‘वह कहाँ जाए जिसे घर ने लूटा’
राजपुरमा भेला भएका नेपाल र भारतका गजलकारले माया प्रेमसँगै अहिलेको समयका जल्दाबल्दा समस्यालाई गजल मार्फत उजागर गरेका छन्।
मै आशिक हुँ शाहे दीन का
यह मत देखो मैं बच्चा हुँ।
कुरानको सात खण्ड कण्ठस्थ गरिसकेका ११ वर्षीय बाल शायर मोहिबुल्लाह मोहीब सुनाइरहेका थिए, माथिको शेर भएको गजल। जसले सबैलाई उनीतर्फ आकर्षित गरिरहेको थियो। उमेर सानै भए पनि प्रस्तुतिले परिपक्व सुनिने र देखिने मोहीब केही वर्षयता रौतहटको राजपुरमा हुने सबै मुशायराको सौन्दर्य बनिरहेका छन्।
चैत ८ को साँझ। बाल शायर मोहिबुल्लाह मोहिबबाटै प्रारम्भ भएको राजपुर नगरपालिकाको पानीटंकीस्थित इन्डो-नेपाल सद्भाव मुशायरा एवं कवि सम्मेलनमा दुई हजारभन्दा बढी दर्शक थिए। राति १० बजे पानी पर्न थालेपछि पनि बन्द हुने अवस्था आएन, किनकि अन्तिम शायर काठमाडौंबाट आएका इम्तियाज वफा एकपछि अर्काे नौलो स्वादको गजल पस्किरहेका थिए।
वफाको उत्कृष्ट कलात्मक शैलीले झरीलाई पो सुस्ताउन बाध्य पार्यो, सुस्तरी सुस्तरी बादल फाट्यो। बरु झरी जस्तै बर्सन थाले गजल।
तुम कहाँ चले आए बारिशों के मौसम में,
आग फिर न लग जाए बारिशों के मौसम में।
भीग कर बदन तेरा पैरहन से झांके है,
अब किधर नजर जाए बारिशों के मौसम में।
उपनाम पो ‘वफा’ थियो, गजलमा भने पानीमा आगो लगाउने कुरा गरिरहेका थिए। उनका गजलले दर्शकको मनमा भने आगो सल्काएरै छोडे।
नेपाल र छिमेकी राष्ट्र भारतका कैयौं स्टेजमा हिट प्रस्तुति दिएका स्थापित युवा शायरलाई सुन्न सम्पूर्ण राजपुर त्यसै पनि उत्सुक नै थियो। त्यसमाथि शायर सरबर नेपालीले आफ्नो प्रस्तुति राखे।
नही मिलती हुकुमत तो चलो एक काम करते हैं,
दुकानो को जलाकर आज चक्का जाम करते हैं।
दर्शकको ताली र प्रत्यक्ष प्रतिक्रियाले सर्वरमा झन् झन् हौसला बढ्दै गयो। उनी एकपछि अर्को ‘शेर’ सुनाउँदै गए।
विशेष गरी दुबईका ठूलठूला अन्तर्राष्ट्रिय मुशायराको एक दशकको अनुभव आर्जन गरेका सरबर पहिलो पटक मधेशमा प्रस्तुत भएका थिए। भद्र गजल लेख्ने सरबरले दुबईमा राहत इन्दौरी, वसीम बरेलवी, कुमार विश्वास, मुनब्बर राणा लगायतसँगै गजल वाचन गरिसकेका छन्।
त्यसपछि रौतहटका युवा शायर अल्ताफ फरेफ्ता स्टेजमा उत्रिए। फरेफ्ताको प्रस्तुतीकरणको शैली नै बेजोड थियो। गायिकीमा उत्तिकै पोख्त फरेफ्तालाई दर्शककै ‘वन्स मोर’ले तीनपटक स्टेजमा ल्यायो।
तबीब नुस्खे में नाम उसका लिख के बोला है,
यही दबा है तुम्हें सुबह व शाम लेना है।
नेपाल-भारतका अनगिन्ती ‘मुशायरा’ को अनुभव सँगालेका डा. साकिब हारुनी मूलतः सुषुप्त अवस्थामा रहेको उर्दू साहित्यलाई जीवनदान दिने अभियन्ताका रूपमा चिनिन्छन्। काठमाडौं उपत्यकामा अरबी, फारसी, उर्दू संस्कृति र इस्लामी सभ्यताको सयौं वर्षको इतिहास छ।
नेपालमा उर्दू भाषा मृततुल्य अवस्थामा रहेको वेला साहित्यिक गोष्ठी र ‘मुशायरा’ हरू हुन थाल्नुको पर्याय बनेका छन्, साकिब हारुनी र उनका जोडी इम्तियाज वफा। राजपुरको ‘मुशायरा’ मा उद्घाटनपछि सदारत गरिरहेका थिए, डा. हारुनीले।
डा. साकिब हारुनी गम्भीर गजलकार हुन्। उनका गजलमा चिन्तन हुन्छ। अनि धेरै गजल लेख्नेमा पनि पर्छन्, उनी। हारुनीका गजलमा अवध संस्कृतिको प्रभाव पनि उत्तिकै पाइन्छ।
काली रतियाँ तडपत बदरा हौले हौले चमक रहे हैं,
मेघा मांगे पानी पानी मोर भी बन में थिरक रहे हैं।
नेपालगञ्जका शायर भन्ने बित्तिकै शायराना माहौल र लखनवी तहजीबको चित्र आउँछ, मानसपटलमा। माइकसामु आउनासाथ हयात राशीदले अवध संस्कृति, लखनवी तहजीब र नेपालगञ्जे उर्दू माहोलको प्रतिविम्ब प्रस्फुटन गरिहाले।
वह मुहब्बत में मुझको दगा दे गया,
उसको देना था क्या और क्या दे गया।
कसैलाई शहरले लुटेपछि ओेत खोज्न घर फर्कन्छ। तर, कसैलाई घरले नै लुटेमा ऊ कहाँ जाओस्? जीवन जगत्को यस भोगाइलाई ‘शेर’ मा उतार्दै थिए युवा गजलकार सहर महमुद।
किसी को शहर ने लूटा तो आ गया घर को,
मगर वो जाए कहाँ जिस को घर ने लूटा है।
उनको मनमोहक स्वर र शैलीले युवा दर्शकलाई प्रफुल्लित बनायो। गम्भीर प्रकृतिका र शृङ्गारिक रसका गजल र शेरहरू पस्केर राजपुरवासीको मनमा बसे महमुद।
इन्डो-नेपाल सद्भाव मुशायरा थियो। त्यसैले नेपाली गजलको पनि पालो त आउनु नै थियो। नेपाली साहित्यमा भिन्दै पहिचान बनाएका सुनसरीका जैकी मोजाहु माइक अगाडि उभिए। १० वटा पुस्तक प्रकाशन गरिसकेका पूर्व मन्त्री जैकी मोजाहु (जाकिर हुसैन) आफ्नै गजल अल्बम फूलको धारलेबाट प्रस्तुत गर्न थाले। उनले गजलको बिट मार्दै सुनाएः
फूलको धारले मुटु रेटी दियौ,
मलाई मेरै हालतमा मेटी दियौ।
देउता भाकी खायौ कति कसम,
त्यही देउतालाई मेरै भेटी दियौ।
गुनासो मेरो केही छैन तिमीलाई,
शून्यतामा हिंड्ने खाली पेटी दियौ।