एक विवेकी बहुआयामी
पेशाले चिकित्सक भए पनि मथुरा सर एकसाथ धेरै थिए। तर, सबैभन्दा महत्त्वपूर्ण चाहिं उनी इमानदार थिए जसको हृदयमा सधैं समुदाय थियो।
प्रा.डा. मथुराप्रसाद श्रेष्ठ (१९९१ फागुन ५-२०७९ फागुन ८) देश र समाजका लागि बहुआयामिक योगदान गरी भौतिक संसारबाट बिदा भएका छन्। बुद्धिजीवी श्रेष्ठ मानव अधिकार तथा नागरिक आन्दोलनका रक्षक र सामुदायिक चिकित्साका अगुवा थिए।
नेपाल सरकारको चिकित्सा शिक्षाको पाठ्यक्रम निर्माणमा प्राध्यापक श्रेष्ठले महत्त्वपूर्ण भूमिका खेलेका थिए। जस अनुसार २०२९ सालमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को स्थापना भएको थियो। आईओएमका पहिलो प्राध्यापक उनी नै भए। युवा चिकित्सक होस् या जनस्वास्थ्य विषयको प्राध्यापक भइसकेपछि, उनी सधैं सक्रिय र सामाजिक न्यायको पक्षधर रहे। जनस्वास्थ्यको क्षेत्रमा समुदाय स्तरको उपचारका पैरवीकर्ता उनले चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए।
सामाजिक रूपान्तरण, लोकतान्त्रिक आन्दोलन र मानव अधिकार आन्दोलनमा पनि प्राध्यापक श्रेष्ठ उत्तिकै सक्रिय रहे। विद्यार्थीकालमा राणाशासन र पञ्चायत विरोधी आन्दोलनमा सहभागी भएका उनी २०४६ सालको जनआन्दोलनमा अग्रपंक्तिमा रहे। आन्दोलनमा खटिन डाक्टर र नर्सहरूलाई अपील समेत गरेका थिए। जनआन्दोलनको सफलतापछि २०४७ सालमा बनेको अन्तरिम सरकारमा नागरिक समाजका तर्फबाट उनी स्वास्थ्य मन्त्री बने।
२०४६ सालको आन्दोलनकै क्रममा मथुरा सरसँग मेरो चिनजान भएको थियो। पछि, उनीसँग विभिन्न ढङ्गले काम गर्ने अवसर पनि मिल्यो। उनले नेतृत्व गरेको आईओएमको समुदाय चिकित्सा तथा परिवार स्वास्थ्य विभागमा २०५३ सालदेखि करीब दुई वर्ष पढाएँ।
मथुरा सरबाट हामीले सिक्नुपर्ने कुरा धेरै छन्। समुदायमुखी जनस्वास्थ्य, राष्ट्र र समाज केन्द्रित अध्ययन अनुसन्धान, विज्ञान र व्यवहारको सम्बन्ध, समतामूलक समाज र सामाजिक न्यायको लडाइँ, मानव अधिकारको रक्षा र दिगो विकास, दल र गुटभन्दा माथि राष्ट्रिय आवश्यकता जस्ता उनका काम प्रेरणादायी छन्। अतः उनका बहुआयामिक योगदानबारे छलफल र विमर्श जरुरी छ। तीन वर्षअघि उनीसँग लामो कुराकानी गर्ने मेसो मिलेको थियो। त्यही कुराकानीका आधारमा श्रेष्ठकै शब्दमा यो लेख प्रस्तुत छः
राजनीतिक चेतना र मार्क्सवादी रुझान
