कोशी नामकरण विरुद्धको आन्दोलनमा भएको क्षतिको छानबिन गर्न समिति गठन
सरकारले कोशी प्रदेशको नामकरण विरुद्ध भइरहेको आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिन गर्न समिति गठन गरेको छ।
सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो। प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिका पदाधिकारीसँग छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहालले छानबिन समिति गठन गरेका हुन्।
कोशी नामकरण विरुद्ध विभिन्न संघसंस्थाले आन्दोलन गरिरहेका छन्। आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बूको मृत्यु भएको थियो।
आन्दोलनरत पक्षसँगको छलफलमा प्रधानमन्त्री दाहालले आन्दोलनका कार्यक्रमले ध्यानाकर्षण गरेको जनाउँदै यस विषयमा आफू संवेदनशील रहेको बताए। उनले सडक आन्दोलनका कार्यक्रम छोडेर संवादमा आउन आग्रह गरे।
प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको ब्यानरमा आन्दोलनको नेतृत्व गरिरहेका नेपाल आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, नेपाल शेर्पा संघ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, पहिचान सहितको प्रदेश नं १ पुनः नामाङ्कन अभियान समिति लगायत सरोकारवाला संघसंस्थाका प्रतिनिधिले प्रधानमन्त्री दाहाललाई भेटेका हुन्।
आन्दोलनरत पक्षसँगको छलफलमा प्रधानमन्त्री दाहालले आन्दोलनका क्रममा पदम लिम्बूको मृत्यु भएकोमा दुःख प्रकट गरे। उनलाई शहीद घोषणा र पीडित परिवारलाई राहत प्रदान गर्न आवश्यक पहल गर्ने दाहालले आश्वासन दिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेल, मुख्यसचिव शंकरदास वैरागी र गृहसचिव विनोदप्रकाश सिंह सहभागी थिए।