यस्तो हुनुपर्छ अबको सेना
जतिसुकै बलियो सेना भए पनि हाम्रो जस्तो ‘बफर स्टेट’ मा सैन्य उपायबाट मात्र देश पूर्ण रूपमा सुरक्षित हुँदैन। त्यसैले पनि आजको सेनाको आधुनिकीकरण अपरिहार्य छ।
नेपाली सेनाले स्थापनाको २६० वर्षको इतिहासमा अनेक उतारचढाव भोग्यो। स्थापनाकालको तुलनामा अहिले सैनिक संगठनको आकार निकै बढेको छ। यसले अन्य मुलुकका सेनासँग सम्बन्ध र सहकार्य बढाउँदै लगेको पनि छ। यत्रो लामो इतिहास र यति धेरै परिवर्तन भए पनि एउटा प्रश्न बारम्बार उठ्ने गर्छ- के नेपाली सेना मुलुकको रक्षा गर्न सक्षम छ त? यो लेख यसै प्रश्नको सेरोफेरोमा केन्द्रित छ।
नेपाली सेना मुलुकको रक्षा गर्न सक्छ कि सक्दैन भन्ने बहस शुरू गर्नुअघि सेनाले केकस्तो खतरा वा प्रहारबाट मुलुकको रक्षा गर्ने भन्नेमा प्रस्ट हुनुपर्छ। सेनाको काम देशको रक्षा गर्ने हो भन्दैमा विश्वका सबै सेनाले एकै तौरतरीका अपनाउँछन् वा एकैखाले खतराको सामना गर्छन् भन्ने हुँदैन।
अर्कातिर, सानो वा कम शक्तिशाली सेनाले राज्यको रक्षा गर्नै सक्दैन भन्ने सोच पनि सही होइन। केकस्तो खतरा छ र कसरी आफ्नो भूभागको रक्षा गर्ने भन्ने ठम्याएपछि मात्र सेनाको क्षमता तदनुरूप छ/छैन र छैन भने कसरी हासिल गर्ने भन्ने रणनीति तय गरिन्छ। नेपालको विशिष्ट भूराजनीतिक परिस्थिति र आन्तरिक राजनीतिक, आर्थिक तथा सामाजिक परिवर्तनले केकस्ता खतराबाट राज्यको रक्षा गर्ने भन्ने दिशानिर्देश गर्छ। दुई शताब्दीअघि र अहिले मुलुकको भूराजनीति खासै बदलिएको छैन, तर अन्य पाटो निकै फेरिएको छ।
राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय परिस्थितिमा व्यापक परिवर्तन आए पनि नेपालले सामना गर्नुपर्ने बाह्य खतराको चरित्रमा भिन्नता देखिएको छैन। यसको मुख्य कारण नेपालको भौगोलिक अवस्थिति नै हो। जसरी पृथ्वीनारायण शाहको पालामा दुई विशाल मुलुकबाट नेपाललाई जोगाउनुपर्ने चुनौती थियो, त्यो अवस्था छँदै छ। नेपाल हिजोदेखि आजसम्म भारत र चीनका लागि ‘बफर स्टेट’ का रूपमा छ। ती दुवै देशका निम्ति सन्तुलनको उत्तम आधार हो यो।
युद्धको आकलन र तयारी
नेपालमा अहिलेसम्म बाह्य अतिक्रमण निम्त्याउने खालको कुनै बहुमूल्य खनिज वा कच्चा पदार्थ पत्ता लागेको छैन। जलस्रोत र प्राकृतिक स्रोतसाधन तथा सीमा समस्याका कारण छिमेकीले यहाँ आक्रमण गरिहाल्नुपर्ने स्थिति पनि छैन। अर्थात्, छिमेक मुलुकबाट पूर्ण युद्ध छेडिने अवस्था छैन। तर, रणनीतिक स्थिति सधैं एकनाश रहन्छ भन्ने हुँदैन।
विश्वमा भइरहेको ध्रुवीकरण तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय राजनीतिमा आएको बदलावका कारण दक्षिणएशियाली उपमहाद्वीप रणनीतिक समीकरण परिवर्तनको सँघारमा छ। यसै कारण विगतमा झैं ‘बफर स्टेट’ का रूपमा रहँदै नेपालले आफ्नो अस्तित्व जोगाउन चनाखो बन्नुपर्ने हुन्छ।