हाम्रो पुर्ख्यौली घर तनहुँको बन्दीपुर हो। मेरो बाजे लालगोविन्द श्रेष्ठ सपरिवार काठमाडौं आएर बस्नुभएको थियो। म यतै यट्खा टोलमा १९९१ फागुनमा जन्मिएँ। मेरो बा सधैं व्यापारमा बाहिर जाने भएकाले हाम्रो चिन्ता र हेरचाहमा बाजेले नै ध्यान दिनुहुन्थ्यो। म ६ महीनाको भएपछि बाजेले अन्नप्राशन गर्न बन्दीपुर लगेपछि उतै हुर्किन थालें। उति वेला बन्दीपुरमा पाठशाला थिएन। बाजेले हामीलाई घरमै पढाउन थाल्नुभयो। पाठशाला खुलेपछि २-३ कक्षासम्म त्यहीं पढें। २००३ सालमा काठमाडौंको जुद्धोदय हाइस्कूलमा कक्षा ३ मा भर्ना भएँ।
बाजे राजनीतिक हिसाबले सचेत हुनुहुन्थ्यो। राणाशासन विरुद्ध उत्रेका क्रान्तिकारीहरूलाई १९९७ सालमा मृत्युदण्ड दिइँदा बाजेहरूले गोप्य रूपमा बैठकहरू गरेको अलि अलि याद छ। बाजेले हामीलाई राजनीतिबाट पर राख्न खोज्नुहुन्थ्यो। २००४ सालमा जयतु संस्कृतम् आन्दोलन चल्यो। राजनीतिले असर पार्ला भनेर बाजेले हामीलाई
बन्दीपुर पठाउनुभयो। तर, कक्षा ३ भन्दा माथिको पाठशाला थिएन, ३ मै भर्ना भएँ। त्यहाँ वेदान्तमा मेरो अध्ययन राम्रो भयो, तत्त्वबोधदेखि योगवाशिष्ठसम्म। बनारसबाट आचार्य गरेर फर्केका, कडा मिजासका भैरव गुरुले पढाउनुहुन्थ्यो।
२०१९ सालमा स्याङ्जामा भएको एउटा घटना सम्झन्छु। त्यहाँ मलाई जङ्गलमा लगेर मार्ने योजना बनेछ। कम्युनिष्टलाई ‘अराष्ट्रिय तत्त्व’ मान्दै त्यस विरुद्ध अभियान चलाएका पञ्चायती सरकारका मान्छेले त्यस्तो प्रपञ्च रचेका रहेछन्।
त्यहाँबाट २००५ सालमा फेरि काठमाडौैं आएर दरबार हाइस्कूलमा कक्षा ५ मा भर्ना भएँ। काठमाडौं आएपछि राजनीतिक चेतना र परिवर्तनले छोयो। आर्थिक हिसाबले राम्रै अवस्था भए पनि म कसरी मार्क्सवादी प्रभावमा परें त भन्ने लाग्न सक्छ। यसमा विभिन्न पक्षको प्रभाव छ।
मेरो बाका साथी गौरीभक्त प्रधान (सहाना प्रधानका दाइ) हामीकहाँ बरोबर आइराख्नुहुन्थ्यो। मार्क्सवादी दर्शनबाट प्रभावित हुनुहुन्थ्यो उहाँ। हामीलाई विभिन्न कुरा सुनाउनु/सिकाउनुहुन्थ्यो। तर, एकैचोटि मार्क्सवादी दर्शन पढाउनुभएन, जातकको कथाबाट शुरू गर्नुभयो। बिस्तारै राजनीतिका कुरा पनि गर्न थाल्नुभयो। हामी ध्यान दिएर सुन्थ्यौं। वेलाबखत चाख बढाउन अरेबियन नाइट्सका कथाहरू पनि सुनाउनुहुन्थ्यो।
मेरो ठूलोबाको छोराको पनि ममा धेरै प्रभाव परेको छ। उहाँ मेरो ‘कर्म दाइ’ हुनुहुन्थ्यो। असाध्यै राम्रो लेख्नुहुन्थ्यो, भाषण पनि उत्तिकै राम्रो गर्ने। उहाँ २०१५ सालतिरै बित्नुभयो। बन्दीपुर, गोरखा, पोखरा, बाग्लुङमा कम्युनिष्ट पार्टी गठन गर्नमा दाइको ठूलो योगदान छ। शायद त्यसको प्रत्यक्ष प्रभावले मलाई मार्क्सवादतिर ढल्कायो।
