प्रश्नकर्तासँग किन जङ्गिन्छन् नेता? (भिडिओ)
दृष्टिकोण र प्रतिबद्धता नभएका नेता सार्वजनिक महत्त्वको प्रश्नलाई पनि व्यक्तिगत खेदोका रूपमा बुझेर झर्किने गरेको देखिन्छ।
‘ब्याङ्कको व्याज मुर्दावाद, सरकार जनता महँगीले मरिसक्यो, जनतालाई बचा सरकार।’
प्रधानमन्त्री पुष्पकमल दाहालको अगाडि यही नारा लगाएकै कारण तीन युवालाई सरकारले जेल चलान गर्यो। प्रश्न र आलोचनाप्रति नेपाली राजनीति कति अनुदार छ भने गत चैत ७ गते प्रधानमन्त्री दाहाल सहभागी कार्यक्रममा विरोध गर्दा तीन जना युवाहरूको जबरजस्ती मुख थुनियो। उनीहरूलाई प्रहरी हिरासतमा राखियाे।
भक्तपुरको कमलविनायक-नगरकोट सडकखण्डको अनुगमन गर्न पुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई स्थानीयले प्रश्न सोधेर र्याखर्याख्ती पारेपछि उनले जङ्गिंदै भने, “तपाईंहरू नै बोल्नुस्।” सङ्कीर्ण राजनीतिक संस्कारको अर्को उदाहरण हो श्रेष्ठले गत फागुन १८ गते देखाएको व्यवहार।
ठेकेदार कम्पनी शैलुङ कन्स्ट्रक्शनले १० वर्षमा पनि काम सकेको थिएन। तर, मन्त्री आउने भएपछि अघिल्लो रात माटोमाथि नै पिच गरेको थियो। सडकका कारण सास्ती पाएका स्थानीयलाई आश्वस्त पार्नु त टाढाको कुरा, मन्त्री श्रेष्ठ त प्रश्न सोधेकोमा उल्टो क्रुद्ध भए।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीलाई सञ्चारकर्मी ऋषि धमलाले “सरकारमा बसेर गणतन्त्रको विरोध गर्ने?” भनेर सोध्दा शाहीले भनेका थिए- “विरोध गर्यौं, खै के ख्याँसे त?”
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि प्रश्नकर्ताको झाँको झार्न पछि पर्दैनन्। पाँच वर्षअघि बीबीसी मिडिया एक्सनको ‘साझा सवाल’ कार्यक्रममा एक युवाले देउवालाई भने, “ली क्वान यूलाई सिङ्गापुर दिदा ढुङ्गा दिइएको थियो, हीरा बनाए, तपाईंलाई नेपाल दिंदा हीरा थियो, ढुङ्गा बनाउनुभयो।”
सागर ढकालले बेलायतमा ७० वर्षदेखि अक्सफोर्ड विश्वविद्यालयका उत्कृष्ट विद्यार्थीहरू प्रधानमन्त्री भएको पनि उदाहरण दिए। जवाफमा देउवा “तपाईं बढ्ता बोल्दै हुनुहुन्छ” भनेर जङ्गिए। “नेपालमा कहाँबाट अक्सफोर्ड ल्याउनू!” भन्दै ढकालको झाँको झारे।
देउवालाई प्रश्न गर्दा ढकाल विद्यार्थी थिए, जवाफ नपाएपछि उनी अध्ययनलाई निरन्तरता दिंदै राजनीतिमा प्रवेश गर्ने गृहकार्यमा जुटे। गत मंसीरमा भएको प्रतिनिधि सभा निर्वाचनमा देउवाकै क्षेत्र डडेल्धुराबाट उनी उम्मेदवार बने। १३ हजार ४२ मत ल्याएर दोस्रो भए।
