वसन्त कुँवर आईजीपी नियुक्त
सरकारले वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ।
वरीयतामा सबैभन्दा अगाडि रहेका कुँवर तीन दिनअघि मात्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बनेका थिए। कुँवरले दुई वर्ष प्रहरी नेतृत्व सम्हाल्नेछन्। ३० वर्षे सेवा अवधिको प्रावधान कायम रहेमा कुँवर २०८१ चैत ४ गतेसम्म आईजीपीमा बहाल हुनेछन्।
यस हिसाबले उनी २०७३ पछि सबैभन्दा लामो अवधि आईजी बन्ने अधिकृत हुनेछन्। २०७० मंसीरदेखि २०७३ फागुनसम्म उपेन्द्रकान्त अर्याल तीन वर्ष तीन महीना आईजीपी बनेका थिए। अर्यालपछि कुँवर नै सबैभन्दा लामो कार्यकाल पदमा रहने आईजीपी हुन्।
तुलनात्मक रूपमा लामो कार्यकाल पदमा रहने भएकाले कुँवरलाई प्रहरी संगठनको थिति बसाल्ने अवसर हुनेछ।
उनीसँगै तीन दिनअघि टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजी नियुक्त भएका थिए। प्रतिस्पर्धी पाँच जनामध्ये सरकारले वरीयतामा पहिलो नम्बरमा रहेका कुँवरलाई आईजीपी नियुक्त गरेको हो। उनी नेपाल प्रहरीको ३०औं आईजीपी बनेका छन्।