मार्क्सवाद र आन्दोलनप्रति उत्साह जगाउने अर्का पात्र पनि थिए। दरबार हाइस्कूल नजिकै भोटाहिटीदेखि पर्तिरको टोलमा बस्ने वैद्य थरका उनी विद्यार्थी आन्दोलन गर्नुपर्छ भनेर २००५ सालदेखि नै हुटहुटी दिन्थे। २००६ सालमा त हामीले दरबार स्कूलमा विद्यार्थीको भूमिगत संगठन नै बनायौं। राणा विरोधी पर्चा बनाएर छर्ने गर्थ्यौं। प्रहरीले खबर पाएछ। हाम्रो कक्षाको एउटा सुधो मान्छे एक दिन चिनियाँ शैलीको टोपी लगाएर आएछ। पर्चा छर्ने यही हुनुपर्छ भनेर प्रहरीले उसलाई समातेर हाम्रै अगाडि रगताम्य हुने गरी पिट्यो। बडो दुःख लाग्यो।
हामीले अलि अलि मार्क्सवाद अध्ययन गरिसकेका थियौं। स्कूलमा वेलाबखत कार्यक्रम गर्थ्यौं। कार्यक्रममा कसलाई बोलाउने भनेर सल्लाह गर्दा भीमनिधि तिवारीलाई अनुरोध गर्ने कुरा भयो। तर, उहाँ आउन डराउनुभयो। माधवप्रसाद घिमिरेलाई भेटेर अनुरोध गर्दा उहाँले पनि इन्कार गर्नुभयो। त्यसपछि लक्ष्मीप्रसाद देवकोटालाई बोलाउने सल्लाह भयो। डिल्लीबजारकै मान्छे मार्फत देवकोटालाई भेट्यौं। उहाँ आउन राजी हुनुभयो। हामी एकदमै खुशी भयौं। उहाँले भाषा-साहित्यको सिर्जना र विकास कसरी भयो भनेर प्रवचन दिनुभयो। मैले त्यस वेलासम्म त्यस्तो राम्रो भाषण कहिल्यै सुनेको थिइनँ।
स्कूल पढ्दा हिउँदे बिदामा म बन्दीपुरको घर जान्थें। पुष्पलाल हाम्रै घरमा आउनुहुन्थ्यो। भूमिगतकालमा शेल्टर जस्तो थियो हाम्रो घर। त्यस क्रममा पुष्पलाल सहित अरू कम्युनिष्टहरूसँग मेरो सम्पर्क र चिनजान भयो। एसएलसी उत्तीर्ण भएपछि पुष्पलालसँगको सम्बन्ध अझ प्रगाढ भयो।
पुष्पलालसँगको एउटा घटना विशेष रूपमा सम्झन्छु। उहाँले माओत्सेतुङको पुस्तक अन कन्ट्राडिक्सन नेपालीमा अनुवाद गर्न भन्नुभयो। मैले गरेर दिएँ। उहाँले हाँस्दै यसबाट फेरि अंग्रेजीमा अनुवाद गर भन्नुभयो। शुरूमा त मलाई किन दुःख दिएको होला भन्ने लागेको थियो, पछि पो यसको महत्त्व थाहा भयो। अनुसन्धान गर्दा सही अनुवाद अत्यन्तै महत्त्वपूर्ण हुने रहेछ। उदाहरणका लागि, अंगे्रजी शब्द ‘क्रोकोडायल टियर’ लाई नेपालीमा ‘गोहीको आँसु’ भनिन्थ्यो। तर, उति वेला ‘गोहीको आँसु’ भन्दा कसैले पनि बुझ्दैनथ्यो। त्यसबाट मलाई के थाहा भयो भने, शब्द उल्था गरेर मात्र पुग्दैन, त्यसको भाव पनि ठीक ढङ्गले आयो कि आएन भन्ने पनि ख्याल गर्नुपर्ने रहेछ।
