स्वतन्त्र र निष्पक्ष न्यायप्रणालीमा सहभागिता जनाउन प्रधानन्यायाधीको आह्वान
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले स्वतन्त्र, निष्पक्ष, सक्षम र प्रभावकारी न्यायप्रणाली विकास गर्ने प्रक्रियामा सक्रिय सहभागिताका लागि आह्वान गरेका छन् ।
न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना (२०७६/७७–२०८०/८१) सार्वजनिक गर्दै उनले योजनाको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित सबै सरोकारवाला निकायबाट सक्रिय सहयोग र समन्वय हुने विश्वास व्यक्त गरेका हुन् ।
प्रधानन्यायाधीश राणाले भने, “तेस्रो राष्ट्रिय सम्मेलनलगायत विभिन्न तहका सरोकारवालाबीच भएका छलफल तथा परामर्श कार्यक्रमबाट प्राप्त पृष्ठपोषण समेतका आधारमा तयार गरिएको हो, यो योजनाप्रति अपनत्व भावको विकास भई योजना कार्यान्वयन पक्ष इमान्दारिताका साथ थप उत्प्रेरित हुने कुरामा म पूर्ण विश्वस्त छु ।”
न्यायपालिकाको सुधार निरन्तर चलिरहने प्रक्रिया भएको र न्यायिक सेवा प्रवाहको स्तरीयता मापनका सम्बन्धमा अन्तर्राष्ट्रियस्तरमा विकसित मापदण्ड र सेवाग्राहीको बढ्दो अपेक्षाले अवसर तथा चुनौती दुवै सृजना गरेको उनले स्पष्ट पारे ।
न्यायपालिकाको सुधारका लागि पाँचवर्षे रणनीतिसहित न्यायपालिकाको सो चौथो पञ्चवर्षीय रणनीतिक योजना आगामी साउन १ गतेदेखि लागू हुँदैछ । न्यायपालिकाको योजनाबद्ध सुधारको प्रयासका रुपमा रहेको न्यायपालिकाको चौथो रणनीतिक योजना प्रस्तुत भएको छ ।