त्यति वेला देउवालाई गरेको प्रश्नको जवाफ अझै नपाएको ढकाल बताउँछन्। उनका अनुसार, किन र केका लागि राजनीति गर्दै छु भन्ने स्पष्ट चेत भएका नेताहरूको बहुमत भएमा मात्र जवाफदेही आशा गर्न सकिन्छ। “अहिले अधिकांश नेता जनताप्रति जवाफदेही नभएकाले प्रश्नलाई बेवास्ता गर्छन्,” उनी भन्छन्।
प्रश्न मन नपराउने नेता राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि हुन्। २०७६ चैत ५ गते न्यूज २४ टेलिभिजनको कार्यक्रम ‘टू दी पोइन्ट’ मा पत्रकार राजु थापाले “राजसंस्था आलङ्कारिक हुँदा अहिले भएका विकृति र विसङ्गति हटाउन सकिन्छ त?” भनेर सोधेका थिए। जवाफमा अध्यक्ष थापाले पत्रकार थापालाई पूर्वाग्रही, भ्रम फैलाउने नियत भएको भन्दै ‘तपाईं मसँग अन्तर्वार्ता लिनका लागि उपयुक्त पात्र नै होइन’ भने। ‘सक्नुस्’ भन्दै अन्तर्वार्ता बीचमै रोक्न दबाब दिए।
२०७८ मंसीर १० गते नेकपा (एमाले)को चितवनमा भएको १०औं महाधिवेशनमा हिमालय टेलिभिजनका पत्रकार बाेमलाल गिरीले नेता गोकुल बाँस्कोटालाई महाधिवेशन कार्यतालिका अनुसार अघि नबढेकोबारे प्रश्न गरे। जवाफमा बाँस्कोटाले “कहाँ पत्रकारिता पढेको” भन्दै असान्दर्भिक प्रतिप्रश्न गरे। उनले पछि दिएका जवाफ पनि उटपट्याङ नै थिए।
बाँस्कोटा तिनै हुन् जसले सम्पत्ति विवरणका सम्बन्धमा प्रश्न सोध्दा १२ वर्षदेखि प्रसारण हुँदै आएको ‘सीधा प्रश्न’ नामक कार्यक्रम नै बन्द गराएका थिए। उनी त्यस वेला सञ्चार तथा सूचना प्रविधि मन्त्री थिए। प्रश्नकर्ता थिए- पत्रकार राजु थापा।
जनता कोभिड-१९ को महामारीले त्राही-त्राही भएका बेला स्वास्थ्य तथा जनसङख्या मन्त्री थिए, भानुभक्त ढकाल। कोरोनाले विश्वलाई नै हायलकायल पारेका बेला नेपाली नागरिक पनि महामारी विरुद्ध लड्ने सरकारले के तयारी गरिरहेको छ भन्ने जान्न उत्सुक थिए। त्यही बेला न्यूज २४ का पत्रकारले स्वास्थ्यमन्त्री ढकाललाई सोधे-कोभिड १९ विरुद्ध लड्न सरकारको तयारी के छ?
‘आज नबोल्ने घरमा पाहुना आएका छन’ भनेर प्रश्नलाई बेवास्ता गरे । त्यसपछि पत्रकारले फेरि आग्रह गरे, मन्त्रिज्यू, थोरै अलिकति..।’ ढकाल, ‘नबोल्ने भनेपछि नबोल्ने’ भनेर झर्किदैं त्यहाँबाट क्यामेरा छल्दै हिडे।
नयाँ पनि कानै चिरेका
नयाँ भनिएका नेताहरू पनि पुरानाभन्दा केही फरक छैन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता अवैध ठहर भएपछि उनको सांसद सहित उपप्रधान तथा गृहमन्त्री पद गुम्यो। ‘स्वार्थको द्वन्द्व’ हुने भन्दै सञ्चार माध्यमले समाचार लेखेका थिए। पूर्व सञ्चारकर्मी लामिछानेलाई लाग्यो- उनको पद अवैध नागरिकताले होइन, सञ्चार माध्यमले खाइदिए। २०७९ माघ २२ गते पत्रकार सम्मेलन गर्दै उनले सञ्चार माध्यम र पत्रकारको नामै किटेर धम्की दिए। अनेक लाञ्छना लगाए।
