मोदी कूटनीतिको विश्वदृष्टि
पाकिस्तानलाई आतङ्कवादको समर्थक देश भन्ने मामिलामा कठोर देखिने उनले दक्षिणएशियाली एकताको पक्षमा जोड दिएका छन्। तर, दक्षिणएशियामा समस्या हुनुमा भारतको हात कति छ, यसमा उनी मौन छन्।
अमेरिकामा राष्ट्रपति रिचर्ड निक्सन र जेराल्ड फोर्डको युगमा विदेश नीतिका लागि हेनरी किसिन्जर जे थिए, अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शासनमा एस जयशंकर त्यही हुन्। अर्थात् उनको धारणा नै भारतीय सत्ताधारीको आधिकारिक कूटनीतिक ‘लाइन’ मानिन्छ। वा यसो पनि भन्न सकिन्छ कि उनी प्रधानमन्त्री मोदीले जे भन्न चाहन्छन्, त्यसका ‘असल दूत’ हुन्।
चीन र अमेरिकाको राजदूत रहिसकेका जयशंकर नेपालमा भारतले नाकाबन्दी लगाएको समयमा विदेश सचिव थिए। परराष्ट्र सेवामा कर्मचारीका रूपमा ३८ वर्ष बिताएका उनी सन् २०१९ पछि विदेश मन्त्री छन्।
भारतीय जनता पार्टी (भाजपा) र खासगरी प्रधानमन्त्री मोदीसँगको निकटताले जयशंकर प्रभावशाली छन्। मोदी सत्तासँग जयशंकरको दोस्ती हुनुको पृष्ठभूमि हेर्दा उनी चीनका लागि राजदूत (सन् २००९-२०१३) भएका वेला पुगेका तत्कालीन मुख्यमन्त्री मोदीसँग प्रत्यक्ष चिनजान भएको उनैले बताएका छन्।
बुबादेखि दाजुसम्म सबै सरकारी सचिव तहमा काम गरेको पारिवारिक विरासत भएका जयशंकरको भारतीय कंग्रेस र त्यसमा पनि गान्धी परिवारसँग राम्रो सम्बन्ध छैन। इन्दिरा गान्धीले देशमा सङ्कटकाल लगाउँदा हटाइएका पहिला सचिव आफ्ना बुबा भएको उनले केही समयअघि एशियन न्यूज इन्टरन्याशनलको पडकास्ट अन्तर्वार्तामा बताएका थिए।
जयशंकरलाई विदेश सचिव बनाउन सन् २०१५ मा तत्कालीन विदेश मन्त्री सुष्मा स्वराजले सुजाथा सिंहलाई समय अगावै बिदा दिएकी थिइन्। उनलाई विदेश सचिव बनाउनदेखि विदेश मन्त्री बनाउन दुवैमा मोदी सरकारको हतारो देखिएको थियो। त्यो हतारोले जयंशकर मोदीका ‘एस् म्यान’ हुन् भन्ने देखाउँछ।
भारतीय कर्मचारितन्त्र र सत्ता दुवै बुझेका जयशंकरले आफू सत्तामा हुँदै दी इन्डिया वे पुस्तक प्रकाशन गरेका छन्। यसमा भारतको विदेश नीति र कूटनीतिबारे भारतीय अवधारणा खुलाइएको छ। विभिन्न विश्वमञ्चमा बोल्दा जयशंकरले यो पुस्तक विश्वभरका पाठकलाई नभएर भारतीय पाठकलाई लक्षित गरेर लेखिएको बताएका छन्। भारतको प्रत्यक्ष प्रभाव भएको नेपालका लागि पनि भारतीय धारणा बुझ्न यो पुस्तक महत्त्वपूर्ण छ।