पुष्पलाल र अन्य व्यक्तिहरूको सङ्गतले म सहित धेरै साथीहरू पक्का मार्क्सवादी भयौं। त्यति वेला काठमाडौंमा मार्क्सवादी स्कूल पनि थियो। त्यस बखतका साथीमध्ये शैलेन्द्रकुमार उपाध्याय र गोविन्दप्रसाद लोहनी हुन्। लोहनी एकदम असल, धेरै ज्ञान भएका र व्यावहारिक थिए। त्यस वेला चीन क्रान्तिबारे धेरै बुझेका र त्यसबारे लेखेका पनि थिए। पछि उनीहरू दुवै पञ्चायतमा लागे। लोहनीको प्रभावले म सहित त्यस वेला डिल्लीबजारमा बस्ने अरविन्दनाथ रिमाल, आनन्ददेव भट्ट लगायत अरू धेरै व्यक्तिले मार्क्सवादको गहिरो अध्ययन गर्यौं।
२००७ सालमा म कम्युनिष्ट पार्टीको सहयोगी भइसकेको थिएँ। सहयोगी भएर एक-दुई वर्ष काम गरेपछि मात्र पार्टी सदस्यता दिइन्थ्यो। २००८ सालमा सदस्य बनें। त्यसपछि मलाई अखिल नेपाल विद्यार्थी फेडेरेशन, काठमाडौं कमिटीको सचिव बनाइयो, बन्दिनँ भन्दाभन्दै। फेडेरेशन २००७ सालमै स्थापना भइसकेको थियो। पुष्पलालसँग म केन्द्रीय कमिटीमै छैन, म सचिव बनेर के काम हुन्छ र भनेको थिएँ। उहाँले पार्टीले निर्णय गरिसक्यो भन्नुभएपछि जिम्मेवारी लिएँ।
म काठमाडौं कमिटीमा भए पनि कहिले भोजपुर, कहिले पोखरा पुगेर ससाना स्कूल र पाठशालाहरूमा संगठन बनाउने काममा खट्थें। निर्मल लामा पहिले कांग्रेसमा हुनुहुन्थ्यो, पछि कम्युनिष्ट हुनुभयो। केन्द्रमा अरविन्दनाथ रिमाल, प्रचण्ड सिंह, वासुदेव ढुंगाना जस्ता राम्रा मान्छे थिए। लामाको भूमिका पनि निकै राम्रो थियो। त्यति वेला संगठन गर्ने, पार्टी चलाउने मानिसमा इमानदारी धेरै थियो, अहिले छैन। नेताहरू व्यक्तिगत स्वार्थमा लिप्त र दूरदृष्टिविहीन देख्दा निकै दुःख लाग्छ। हिजोआज आफूलाई मार्क्सवादी भन्नेहरू आफूलाई बढी बुझक्कड ठान्छन्, तर निकै सतही छन्। नेताहरूमा कुरा गराइ र काममा तालमेल नै छैन।
हामीले समुदायलाई केन्द्रमा राखेर गरेको अध्ययनलाई ‘नेपाल मोडल’ भनेर आईडीआरसीले स्वीकार गर्यो। यो मोडल भारत सहितका अन्य मुलुकमा पनि प्रयोग गरियो जुन निकै गौरवको कुरा हो।
चिकित्सा अध्ययन
त्रि-चन्द्र कलेजमा आईएस्सी पढें। त्यसपछि कोलम्बो प्लान अन्तर्गत भारतको आन्ध्र मेडिकल कलेजमा एमबीबीएस पढ्न जान छानिएँ। त्यति वेला देश बाहिर जाँदा संगठनबाट राजीनामा गर्नुपर्ने नियम थियो। राजीनामा दिएँ। फर्केर आउँदा कम्युनिष्ट पार्टी टुक्रा टुक्रा बनिसकेको थियो। सबैलाई मिलाउने कोशिश गर्दा सकिनँ। कुनै पनि पार्टीमा आबद्ध भइनँ।