“भविष्यमा कुनै पनि पत्रिकाले लेखेको समाचारको गलत चिज गर्यो भने म त्यो पत्रिकाको कार्यालयमा, त्यो अनलाइनको कार्यालयमा धर्ना बसेर हुन्छ कि आफ्ना साथीहरूलाई लिएर गएर हुन्छ कि, म त्यसलाई आफ्नो ढङ्गले कारबाही गर्छु,” पत्रकार सम्मेलनमा लामिछानेले यसो भनेका थिए।
काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितलाई एक कार्यक्रममा भावना राउत नामक युवतीले उनीमाथि लागेको ‘मि टू’ आरोपबारे प्रश्न गरेकी थिइन्। प्रश्न आएपछि स्थापित जङ्गिदै उठे अनि राउतलाई चोर औंला देखाउँदै भने‚ “यू आर नाइस लेडी, तर तपाईंको थुतुनो ठीक भएन।”
काठमाडौं महानगरको मेयरमा निर्वाचित भइसकेपछि बालेन्द्र साहले कार्यभार सम्हालेको पहिलो दिन नै पत्रकारको प्रश्नसँग जङ्गिदै “पत्रकारहरूले हाम्रो कुरा बुझ्न समय कति लाग्ला?” भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिएका थिए। उनी सार्वजनिक पदमा भए पनि सञ्चार माध्यमलाई निषेध गर्दै आएको त जगजाहेरै छ।
माथिका उदाहरणले प्रस्ट पार्छन्- नेपाली राजनीतिमा जवाफदेही नभएका नेताहरू नै सत्ता र शक्तिमा हावी छन्।
नेकपा (एमाले) उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेताहरुमा अरुको कुरा सुन्ने, छलफल गर्ने र जिम्मेवार भएर जवाफ दिने चलन नहुनुलाई देशमा लोकतन्त्र आएपनि लोकतान्त्रिक संस्कार विकास नभएको भन्न रुचाउँछिन्। पार्टीले नेताहरुलाई सार्वजानिक मञ्चमा कसरी प्रस्तुत हुने भनेर प्रशिक्षण दिएतापनि त्यो पर्याप्त नभएको उनको भनाइ छ। नेताहरुको प्रश्न मन नपराउने संस्कारको कारण जनताप्रति आत्मियता र विस्वास घट्दै गएको उनको निचोड छ।
“लोकतन्त्र बलियो बनाउने हो भने प्रश्न सुन्ने, छलफल गर्ने र प्रश्नकर्तालाई सम्मान गर्ने लोकतान्त्रिक संस्कार पनि बलियो बनाउनुपर्छ” शाक्य थप्छिन्, “हाम्रो देशका सबै पार्टीले नेताहरुलाई लोकतान्त्रिक संस्कार विकास गर्न प्रशिक्षण दिनुपर्छ।”
पूर्व सभासद् श्याम श्रेष्ठ जनताले नेतालाई प्रश्न र आलोचना गर्न नपाउँदा लोकतन्त्र मर्ने बताउँछन्। समाजमा प्रश्न गर्नेको बहुमत नहुन्जेल आफूलाई जनताको सेवकभन्दा पनि मालिक ठान्ने भावनाले नेताहरूलाई खासै असर नपर्ने उनी बताउँछन्।
उनका अनुसार, प्रश्नसँग तर्किने प्रवृत्ति २०४७ पछि झाँगिएको हो। “२०४७ सालअघिका अधिकांश नेतालाई सर्वसाधारण र कार्यकर्ताले खुलमखुला प्रश्न र आलोचना गर्थे। तर पनि, उनीहरू संयमित भएर जवाफ दिन्थे। अहिले त चाकडी गर्ने कार्यकर्ता मात्र नेताको वरिपरि छन्,” उनले भने।
प्रश्नकर्तासँग किन जङ्गिन्छन् नेताहरू?
