मधेशका मुख्य न्यायाधिवक्ता पदीय मर्यादा विपरीत पार्टीको कार्यक्रममा
मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्र ठाकुर पदीय मर्यादा विपरीत पार्टीको कार्यक्रममा सहभागी भएका छन्।
मुख्य न्यायाधिवक्ता ठाकुर जनता समाजावदी पार्टी (जसपा)ले बारामा आयोजना गरेको विधान मस्यौदामाथि प्रदेशस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी भएका हुन्। यसअघि मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता रहेका दीपेन्द्र झाले प्रदेश सभाको निर्वाचन लड्न राजीनामा दिएका थिए। त्यसपछि गत कात्तिक १५ गते उनलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको थियो।
मुख्य न्यायाधिवक्ताको काम कर्तव्य ऐनले मुख्य न्यायाधिवक्ताले प्रदेश सरकारको पक्ष वा विपक्ष वा प्रदेश सरकारको हकहित वा सरोकार रहेको संविधान वा कानूनको व्याख्या सम्बन्धी कुनै जटिल संवैधानिक वा सम्बन्धित प्रदेशको सन्दर्भमा सार्वजनिक महत्त्व वा सार्वजनिक सरोवारको मुद्दामा प्रदेश सरकारका तर्फबाट अदालतमा बहस पैरवी गर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, प्रदेश सरकारकले मागेको खण्डमा कानूनी सल्लाह उपलब्ध गराउने, अदालतको फैसला कार्यान्वयन गराउन अनुगमन गर्ने, कानून निर्माण गर्न सहयोग गर्ने सहितको काम, कर्तव्य र अधिकार तोकिएको छ।
ठाकुर भने सरकारी सेवासुविधा लिएर पदीय मर्यादा विपरीत पार्टीको बैठकमा सहभागी भएका हुन्। मुख्य न्यायाधिवक्ताको सेवासुविधा उच्च अदालतका मुख्य न्यायाधीश सरह हुन्छ।
अधिवक्ता राजकुमार महासेठ संवैधानिक पदमा बसेका व्यक्ति दलीय गतिविधिमा सहभागी हुनु पदीय आचरण विपरीत रहेको बताउँछन्। “मुख्य न्यायाधिवक्ता संवैधानिक पद हो, संवैधानिक पदमा बसेको व्यक्ति पार्टी गतिविधिमा लाग्नु हुँदैन,” महासेठ भन्छन्।
त्यस्तै पूर्व मुख्य न्यायाधिवक्ता झा पनि प्रदेशको मुख्य न्यायाधिवक्ताको पद उच्च अदालतको मुख्य न्यायाधीश सरह रहने भएकाले पनि दलीय कार्यक्रममा सहभागी हुन नहुने बताउँछन्। “मुख्य न्यायाधिवक्ताको पदमा बहाल रहेसम्म दलीय कार्यक्रममा सहभागिता वा सदस्यता लिनु उचित हुँदैन,” झा भन्छन्।
मुख्य न्यायाधिवक्ता ठाकुर भने मुख्यमन्त्री सरोजकुमार यादवलाई भेट्न मात्रै कार्यक्रममा गएको दाबी गर्छन्। “मुख्यमन्त्रीले बोलाएको कारणले गएको हुँ। केही भ्रमण र कानूनी सल्लाह गर्नु थियो,” ठाकुरले भने।
जसपा कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताका अनुसार, उनी कार्यक्रममा सहभागी भएका थिए। मुख्य न्यायाधिवक्ता ठाकुर कार्यक्रममा सहभागी भएको तस्वीर पनि बाहिर आएका छन्।