भारतमा पढ्ने क्रममा सर्जरीमा म असाध्यै राम्रो भएँ। विद्यार्थीकालमै कलेजमा ठूलठूला सर्जनहरूले रेजिडेन्टहरूलाई विश्वास नगरी टीममा मलाई संलग्न गराउँथे। इन्टर्नशिपका क्रममा अर्थोपेडिक विभागमा राम्रो काम गरेकाले प्रोफेसरहरूले पनि मलाई खूब मन पराउँथे। त्यहाँका प्रोफेसरहरू निकै पहुँच भएका, प्रभावशाली हुन्थे। अर्थोपेडिक सर्जरीमा एमएसका लागि छात्रवृत्ति मिलाइदिन्छु भन्थे। प्रस्ताव त राम्रो थियो। तर, पढाइ पूरा भइसकेकाले मैले नेपाल फर्कनैपर्थ्यो।
यहाँ आएपछि वीर अस्पतालका निर्देशक डा. दिनेशानन्द वैद्यलाई भेट्न गएँ। ‘भारतमै छात्रवृत्तिमा एमएस गर्ने अवसर आएको छ, पाँचवर्षे बोन्ड फर्केपछि पूरा गर्छु’ भन्दै जाने अनुमति मागें। उहाँले ‘त्यस्तो ठाउँमा किन जानुपर्यो’ भन्नुभयो। उसो त म पनि भारतदेखि वाक्क भइसकेको थिएँ। उहाँले बरु एफआरसीएस (फेलोशिप अफ द रोयल कलेज अफ सर्जन्स) का लागि बेलायत पठाउने भन्नुभयो। डाइरेक्टरले नै भनेपछि मान्नैपर्यो। तर, पछि मन्त्रालयले विश्वराज दलीलाई छान्यो।
जागीरका उतारचढाव
जागीरको सिलसिलामा मैले अनेक अड्चन भोग्नुपर्यो। त्यसको मुख्य कारण राजनीतिक प्रतिशोध थियो। म पहिले कम्युनिष्ट भएकाले कालोसूचीमा राखेका रहेछन्। पहिला त फकाएको जस्तो गर्थे, तर पछि एकदमै दुःख दिए। केही महीनामै सरुवा गरिरहन्थे। छोटै अवधिमा १३ ठाउँसम्म सरुवा गरे। कतिपय ठाउँमा ज्यान मार्ने धम्की पनि सहनुपर्थ्यो।
२०१९ सालमा स्याङ्जामा भएको एउटा घटना सम्झन्छु। त्यहाँ मलाई जङ्गलमा लगेर मार्ने योजना बनेछ। कम्युनिष्टलाई ‘अराष्ट्रिय तत्त्व’ मान्दै त्यस विरुद्ध अभियान चलाएका पञ्चायती सरकारका मान्छेले त्यस्तो प्रपञ्च रचेका रहेछन्। मलाई सुरक्षा दिन आर्मीका एक जना खटिएका थिए। मलाई केही गर्ला कि भन्ने भएपछि आर्मीले मकहाँ ६ जना पठाउन थाल्यो। पछि, प्रपञ्च रच्नेहरूबीचमै के फाटो भयो होला, म जोगिएँ।
स्याङ्जाकै अर्को पनि घटना छ। एक जना बाहुन जमीनदारलाई नाङ्गै बनाएर बेस्सरी पिटेछन्। आपसमा के कुरा मिलेन या बडाहाकिमसँगको शक्ति संघर्ष पनि होला। घाइते भएपछि जाँच गराउन मकहाँ आए। बडाहाकिमले पहिला सिपाहीहरू पठाए। तिनले ‘सबै ठीक छ भनेर लेख’ भने। मैले ‘जे कुरा हो त्यही लेख्छु’ भनें। त्यसपछि बडाहाकिम आफैं आए। मैले भनें, “बडाहाकिम साहेब, यो तपाईंको होइन मेरो कार्यक्षेत्र हो। जे देख्छु, त्यही लेख्छु। तपाईंले जे भने पनि यसमा फरक पर्दैन।”
त्यही झोकमा त्यहाँबाट मेरो पोखरा सरुवा गरियो। पोखराबाट हेटौंडा, त्यहाँबाट दैलेख, फेरि पोखरा, स्याङ्जा, भरतपुर, भरतपुरमा दुई-तीन महीना नबस्दै फेरि दैलेख, दैलेखबाट गोरखा र त्यहाँबाट काठमाडौं पठाए। काठमाडौंबाट स्वास्थ्य सहायक (एचए) को कार्यक्रम तर्जुमा गर्न तीन महीना भरतपुरमा राखियो। त्यसमा धेरै काम गरेको थिएँ। तर, त्यो अनुसार सबै भएन। कुनै समस्या आयो कि मलाई चितवन सरुवा गरिन्थ्यो। समस्या समाधान भएपछि तत्कालै अन्तै पठाइन्थ्यो।
