दुई ट्रक एकआपसमा ठोक्किंदा तीन जनाको मृत्यु
धनुषामा शनिबार बिहान दुई ट्रक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
मिथिला नगरपालिका–३ हरिहरपुरमा दुई ट्रक ठोक्किंदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०१–००१ ख ९२९२ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा सुनसरीका २८ वर्षीय सागर चौधरी, अर्जुन चौधरी र मोरङका ४४ वर्षीय लोकमान श्रेष्ठको मृत्यु भएको धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताए। “तीनै जनाको घटनास्थलमै ज्यान गएको छ,” गौतमले भने। सागर चालक हुन् भने अर्जुन सहचालक हुन्।
दुर्घटनामा सर्लाहीका २० वर्षीय नारायण श्रेष्ठ घाइते भएका छन्। उनको ढल्केबर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन।