बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिने‚ एमालेले सरकार छाड्दै
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने भएका छन्।
शुक्रबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने तयारी गरेका छन्। चैत ८ गते नै विश्वासको मत लिने भनिए नेपाली कांग्रेसका सांसद उपस्थित नहुने भएपछि निर्धारित समयभन्दा दुई घण्टाअघि सूचना टाँस गरेर बैठक स्थगन गरिएको थियो।
नेकपा (माओवादी केन्द्र)बाट मुख्यमन्त्री भएका जम्मकट्टेलले यसअघि गत माघ ३ गते विश्वासको मत लिएका थिए। त्यति वेला उनलाई कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टी गरी ६ वटा दलका सांसदहरूले विश्वासको मत दिएका थिए। नेपाल मजदूर किसान पार्टीका सांसद विपक्षमा रहेका थिए।
सरकारमा रहेको नेकपा (एमाले)ले आजै सरकारबाट बाहिरिने तयारी गरेको छ। आज बस्ने प्रदेश सभा बैठकमा आफ्नो धारणा राखेर आफ्नो दलबाट मन्त्री भएकाहरूले राजीनामा दिने बागमती प्रदेश सभा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बताएका छन्। राप्रपाले फागुन १३ गते नै सरकार छाडिसकेको छ।