वीर अस्पतालको स्तरोन्नति गर्न योजना बनाउने जिम्मेवारी पनि मलाई दिइएको थियो। त्यसको योजना बनाएर बुझाएँ। मुख्य कुरा त जग्गाकै अभाव थियो। टुँडिखेलमा एउटा सुरुङ खनेर अक्सिजन पाइपहरू राख्ने, अगाडि हालको भृकुटीमण्डपतिरको खाली फाँट अस्पतालका लागि अधिग्रहण गर्ने भनेर सर्भे गरी नक्शा बनाएर पठाएँ। सूर्यबहादुर थापा नेतृत्वको मन्त्रिपरिषद्मा त्यो प्रस्ताव पुग्यो।
त्यहाँ ‘यस्तो राम्रो जग्गा कहाँ अस्पताललाई दिने, यो त मन्त्री क्वार्टर बनाउन पहिला नै लिने भनिसकेको छ’ भन्ने कुरा चलेछ। वीर अस्पतालको नाममा नापजाँच गरेर अधिग्रहण त गरियो, तर मन्त्री क्वार्टर बन्यो। पछि त्यहाँ भृकुटीमण्डप बनाइयो, अलिकति जग्गा मेडिकल एशोसिएशनलाई दिएर मुख बन्द गरियो, थोरै रत्नराज्य कलेजलाई दिइयो। वीर अस्पताल चाहिं खुम्चिएको अवस्थामा रह्यो।
“तपाईं रिसाउनुस् या खुसाउनुस् मतलब छैन। म चाहिं मेडल चाहियो भन्दिनँ। संसारमा कहीं पनि यस्तो काम गर्नेवाला छैन।”
अनुसन्धान र जनस्वास्थ्य अध्यापन
मेरो बढुवा रोकिएको थियो। १५ वर्षपछि बल्लतल्ल सेकेन्ड क्लास भएँ। फेरि भरतपुर सरुवा भयो। भरतपुर आएपछि ‘तपाईं काठमाडौंमा आउनुपर्ने भयो, महाराजगन्ज क्याम्पस (चिकित्साशास्त्र अध्ययन संस्थान) मा जोइन गर्नुस्’ भने। मैले नगर्ने भनें, तर काजमा पठाइदियो। एक महीनासम्म गइनँ। दिनदिनै खबर पठाउन थालेपछि गएर महाराजगञ्जमा काम शुरू गरें।
त्यहाँ क्यानाडाको इन्टरन्याशनल डेभलपमेन्ट रिसर्च सेन्टर (आईडीआरसी) ले स्वास्थ्यबारे ठूलो अनुसन्धान परियोजना चलाएको रहेछ। करोडौं रुपैयाँ खर्च गरिए पनि राम्रो काम भएको रहेनछ। बेलायतको लिभरपुल विश्वविद्यालयका प्रोफेसरलाई राखेर गराएको अनुसन्धानमा जनस्वास्थ्य क्षेत्रका नेपाली पनि रहेछन्। तर, गतिलो काम नभई त्यो कार्यक्रम फेज आउट भएछ। फेरि गर्ने भनेर मलाई बोलाइएपछि आईडीआरसीले अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयका कार्ल टेलर र उनको सहायकमा रबर्ट पार्करलाई नियुक्ति गर्यो। रेसिडेन्ट एड्भाइजर मलाई राख्यो।
