दुईमध्ये एक नेपालीका घरमा टेलिभिजन, ४ प्रतिशत परिवारमा वासिङ मशिन
दुईमध्ये एक नेपालीका घरमा टेलिभिजनको पहुँच पुगेको देखिएको छ।
राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनले ४९.४ प्रतिशत घरपरिवारसँग टेलिभिजन भएको देखाएको हो। जनगणनाको प्रतिवेदनले अधिकांश घरपरिवारले सञ्चार, यातायात तथा विद्युतीय साधनको सुविधा उपयोग गरिरहेको देखाएको छ।
करीब ९६ प्रतिशत घरपरिवारले रेडियो, टीभी, मोटरसाइकल, मोबाइल फोन, पङ्खा, साइकल लगायत साधनमध्ये कम्तीमा एक सुविधाको प्रयोग गरिरहेको देखिएको हो। पछिल्ला दशकमा वैदेशिक रोजगारीले गर्दा घरपरिवारको क्रय क्षमता बढेका कारण सञ्चार, यातायात तथा विद्युतीय साधनको पहुँच भएका घरपरिवारको संख्या बढिरहेको छ।
करीब चार प्रतिशत घरपरिवारसँग भने यी साधनमध्ये कुनै पनि छैन। दुई लाख ५८ हजार ५४० परिवारले विपन्नताका कारण यी साधनको पहुँच नपाएको हुन सक्ने आकलन छ।
चारमध्ये एक नेपालीका घरमा मोटर साइकल/स्कूटर रहेको पनि जनगणनामा देखिएको छ। २७.२६ परिवारसँग मोटरसाइकल/स्कूटर छ।
त्यसैगरी, चारमध्ये तीन परिवारसँग स्मार्टफोनको पहुँच छ। ७३ प्रतिशत परिवारसँग स्मार्टफोन, ४.५ प्रतिशत परिवारसँग ल्यान्डलाइन टेलिफोन, ३४ प्रतिशत घरपरिवारसँग रेडियो सुविधा छ।
त्यसैगरी, ३७.७५ घरपरिवारले इन्टरनेट सुविधा उपयोग गरिरहेका छन् भने १५ प्रतिशत घरपरिवारसँग कम्प्युटर वा ल्यापटप सुविधा छ। ३५.२४ प्रतिशत घरपरिवारसँग साइकलको सुविधा रहेको पनि प्रतिवेदनले देखाएको छ।
करीब चारमध्ये एक परिवारका घरमा रेफ्रिजेरेटर (फ्रिज) को सुविधा छ। त्यसैगरी, चार प्रतिशत घरपरिवारसँग लुगाधुने मशिन (वासिङ मशिन) रहेको पनि जनगणनाले देखाएको छ।