छिमेकी मुलुकले परम्परागत युद्ध लड्दै लड्दैनन् भनी ठोकुवा त गर्न सकिँदैन, तर त्यस्तो सम्भावना अत्यन्त न्यून देखिन्छ। तसर्थ, नेपाली सेनालाई तुलनात्मक रूपमा सम्भावना बढी भएको प्रोक्सी युद्ध लड्न सक्ने बनाइनुपर्छ।
जतिसुकै बलियो सेना भए पनि सैन्य उपायबाट मात्र राज्यको पूर्ण सुरक्षाको सुनिश्चितता हु‘दैन। राष्ट्रिय हित तथा मुलुकको अस्तित्व रक्षा गर्न राष्ट्रिय सुरक्षाका चार वटै साधन सेना, आर्थिक पक्ष, सूचना र कूटनीतिको समन्वयात्मक परिचालन आवश्यक हुन्छ। कूटनीति असफल भएर विदेशीले हस्तक्षेप वा आक्रमण गर्ने परिस्थितिमा परम्परागत वा पूर्ण युद्धभन्दा ‘प्रोक्सी वार’ (छद्म युद्ध) को सम्भावना रहन्छ। छिमेकी मुलुकले परम्परागत युद्ध लड्दै लड्दैनन् भनी ठोकुवा त गर्न सकिँदैन, तर त्यस्तो सम्भावना अत्यन्त न्यून देखिन्छ। तसर्थ, नेपाली सेनालाई तुलनात्मक रूपमा सम्भावना बढी भएको प्रोक्सी युद्ध लड्न सक्ने बनाइनुपर्छ।
परम्परागत युद्ध हाम्रो अर्थतन्त्रले धान्न सक्दैन। तर, प्रोक्सी युद्धका लागि नेपाली सेनालाई तयार पार्ने सामथ्र्य राज्यसँग केही छ, बाँकी गर्दै जान सकिन्छ। मुलुकमा आइलाग्ने प्रोक्सी युद्ध कस्तो खाले हुन्छ भनी त्यसको चरित्र र गाम्भीर्य बुझ्न सक्नु नै सेनालाई मुकाबिला गर्न तयार पार्ने पहिलो खुड्किलो हो। खतराको विस्तृत विश्लेषणबाट नै त्यसको सामना गर्न कस्तो सेना बनाउने, स्वरूप कस्तो हुने, संख्या कति हुने, केकस्ता हातहतियारले सुसज्जित गर्ने, संगठनात्मक ढाँचा कस्तो बनाउने, कति गतिशील बनाउने र लड्ने तौरतरीका (डक्ट्रिन) कस्तो हुने आदि निर्धारण गर्न सकिन्छ।
अध्ययन र विश्लेषण गर्दा विगतका अनुभव (राज्य विस्तार अभियान, नेपाल-अंग्रेज युद्ध, नेपाल-तिब्बत युद्ध, खम्पा काण्ड, माओवादी सशस्त्र द्वन्द्व आदि) ले सिकाएका पाठ महत्त्वपूर्ण हुन्छन्। नेपालले भविष्यमा लड्ने युद्ध विगतको पुनरावृत्ति त हुँदैन, तर अन्तर्निहित चरित्रमा तात्त्विक भिन्नता हुने देखिँदैन। अर्थात्, विगतमा झैं देशैभरका गौंडा तथा नाकामा ससाना टुकडीमा फौज तैनाथ गरी चलायमान वा गुरिल्ला युद्धलाई लडाइँको मुख्य हिस्सा बनाउनुपर्ने हुन्छ। तर, नयाँ परिस्थितिमा कसरी लड्ने र नयाँ प्रविधिलाई कसरी सम्मिश्रण गर्ने भन्ने पक्ष सबैभन्दा महत्त्वपूर्ण हुन्। वस्तुपरक विश्लेषणबाट हामीले बाह्य खतरा पहिचान गरी त्यसको सामना गर्न आवश्यक पर्ने क्षमता यकीन गर्न सक्छौं।
नेपालमा सेनाको औचित्यबारे चर्चा गरिँदा विशाल फौज भएको छिमेकीसँग लडेर हराउन सकिन्छ वा सकिँदैन भन्ने कोणबाट विश्लेषण गरिन्छ। जुन सम्भावित समस्याबारेको उपेक्षा हो। पहिलो कुरा त, नेपालमाथि हस्तक्षेप गर्न छिमेकी सेना सोझै प्रवेश गर्नेभन्दा पनि प्रोक्सी सेना खडा गरी धावा बोल्ने हो। अर्कातिर, कदाचित् विदेशी सेना पस्यो भने पनि हाम्रो भूगोलका कारण तिनका सबै फौज आउन सक्दैनन्।