त्यो असाध्यै राम्रो परियोजना थियो। तर, मेरो अनुसन्धानको अनुभव खासै थिएन। चितवनमा हुँदा केही समय काम गरेको थिएँ। ४०-५० वटा घरको विवरण राखियो। त्यसमा एउटा परिवारको अवधारणा, पारिवारिक र व्यक्तिगत अवस्थाको अभिलेख राख्ने व्यवस्था गरियो। तनहुँ बन्दीपुरबाट अध्ययन शुरू गरियो। अनुसन्धानको नतीजा हेर्दा त्यहाँको स्वास्थ्यका अधिकांश सूचक धेरै राम्रो देखिए, लगभग अमेरिकाको जस्तै।
यो अध्ययनमा केही खोट छ भन्ने लाग्यो। मेरो त एमबीबीएस डिग्री मात्रै थियो। खूब घोत्लिएँ, अनुसन्धान विधिबारे पढें। समाज, संस्कृति, भूगोल, जनसंख्या, स्वास्थ्यलाई बुझ्ने दृष्टिकोण आदिबारे हिम्मतका साथ परियोजनाका मानिसहरूसँग छलफल गरें। अनुसन्धान प्रतिवेदनले समाजको वास्तविक स्थिति नदेखाउने भएकाले फेरि गहन रूपले बुझेर अध्ययन गर्नुपर्ने बताएँ।
आईडीआरसीमा नयाँ प्रस्तावना पठाइयो। स्वीकृत भयो। उताबाट रेजिडेन्ट बनाएर एक व्यक्तिलाई पठाए। उनी र मैले सल्लाह गर्यौं। पहिले मान्छेहरूसँग छलफल गर्ने र त्यसपछि अनुसन्धान विधि तयार गर्ने भनेर बन्दीपुर र अरू दुई-तीन ठाउँमा गयौं। छलफलपछि प्रश्नावली परीक्षण गर्न जाँदा बाटोमा एउटा बच्चाले पातलो दिसा गरेको देखियो। बच्चाको घर खोज्दै जाँदा उनकी हजुरआमालाई भेट्यौं। हामीले सोधेको प्रश्न थियो, “तपाईंको नातिलाई कस्तो छ?” हजुरआमाले भनिन्, “सब ठीक छ।” मैले त तपाईंको नातिलाई पातलो दिसा गरेको देखेको थिएँ नि भनें। उनले भनिन्, “बच्चाले नछेरे कसले छेर्छ त?”
त्यस्तै, महिलाको ढाड दुखाइबारे सोध्दा ‘स्वास्नीमान्छेको ढाड नदुखे कसलाई दुख्छ त?’ भन्ने उत्तर आयो। त्यसपछि हामीलाई थाहा भयो, हाम्रो अध्ययन विधिमै समस्या छ भनेर। स्वस्थता र अस्वस्थताबारेको बुझाइमै अन्तर थियो। त्यसबारे व्यापक छलफल गर्दा रोगलाई बुझ्ने सामाजिक र सांस्कृतिक मान्यताको बारेमा ज्ञान भयो। स्थानीय सामाजिक, सांस्कृतिक, आर्थिक र धार्मिक अवस्था तथा परिवेश आदिको ज्ञान विना गरिएको अनुसन्धान वास्तविकताभन्दा धेरै फरक हुने भएकाले अनुसन्धानमा यी पक्ष ख्याल गर्नुपर्ने थाहा भयो। त्यसपछि अनुसन्धान गर्ने नयाँ तरीका सिकियो।
दोस्रो पटक तनहुँमा अध्ययन गर्दा एकदमै भिन्न तर वास्तविकताको धेरै नजिकको नतीजा आयो। त्यसपछि धनकुटामा पनि अध्ययन गर्यौं। हामीले समुदायलाई केन्द्रमा राखेर गरेको अध्ययनलाई ‘नेपाल मोडल’ भनेर आईडीआरसीले स्वीकार गर्यो। यो मोडल भारत सहितका अन्य मुलुकमा पनि प्रयोग गरियो जुन निकै गौरवको कुरा हो।
