न्याय खोज्न बालबच्चा बोकेर १० दिनदेखि पैदल काठमाडौंतिर
न्याय खोज्न बालबच्चा बोकेर महोत्तरीको बर्दिबासबाट पैदल हिंडेका मिटर ब्याजपीडितहरू काठमाडौं पुग्दै छन्।
साहु महाजनाले उठिबास लगाउन थालेपछि महोत्तरीका मिटर ब्याजपीडित चैत २ गते काठमाडौंका लागि हिंडेका थिए। बर्दिबासबाट पैदल हिंडेका ७२ जनाको टोली चैत १० गते कुलेखानी पुगेको थियो। गए राति कुलेखानी बसेका उनीहरू आज बिहानै काठमाडौंतिर लागेका छन्।
कतिपयलाई हिंड्न गाह्रो भएकाले ढिलो भइरहेको मार्चको नेतृत्व गरिरहेका मिटर ब्याज विरुद्धको संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले बताए। “कतिपय पहाड नउक्लिएका छन्। मधेशमा बसेका उनीहरू धेरै हिंड्न सकिराखेका छैनन्,” संयोजक पासवानले हिमालखबरसँग भने, “हिंड्दा हिंड्दा खुट्टा सुन्निएका छन्, ज्यान गलेको छ। तैपनि कसैले हरेस खाएका छैनन्। काठमाडौं पुगेर छाड्छौं भनिरहेका छन्।”
बर्दिबासबाट ४२ जना महिला सहित ७२ जना काठमाडौंका लागि हिंडेका थिए। मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी पुगेपछि तीन जना थपिएका छन्। १० दिनदेखि लगातार हिंडेकाले केही बिरामी पनि भएको उनले बताए।
यसअघि पनि तराई-मधेशबाट मिटर ब्याजपीडित काठमाडौं पुगेर धर्नामा बसेका थिए। सरकारले उनीहरूको माग सम्बोधन गर्ने सहमति गरेपछि घर फर्किएका थिए। तर, सरकारले गरेको सहमति कार्यान्वयन नभएपछि फेरि न्यायका लागि पैदल काठमाडौंतर्फ हिंडिरहेको उनीहरू बताउँछन्।
कतिपय बालबच्चा बोकेरै पैदल मार्चमा छन्। धनुषाको सवैला नगरपालिकाकी २४ वर्षीया कल्पना धामी ६ महीने बच्चा सहित पैदल हिंडिरहेकी छन्। अझै काठमाडौं पुग्न दुई दिन हिंड्नुपर्छ। तैपनि उनी थाकेकी छैनन्। “साहुले दिएको दुःखभन्दा यो दुःख केही होइन,” उनी भन्छिन्।
त्यस्तै, धनुषाको गणेशमान चारनाथ नगरपालिका-४ की ४६ वर्षीया लक्ष्मी परियार तीन वर्षे बच्चा सहित १० दिनदेखि पैदल हिंडिरहेकी छन्। साहुले घरमा बस्नखानै नदिएपछि बच्चा बोकेरै न्यायका लागि हिंडेको उनी बताउँछिन्।
पैदल मार्चमा सहभागी सिरहाको सन्तनगरकी २७ वर्षीया रञ्जना चौधरीले पनि यस्तै पीडा सुनाइन्। साहु वीरेन्द्र साहले सताएपछि पैदल हिंड्न बाध्य भएको बताइन्। “सासूलाई फोक्सोको क्यान्सर भएको थियो। उपचार गर्न ऋण लिएका थियौं,” रञ्जनाले भनिन्, “ससुराले ऋण चुक्ता गरिसकेका छन्। अझै पनि ब्याज बाँकी छ भनेर साहुले दुःख दिइरहेका छन्।”
क्यान्सरपीडित उनकी सासूको उपचार गर्दागर्दै मृत्यु भइसकेको छ। उपचारका लागि लिएको ऋण तिर्न लघुवित्तबाट समेत पैसा निकालेकी थिइन्। “जति पैसा दिंदा पनि पूरा भयो भन्दैनन्, अझै बाँकी छ भनेर सताइरहेका छन्,” उनी भन्छिन्, “सहनै नसक्ने भएपछि आन्दोलनमा लागें।”
सिरहाको धनगढीमाईकी ४१ वर्षीया मिनु झाको पति त्यस्तै अवस्था छ। उनले आफ्नी छोरीको विवाहका लागि ऋण लिएकी थिइन्। त्यो तिर्दातिर्दा थाकेकी उनले जमीन नै साहुको नाममा पास गरिन्। “जति पैसा तिर्दा पनि सकिएन। जमीन नै साहुको नाममा पास गरिदिएँ,” मिनु भन्छिन्, “जमीन दिंदा पनि पुगेन। अझै पैसा चाहियो भनेर सताइरहेका छन्।”
साहुमहाजनले महँगो ब्याज र ब्याजको पनि स्याज लगाएर नछोड्ने गरेपछि पीडितहरू न्यायका लागि आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले स्थानीय सरकार, स्थानीय प्रशासन, प्रदेश सरकारलाई कैयौं पटक हारगुहार गरेका थिए। संघीय सरकारका मन्त्री तथा प्रधानमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाएका थिए।
केही गरी न्याय नपाएपछि पैदल काठमाडौं मार्चमा छन्। यो मार्चमा झापादेखि कैलालीसम्मका पीडित सहभागी छन्। विशेष गरेर मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका पीडित धेरै छन्।
अधिकांशले पारिवारिक सदस्यको उपचार, छोरीछोरीको विवाह तथा छोरालाई वैदेशिक रोजगारमा पठाउन पाँच हजारदेखि बढीमा पाँच लाखसम्म ऋण लिएका थिए। त्योभन्दा तीन-चार गुणा बढी पैसा बुझाइसक्दा पनि ऋणमुक्त हुन नसकेको संयोजक पासवान बताउँछन्। “सावाँ र ब्याज तिरिसके पनि साहुले घरजग्गा कब्जा गर्ने, मुद्दा लगाउने, थप सावाँ तथा ब्याज तिर्न बाध्य बनाउने गरेका छन्,” संयोजक पासवान भन्छन्, “यसबाट छुटकारा पाउन काठमाडौं आउन लागेका हौं।”
उनीहरूले काठमाडौं आएर प्रधानमन्त्री तथा सरोकारवालासँग भेट्ने योजना बनाएका छन्। पीडितहरूका मुख्य गरी तीन वटा माग छन्। गलत तरीकाले बनाइएका तमसुकहरू खारेज हुनुपर्ने, सुदखोरी विरुद्धको कानून बन्नुपर्ने र ब्याजको नाममा नामसारी एवं साहुले हडपेको जग्गा फिर्ता हुनुपर्ने। आफ्ना माग पूरा नहुँदासम्म काठमाडौंमै धर्नामा बस्ने उनीहरूले बताएका छन्।