नेपाली सेनाले दुई ठूला छिमेकीसँग लड्न सक्दैन त्यसैले यसको काम छैन भन्ने धारणा पनि निकै सुनिन्छ। यसो भनिनु उपलब्ध साधनलाई लक्ष्य प्राप्तिमा लगाउन नजान्दाको उपज हो। त्यस्तै, मुलुकको प्रतिरक्षा गर्न विशाल सेना नबनाई हुँदैन भन्नु पनि स्रोतसाधन प्रभावकारी ढङ्गबाट परिचालन गर्न नसक्दाको सतही बहस हो। कुशल रणनीतिज्ञले उपलब्ध साधनको भरपूर प्रयोग गरी विभिन्न उपायबाट लक्ष्य हासिल गर्नेतर्फ बढ्दै आवश्यक थप साधन सिर्जना गर्दै जाने उपाय निकाल्छ।
नेपाली सेनाले मुलुकको रक्षा गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न कुनै सामान्य व्यक्तिलाई ‘पहलमानसँग लड्न सक्नुहुन्छ कि सक्नुहुन्न’ भनी सोधे झैं हो।
आधुनिकीकरणका औजार
नेपाली सेनाले मुलुकको रक्षा गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न कुनै सामान्य व्यक्तिलाई ‘पहलमानसँग लड्न सक्नुहुन्छ कि सक्नुहुन्न’ भनी सोधे झैं हो। एउटा निर्धो व्यक्तिले कुस्तीको परम्परागत दायराभित्र रही कुनै पहलमानसँग भिडेर जित्न असम्भव नै होला। तर, पहलमानबाट ज्यान जोगाउनैपर्ने स्थिति आएमा उसले सुझबुझ वा विभिन्न चलाखी अपनाएर आत्मरक्षा गर्न सक्छ। सीमित स्रोतसाधन भएको सेना मुलुकको रक्षार्थ परिचालन हुँदा पनि त्यस्तै जुक्ति र बुद्धि लगाउनुपर्ने हुन्छ।
खासमा, नेपालमा बाह्य आक्रमणभन्दा पनि आन्तरिक सशस्त्र द्वन्द्वको सम्भावना अधिक देखिन्छ। त्यो नै मुलुकको सुरक्षाका लागि चुनौती बन्न सक्छ। किनभने आन्तरिक र बाह्य खतराबीच गहिरो सम्बन्ध छ। भोलि आन्तरिक सशस्त्र द्वन्द्व भएमा यहाँ सुरक्षा व्यवस्था कमजोर भएको र त्यसले छिमेकी मुलुकमा खलल पुर्याएको बहानामा सम्भावित बाह्य आक्रमण हुन सक्छ।
त्यसैले बाह्य खतरा न्यूनीकरण गर्न आन्तरिक सुरक्षा व्यवस्थामा जोड दिन जरुरी छ। नेपाली सेनाको आधुनिकीकरण गर्दा आन्तरिक र बाह्य दुवैखाले खतरालाई सम्बोधन गर्न सक्ने गरी यसको बनोट, संगठन, जनशक्ति, तालीम, हातहतियार र डक्ट्रिनमा ध्यान दिइनुपर्छ।
नेपाली सेनालाई समयानुकूल विकास गरेर सक्षम बनाउने सन्दर्भमा दुई वटा शब्दलाई पर्यायवाची रूपमा प्रयोग गरिएको पाइन्छः ‘आधुनिकीकरण’ र ‘रूपान्तरण’। तर, विकसित मुलुकमा ती शब्दबीच ठूलो भिन्नता छ। आधुनिकीकरणले सेनालाई समसामयिक विकास गर्दै लैजाने भन्ने बुझिन्छ, जबकि रूपान्तरण भन्नाले आमूल परिवर्तन गर्ने भन्ने अर्थ लाग्छ। रूपान्तरण गर्दा मुलुकलाई अत्यधिक आर्थिक भार पर्ने पाटो एकातिर छ भने संगठनमा भएको जनशक्तिसँग उक्त रूपान्तरण ग्रहण गर्न सक्ने क्षमता पनि हुनुपर्छ, जुन नेपालमा अहिले देखिँदैन। त्यसैले अहिले गर्न सकिने सैनिक विकास भनेको आधुनिकीकरण नै हो।
सेना आधुनिकीकरणका मुख्य चार अवयव छन्ः संगठन, जनशक्ति, सैन्य सामग्री र डक्ट्रिन। संगठनले सेनाको संख्या, विभिन्न तहको एकाइ-सहायक एकाइ गठनको आकार, बनावट, चेन अफ कमान्ड आदि दर्शाउँछ भने जनशक्तिले भर्ना छनोट, तालीम, वृत्तिविकास, आचारसंहिता, सैनिक ऐन, नियम आदि विषय समेट्छ। यस्तै, सैनिक सामग्री अन्तर्गत हातहतियार, यातायात साधन, सञ्चार साधन, हवाई साधन आदि पर्छन् र डक्ट्रिनले लडाइँ लड्ने तौरतरीका बताउँछ। यी चारै अङ्ग एकअर्कामा परिपूरक हुन्छन्।
