ग्यासमा खाना पकाउने परिवारको संख्या दोब्बर
बितेका १० वर्षमा भान्सामा खाना पकाउन एलपी ग्यास प्रयोग गर्ने परिवारको संख्या दोब्बरले बढेको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको जनगणना २०७८ को तथ्याङ्क अनुसार, ४४.३ प्रतिशत परिवारले खाना पकाउन एलपी ग्यास प्रयोग गर्ने गरेको देखाएको छ। एक दशकअघि २०६८ मा २१ प्रतिशत परिवारले मात्रै एलपी ग्यास प्रयोग गर्ने गरेका थिए।
सुगम र शहरी क्षेत्रमा मात्रै होइन, दुर्गम क्षेत्रमा समेत खाना पकाउन एलपी ग्यासको प्रयोग बढेको पाइएको छ। सरकारले एलपी ग्यासमा अनुदान दिंदै आएको छ।
नेपाल आयल निगमले छूटमा बिक्री गर्नुपर्दा प्रति सिलिन्डर एलपी ग्यासमा ३५९ रुपैयाँ ५० पैसा घाटा रहेको जनाएको छ। गत आर्थिक वर्ष २०७८/७९ मा पाँच लाख ३६ हजार मेट्रिक टन एलपी ग्यास आयात भएको थियो।
घरपरिवारको स्वास्थ्य र सुविधाका दृष्टिले दाउरा छोडेर भान्सामा एलपी ग्यासको प्रयोग राम्रो हो। तर, अर्थतन्त्रका लागि एलपी ग्यासको प्रयोग बढ्नु राम्रो होइन। एलपी ग्यासको खरीदमा ठूलो रकम बाहिरिंदै आएको छ।
एक दशकमा भान्सामा दाउरा र गुइँठाको प्रयोगमा निकै कमी आएको देखिएको छ। २०६८ को जनगणनाले ६४ प्रतिशत घरपरिवारले खाना पकाउन दाउरा र १०.३८ प्रतिशत घरपरिवारले गुइँठाको प्रयोग गर्ने गरेको देखाएको थियो। यो संख्या २०७८ मा क्रमशः ५१ र २.९ प्रतिशतमा ओर्लिएको छ।
भान्सामा दाउरा र गुइँठाको प्रयोग घट्नु खासगरी महिलाको स्वास्थ्यमा असर न्यूनीकरणका हिसाबले निकै महत्त्वपूर्ण छ। भान्सामा काम गर्ने महिलामा हुने दम लगायत श्वासप्रश्वास सम्बन्धी रोगको प्रमुख कारण दाउरा र गुइँठा बाल्नु रहेको मानिन्छ।
यद्यपि, कर्णालीमा अझै पनि दाउराको प्रयोग उच्च छ। कर्णाली प्रदेशका ८२.२ प्रतिशत परिवारले अझै पनि खाना पकाउन दाउरा प्रयोग गर्ने गरेका छन्। सबैभन्दा कम बागमतीका २९ प्रतिशत परिवारले खाना पकाउन दाउरा प्रयोग गर्छन्। बागमतीका ६९.८ प्रतिशत परिवारले खाना पकाउन एलपी ग्यास प्रयोग गर्छन्।
खाना पकाउन बिजुली प्रयोग गर्ने घरपरिवार ३२ हजार ५७४ (०.५० प्रतिशत) पुगेका छन्। २०६८ को जनगणना अनुसार, खाना पकाउन बिजुली प्रयोग गर्ने परिवार ०.०८ प्रतिशत मात्रै थिए।
जनगणनाको प्रतिवेदनले ९२.२ घरपरिवारले बत्ती बाल्न विद्युत् प्रयोग गरेको देखाएको छ। १० वर्षअघि ६७.२ प्रतिशत घरपरिवारले मात्रै विद्युत् प्रयोग गर्ने गरेको देखिएको थियो। यद्यपि, कर्णाली प्रदेशका झण्डै आधा घरपरिवारमा अझै पनि विद्युत्को पहुँच पुगेको छैन। कर्णालीका ४७.९ प्रतिशत घरपरिवारले उज्यालोका लागि सोलार ऊर्जा प्रयोग गर्छन्।