अफ लले कानूनलाई नै विज्ञापन दिएको थियो।
खासगरी निजी स्तरका पत्रिकाले नेपाल कानून व्यवसायी परिषद्बाट सहयोगको अपेक्षा राख्नु नाजायज हुँदैन। र, कानून शिक्षाको आधारशिलाका रूपमा रहेका कानूनी साहित्यको हितमा एउटा नीति निर्देशिका बनाएर संरक्षकत्व ग्रहण गर्नु परिषद्को उद्देश्य बाहिर हुँदैन। पुस्तकमा परिशिष्टका रूपमा कानून पुस्तक लेखक र पत्रिकाहरूको नाम समाविष्ट छ। यो कानूनसँग सम्बन्धित पुस्तकका लेखकहरू र पत्रिकाका सम्पादक तथा प्रकाशकहरूप्रति सम्मान प्रकट गर्ने उद्देश्यले समावेश गरिएको हो। नीति निर्माणमा यसले सम्बन्धित निकायलाई सहयोग पुर्याउने आशा पनि लिइएको छ। यहाँ कुनै नाम छुटेकै छैनन् भन्ने दाबी छैन। मेरो निजी सङ्कलन, पैरवी प्रकाशनको बिक्री कक्षमा हाल वा पहिले रहेका सामग्री र विश्वविद्यालयका पाठ्यक्रममा उल्लिखित पुस्तकका आधारमा यी टिपोट भएका हुन्। यो सूची वा अभिलेख पूर्ण हुनैपर्दछ। यसका लागि आफ्नो जानकारी यो पुस्तकका प्रकाशक वा कानून व्यवसायी क्लबलाई दिई सहयोग गर्नुहुन सबैसँग अनुरोध छ।
कानूनले पनि संवैधानिक कानून, वाणिज्य कानून, प्रेस कानून, फौजदारी कानून र देवानी कानून जस्ता विषयमा प्रकाशित समसामयिकता कायम रहेका उच्चकोटिका लेखहरूलाई पुस्तकाकारमा प्रकाशित गर्न सके पत्रिका प्रकाशनलाई स्रोत जुट्नेछ। एक–एक जना सम्पादकले विषय–विषयको आधारमा स्वयंसेवीका रूपमा जिम्मा लिने र लेखकस्व यो पुस्तकको हकमा गरिए जस्तै कानूनको ब्यांक खातामा जम्मा गर्न सकिन्छ। कानूनी भाषा र साहित्य सम्बन्धी सबै सामग्री यस पुस्तकमा समेटन सकिएन। अर्को खण्डको प्रकाशनतर्फ पनि सोच्न सकिन्छ। कानूनका पुराना अङ्कहरू अप्राप्य भएबाट यो आवश्यक पनि छ।
अप्राप्य भइसकेका कानूनका जजसका लेख रचनाको पुन:प्रयोगबाट यो पुस्तक सम्भव भयो, उहाँहरू सबैप्रति आभार प्रकट गर्ने कर्तव्य नै हुन आउँछ। ती सम्मानित लेखकहरूले कानूनलाई गर्नुभएको सहयोग पत्रिकाकै लागि पुन:प्रयोग भएको छ।
रविराज भण्डारीको असामयिक देहान्तले कानूनी नेपाली भाषा र साहित्यलाई पुर्याएको क्षति अपूरणीय छ। स्वर्गीय भण्डारीद्वारा कानूनले सम्पादकका रूपमा लेखिएका सामग्रीहरू यस पुस्तकमा समावेश छन्। कानूनी भाषा र साहित्यका विषयमा मार्गदर्शन गराउनुहुने स्व. रुद्रप्रसाद खरेलप्रति पनि आभारी छु। स्वर्गीय खरेल र भण्डारीका साथै कानूनी नेपाली भाषाको अध्यापनका लागि पाठ्यक्रम बनाउन र नेपाल ल क्याम्पसमा यो विषय लामो समयसम्म अध्यापन गराउनुहुने गोविन्द घिमिरेप्रति हार्दिक धन्यवाद व्यक्त गर्नु कर्तव्य नै हुन आउँछ।