नेपाली सेनाको आधुनिकीकरण गर्दा सैन्य कूटनीतिक अभ्यासलाई पनि परिमार्जन गरिनुपर्छ। सर्वप्रथम, सैन्य कूटनीति स्वतन्त्र नभई राष्ट्रिय कूटनीतिको परिपूरक र अधीनस्थ रहन्छ भन्ने मनन गर्न जरुरी छ। नेपालको राष्ट्रिय शक्तिका साधनहरूमध्ये कूटनीति नै सबैभन्दा उपयोगी साधन भएकाले त्यसलाई बलियो बनाउन भरमग्दुर प्रयत्न गरिनुपर्छ। कूटनीति असफल भएको अवस्थामा मात्रै सैनिक साधन प्रयोग गरी प्रोक्सी युद्ध विरुद्ध लडेर मुलुकको अस्तित्व रक्षा गर्ने हो।
आधुनिकीकरणसँगै जोडिएर आउने महत्त्वपूर्ण पक्ष हो, सेनाको लोकतान्त्रिक नागरिक नियन्त्रण। प्रभावकारी नियन्त्रणका लागि रक्षा मन्त्रालयलाई पुनःसंरचना गरी स्रोतसाधन, सीप र अधिकारसम्पन्न बनाइनुका साथै रक्षा विषयलाई सम्बोधन गर्न ‘संसदीय रक्षा समिति’ को व्यवस्था गरिनुपर्छ। ती दुई निकायलाई सेनाको भूमिका, आकार, उच्च तहको पदोन्नति, बजेट र विदेश सम्बन्धबारे अन्तिम निर्णय गर्ने अधिकार दिइनुपर्छ।
नेपाली सेनाको आधुनिकीकरणसँग अन्योन्याश्रित सम्बन्ध राख्ने अर्को पाटो शान्ति सेनामा सहभागिता हो। त्यसलाई सौम्य शक्ति (सफ्ट पावर) सिर्जना गर्ने स्रोतका रूपमा प्रयोग गर्दै नेपालको प्रतिरक्षा नीतिसँग पनि सामञ्जस्य गरिनुपर्छ। सौम्य शक्ति त्यसै सिर्जना हुँदैन। नेपाली सेनाले शान्ति सेनाबाट आर्जन गरेको प्रतिष्ठालाई कूटनीतिज्ञले आफ्नो सीप प्रयोग गरी सौम्य शक्तिमा रूपान्तरण गर्नुपर्छ, जसका लागि रक्षा मन्त्रालय मार्फत सेना र परराष्ट्र मन्त्रालयबीच गहन सहकार्य आवश्यक हुन्छ। त्यस्तै, मुलुकले प्राकृतिक विपद् निरन्तर सामना गर्दै आएकाले आधुनिकीकरण मार्फत सेनाको विपद् व्यवस्थापन क्षमतालाई पनि चुस्त बनाइनुपर्छ।
नेपाली सेनाको आधुनिकीकरणको सवाल आउँदा सर्वप्रथम त्यसको स्पष्ट लक्ष्य यकीन हुनुपर्छ। अहिले र निकट भविष्यमा सेनाले निर्वाह गर्नुपर्ने प्रमुख भूमिकामा सम्भावित विदेशी प्रोक्सी युद्धबाट मुलुकको रक्षा गर्न तयार हुने, आन्तरिक सुरक्षा व्यवस्था सुदृढ बनाउँदै भविष्यमा सशस्त्र विद्रोह हुन नदिने र भइहालेमा त्यसको नियन्त्रण गर्न तम्तयार रहने, मुलुकमा आइपर्ने कुनै पनि विपद् सामना गर्न तयारी अवस्थामा रहने, शान्ति सेनाका रूपमा विश्व शान्ति स्थापना कार्यमा गुणस्तरीय योगदान दिने र सैन्य कूटनीति मार्फत राष्ट्रिय हितको जगेर्ना गर्ने आदि हुन्। यी सबै भूमिकाका लागि हामीले फरक फरक सैनिक संगठन तयार गर्न नसक्ने भएकाले एउटैले सबै काम प्रभावकारी ढङ्गले गर्न सक्ने गरी सेनाको विकास गरिनुपर्छ।
(रावल नेपाली सेनाका पूर्व सहायक रथी तथा सरकारद्वारा गठित नीति अनुसन्धान प्रतिष्ठानका पूर्व रिसर्च-फेलो हुन्। हिमालको २०७९ चैत अंकबाट।)
कभर स्टोरी:
* कस्तो सेना, कत्रो सेना?
* सेनालाई कमाउ धन्दाबाट बाहिर निकाल
* द्रुतमार्गमा अक्षम्य अलमल
* सेनाको व्यावसायिक इच्छा