प्राध्यापक चैतन्य मिश्र नागरिकको जीवन सुधार्न चाहिने भिजन र प्रतिबद्धता नेताहरूमा नभएको कारण प्रश्नकर्तासँग जङ्गिने बताउँछन्। उनका अनुसार, अधिकांश नेताहरू सत्ता भागबन्डामा केन्द्रित छन्। नागरिकको जीवनसँग जोडिएका प्रश्नले उनीहरूको टाउको दुखाउँछ।
“जनताका लागि केही गर्नुपर्छ भन्ने सोच र जवाफदेही नभएका मानिसलाई प्रश्नदेखि रिस उठ्नु स्वाभाविक हो,” मिश्र भन्छन्।
मानवशास्त्री डम्बर चेम्जोङ समाधानयुक्त उत्तर दिन नसकेको अवस्थामा र कतिपय अवस्थामा चाहिं उत्तर आए पनि सामन्ती संस्कार भएकाले नेताहरू प्रश्नसँग जङ्गिने बताउँछन्। उनका अनुसार, सामन्तवादको स्वभाव उत्तर होइन, निर्देशन दिने हो।
“हाम्रो समाज अझै चिन्तन र वैचारिक खुलापनको हिसाबले सामन्तवादी छ,” चेम्जोङ भन्छन्‚ “त्यसैले नेताहरू मात्र होइन्, जोकोही प्रश्नसँग जङ्गिन्छन्।” सामन्ती संस्कारका कारण नेताहरूमा प्रजाले प्रश्न होइन, बिन्ती बिसाओस् भन्ने मनोविज्ञान हावी भएको उनी बताउँछन्।
राजनीतिक विश्लेषक हरि शर्मा कतिपय नेताले प्रश्न सोध्नेलाई आफूभन्दा तल्लो स्तरको ठान्ने भएकाले पनि जवाफ नदिने बताउँछन्। “काम केही नगरेपछि र केही गर्ने हिम्मत नभएपछि प्रश्न सुन्दा रिस उठ्नु स्वाभाविक हो,” उनी भन्छन्।
ठूलालाई प्रश्न गर्ने होइन, उनीहरूले भनेको मान्ने हो भन्ने सामाजिक परिवेश, मूल्यमान्यता र संस्कारबाट हुर्केका नेताहरू प्रश्नसँग जहिल्यै विमति राख्ने समाजशास्त्री दिपेश घिमिरे बताउँछन्। “हाम्रा हुर्काइ, शिक्षा, सामाजिक संरचना, मूल्यमान्यता र संस्कार नै प्रश्नमैत्री छैनन्, जसको प्रतिविम्ब नेताहरूमा देखिन्छ,” उनले भने।
घिमिरे नेपालको शिक्षा प्रणालीले प्रश्नभन्दा बढी उत्तर सिकाइरहेको र अभिभावक पनि बालबालिकाले प्रश्न गरेको भन्दा उत्तर दिएको मन पराउने भएकाले प्रश्न गर्ने संस्कार विकास नभएको बताउँछन्।
सार्वजनिक पदमा बसेका व्यक्तिहरूले चाहिं सार्वजनिक महत्त्वको प्रश्नलाई व्यक्तिगत रूपमा खेदो खनेको बुझेर जवाफ नदिने गरेको उनको भनाइ छ। “प्रश्नको सही उत्तर दिने धैर्य, साहस, ज्ञान र बुझाइ नहुने मान्छे जङ्गिन्छ,” समाजशास्त्री घिमिरे भन्छन्। प्रश्नसँग भाग्नेहरूलाई प्रश्नले नै जवाफदेही बनाउनुपर्ने घिमिरेको भनाइ छ। यस्तै शिक्षा प्रणाली पनि उत्तर दिनेभन्दा प्रश्न गर्नेमा केन्द्रित हुनुपर्ने बताउँछन्।
मनोविद् पशुपति महत आफूले गरेका वाचा पूरा गर्न नसक्ने मानिसहरू अत्यधिक दबाबमा हुने भएकाले नेताहरू प्रश्न आउनासाथ भाग्न खोज्ने, भाग्न नसके प्रश्न गर्नेलाई अलमल्याउने र अलमल्याउन नसके रिसाउने र झर्किने बताउँछन्।
उनका अनुसार, कुनै पनि प्रश्नको तथ्य र तर्क सहितको उत्तर नहुने मानिस प्रश्नसँग टाढा बस्छन्। तनावपूर्ण पृष्ठभूमि र विवादित वर्तमानका कारण पनि मानिस प्रश्नसँग तर्सिने उनी बताउँछन्।
“नेताहरू जनताको काम नगरी हरेक दिन सत्ता र शक्तिको खिचातानी गर्ने हुनाले उनीहरूको मनोविज्ञान बिथोलेको छ,” उनी भन्छन्, “नेताहरूलाई प्रश्नको जवाफ कसरी दिनुपर्छ भन्ने समेत थाहा छैन।”
प्रश्नको जवाफ दिन नसक्दा कमजोर चित्रित भइने डरले पनि नेताहरूले प्रश्नको बेवास्ता गर्ने उनी बताउँछन्। नेताहरूले तनाव व्यवस्थापनका लागि मनोपरामर्श, ध्यान र आफैंसँग समय व्यतीत गर्न आवश्यक रहेको पनि उनको भनाइ छ।