कानूनी भाषाप्रति हामी सबैको कर्तव्य छ। यो सामूहिक जिम्मेवारीको काम हो। कानूनी भाषा क्रमश: विकसित हुँदै आएको छ। तर, यसमा परिमार्जनको खाँचो अझै छ। अझ भन्ने हो भने कानूनी भाषाको भविष्य आउँदा दिनमा झन्–झन् वर्तमान शिक्षा प्रणालीका कारणले चुनौतीपूर्ण छ। नेपाली भाषाप्रतिको विकर्षणका बारेमा सम्बन्धित निकायहरूले वेलैमा सोचेनन् भने यसले भविष्यमा समस्त कानूनी प्रणालीलाई नै प्रतिकूल असर पुर्याउनेछ।
यस पुस्तकलाई यस रूपमा ल्याउनमा धेरैको योगदान छ। मलाई यस पुस्तकका लागि हौस्याउने र प्रकाशनको सबै जिम्मेवारी लिइदिनुहुने पैरवी प्रकाशनका निर्देशक पदम शिवाकोटी, मेरो कार्ययोजनालाई अनुमोदन गरिदिनुहुने कानून व्यवसायी क्लब काठमाडौंका र कानून सम्पादन समितिका प्रधान पदाधिकारी, सदस्य, सम्पादक र सबै सम्पादकहरू धन्यवादका पात्र हुनुहुन्छ।
कानूनमा सम्बन्धित सामग्री प्रकाशित नभएको कारणले अन्य प्रकाशनको सहयोग लिनुपरेको कुरा माथि उल्लेख भइसक्यो। यसो गर्न अनुमति दिनुहुने शेषराज शिवाकोटी, साधना श्रेष्ठ, भीमेन्द्रबहादुर कार्की र डा. रामकृष्ण तिमिल्सेनालाई धन्यवाद ज्ञापन गर्दछु।
कानूनका लागि लेखका रूपमा पुस्तकको टाइपिङ भई नष्ट नभएका केही अंश उपलब्ध गराइदिनुहुने ज्ञानु महर्जन, टाइपिङमा सहयोग गरिदिने पैरवी प्रकाशनका विनिता थापा र पृष्ठ समायोजन समेतको अभिभारा वहन गरिदिनुहुने पैरवी प्रकाशनका घनेन्द्र केसी पनि धन्यवादका पात्र हुनुहुन्छ।
सम्बन्धित लेखरचनाका स्रष्ट्राहरू समेत सबैको साझा प्रयास यो पुस्तकमा प्रतिबिम्बित भएको छ। मीनबहादुर रायमाझी, खिलराज रेग्मी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, कुमार चूडाल, राजेन्द्रकुमार भण्डारी, ताहिर अली अन्सारी, टोपबहादुर सिंह, केशरीराज पण्डित, गौरीबहादुर कार्की, टेकप्रसाद, ढुङ्गाना, डिल्लीराज आचार्य, डा. युवराज संग्रौला, डा. शङ्करकुमार श्रेष्ठ, कृष्णप्रसाद भण्डारी, रामप्रसाद भट्टराई, माधवराज आचार्य, उमेश गौतम, वोर्णबहादुर कार्की, विकास भट्टराई र स्व. पुष्कर थापाका शब्दहरूले यो पुस्तक सजिएको छ। व्याकरणका हकमा गोपाल पाण्डे असीम, कृष्णप्रसाद पराजुली र जनकप्रसाद हुमागाईंका कृतिहरूको सहयोग लिइएको छ। स्व. कमल दीक्षितका शब्दहरू, हौसला र प्रोत्साहन कानूनका लागि सदैव मार्गदर्शक बनेको थियो। हँस्यौली विधाका सहयोगकर्ताहरू समेत सबैको यस पुस्तकमा योगदान छ।
सम्बन्धित व्यक्तित्वको देहान्त मिति बताइदिएर परिवारजन समेतले सहयोग गर्नुभएको छ। उहाँहरू सबै पनि धन्यवादका पात्र हुनुहुन्छ।
थोरै शब्दमा धेरै कुरा भन्ने शैली अपनाऔं। छोटो लेखौं। सबैले सजिलैसँग बुझ्ने खालको भाषा प्रयोग गरौं! शुद्ध लेखौं! मीठो लेखौं। नेपाली भाषा र साहित्यलाई माया गरौं!
(सर्वोच्च अदालतका पूर्व न्यायाधीश तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य प्रकाश वस्तीको चैत १७ मा सार्वजनिक हुने पुस्तक ‘कानूनी नेपाली भाषा र साहित्य’ को भूमिका।)