जयशंकरले भारतलाई विश्वको दक्षिणी गोलाद्र्धको उदीयमान तथा नेतृत्वदायी शक्तिका रूपमा चित्रित गरेका छन्। भारतलाई चीन जस्तै सभ्यताको शक्तिका रूपमा उनले अथ्र्याएका छन्। सभ्यताको शक्तिकै रूपमा चित्रित गर्न भारतको पहलमा विश्व योग दिवस मनाउन थालिएकोदेखि भारतीय कूटनीतिक भाष्य बुझ्न महाभारतदेखि भगवत् गीताको प्रसङ्ग ल्याएका छन्। यसबाट उनले भाजपा हिन्दू राष्ट्रियताको पक्षमा रहेको भन्ने तर्कमा बल थपेका छन्।
भारतको विदेश नीतिले विगतमा तीन प्रमुख समस्या झेलेको जयशंकरको तर्क छ। एक, सन् १९४७ को भारत-पाकिस्तान विभाजन। दुई, चीनको भन्दा डेढ दशक ढिलो शुरू भएको आर्थिक सुधार। तीन, आणविक शक्ति बन्नमा ढिलाइ।
भारतले ‘लुक इस्ट’ देखि ‘एक्ट इस्ट’ को नीति अनुसार जापानदेखि आसियानसँग मिलनको नीति लिएको, कोभिड-१९ तथा अन्य विपद्मा विभिन्न देशलाई राम्रो सहयोग गरेकोदेखि जापानसँग मित्रताको हात बढाएको जयशंकरले खुलेर लेखेका छन्। भारतले सामुद्रिक शक्ति बन्न लिएका नीतिदेखि छिमेकी मुलुकलाई प्राथमिकता दिएर बनाइएको ‘नेबरहुड फस्र्ट’ अवधारणाबारे उनले विस्तारमा लेखेका छन्।
भारत सहित जर्मनी, जापान, ब्राजिल, इरान, टर्की, साउदी अरेबियादेखि इन्डोनेशिया अबको विश्वका नयाँ शक्ति बन्ने जयशंकरको विश्लेषण छ। उनको बुझाइमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को पुरानो संरचना क्रमशः असान्दर्भिक भएको छ। पछिल्ला दुई दशकमा अमेरिकाले युद्ध गरेर पनि हारेको र चीनले युद्ध नै नगरी जित्दै आएको टिप्पणी गर्ने उनी भारत र चीन नमिले ‘एशियाली शताब्दी’ सम्भव नहुने विचार राख्छन्।
भारतको शक्तिदेखि कमजोरीसम्मका विषयमा जयशंकरले चर्चा गरेका छन्। सन् १९७१ को बाङ्लादेश स्वतन्त्रता सङ्ग्राममा पाकिस्तान पराजित भएपछि मात्रै विश्वले भारत बलियो भएको बुझेको र १९६२ मा चीनसँगको युद्धमा पराजय भोगेपछि विश्वमञ्चमा भारतको महत्त्व खस्किएको लेखेका छन्। श्रीलंकामा भारतीय शान्ति सेनाले नकारात्मक परिणाम ल्याएको समेत उनले स्विकारेका छन्।
पाकिस्तानलाई आतङ्कवादको समर्थक देश भन्ने मामिलामा कठोर देखिने उनले दक्षिणएशियाली एकताको पक्षमा जोड दिएका छन्। तर, दक्षिणएशियामा समस्या हुनुमा भारतको हात कति छ, यसमा उनी मौन छन्। पाकिस्तान बाहेकका दक्षिणएशियामा भारतसँग तनाव भएका देशहरूमा भारतीय कमजोरी उनले स्वीकार गरेका छैनन्। सार्कको महत्त्व लेखेका उनले भारतकै कारण यो संगठन कमजोर भएको विषय पनि उप्काएका छैनन्।
भारतको आकांक्षा, कूटनीतिक रणनीति र धारणा बुझ्न पुस्तक महत्त्वपूर्ण छ। अझ भारतीय पाठकलाई लक्षित गरेर लेखिएकाले भारत भाष्य बुझ्न निकै सहयोगी छ।
पुस्तक: दी इन्डिया वे, लेखक: एस जयशंकर, प्रकाशक: हार्पर कोलिन्स इन्डिया, पृष्ठ: २२६, मूल्य: भारु. ४९९