महाराजगञ्ज क्याम्पसमा पढाउने क्रममा सन् १९७३ मा तीन महीनाका लागि जापान गएको थिएँ। त्यहाँ बस्दा तथ्याङ्क र यसलाई प्रयोग गर्ने तरीका सिकें। कम्प्युटर प्रोग्राम पढें। यस्तै, कोरियामा पनि साढे चार महीना बसें। त्यसबाट मलाई पढ्ने र लेख्ने अवसर मिल्यो। ती देशमा जाँदा उनीहरूले धेरै सिकाएका त होइनन्, आफैं सोधखोज गरेर, मानिसहरूसँग सम्पर्क गरेर बढी सिक्न पाएँ।
त्यसपछि एमपीएच (मास्टर अफ पब्लिक हेल्थ) पढ्न बेलायतको युनिभर्सिटी अफ लिभरपुल गएँ। परीक्षा दिएँ, पास भइयो भन्ने थाहा भयो, तर चार जना टपरमध्ये एउटा टपर छान्नुपर्यो, अर्को परीक्षा हुने भयो। चार जना टपरमध्ये पहिला नै अरू विषयमा विद्यावारिधि गरेका क्यानाडा र आयरल्यान्डका दुई जना थिए, अर्को बर्माको साथी थियो। सबैले जाँच दियौं। त्यसपछि अन्तर्वार्तामा बोलाइयो। अरू तीन जनालाई आधा घण्टा सोधे, मलाई डेढ घण्टा।
अन्तर्वार्ता लिनेमध्ये एक जना नेपालमा औंलो रोगमा काम गरेका व्यक्ति पनि रहेछन्। उनको र मेरो कुरा ठ्याक्कै मिलेन। मैले आफ्नो कुराको प्रतिरक्षा गरें। त्यहाँ एउटा इमानदारी हुँदो रहेछ, आफ्नो धारणालाई तथ्यगत ढङ्गले भन्यो भने फरक मतलाई पनि सम्मान गर्ने। मैले मेडल पाएँ।
युनिभर्सिटीले पनि अवार्ड दियो। त्यो अवार्ड नदिएको भए मसँग फर्कने पैसा पनि थिएन। श्रीमतीलाई पनि लगेको थिएँ। छात्रवृत्तिको समय सकिएपछि पनि श्रीमतीको पढाइका लागि थप पाँच महीना बस्नुपर्दा सबै पैसा सकिइसकेको थियो। क्यानाडाले एक हजार डलर दियो। युनिभर्सिटी अफ लिभरपुलले ६/७ सय पाउन्ड दियो। त्यही पैसाले नेपाल फर्कें।
नेपाल आएपछि मलाई गृह सचिवले बोलाउनुभयो। फारम भर्न लगाउनुभयो। केको फारम भनेर सोध्दा महेन्द्र विद्याभूषणको रहेछ। पहिलो हुनेलाई दिने रहेछ। मैले भनें, “हेर्नुस् सचिवज्यू, म मेडलको लायक छु भने मैले किन निवेदन दिने? यस्तो काम गर्दिनँ।” त्यसपछि त उहाँ रिसले आगो हुनुभयो। मैले भनें, “तपाईं रिसाउनुस् या खुसाउनुस् मतलब छैन। म चाहिं मेडल चाहियो भन्दिनँ। संसारमा कहीं पनि यस्तो काम गर्नेवाला छैन।” फारम भरिनँ र मेडल पाइनँ।
पछिल्लो समय जनस्वास्थ्य विषयमा भएका विकासबारे पर्याप्त छलफल भएको छैन। किताबी ज्ञान मात्र भयो। एकअर्काको खुट्टा तान्ने प्रवृत्ति बस्यो, सहयोगी भावना विकास भएन। पैसा पाएपछि जस्तो पनि अनुसन्धान गर्ने गलत बानी विकास भयो। यसले भने धेरै दुःखी बनाउँछ।
(पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनस्वास्थ्य विभागका प्रमुख प्राध्यापक मधुसूदन सुवेदी चिकित्सा समाजशास्त्री तथा मानवशास्त्री हुन्। हिमालको २०७९ चैत अङ्कबाट।)