कोशी प्रदेश पुनः नामाङ्कन आन्दोलनमा घाइते लिम्बूको निधन
कोशी प्रदेशको पुनः नामाङ्कनको माग गर्दै भएको प्रदर्शनमा प्रहरीको लाठी प्रहारबाट घाइते पदम लिम्बू (लाजेहाङ)को निधन भएको छ।
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा लिम्बूको बिहीबार राति साढे २ बजे निधन भएको प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले जनाएको छ।
समितिको आयोजनामा चैत ५ गते कोशी प्रदेशको राजधानी विराटनगरमा प्रदेशको पुनः नामाङ्कनको माग सहित प्रदर्शन भएको थियो। त्यही वेला प्रहरीको लाठी प्रहारबाट लिम्बूको टाउकोमा चोट लागेको थियो। घरमै आराम गरिरहेका लिम्बू बेहोस भएपछि बुधबार राति १२ बजे प्रतिष्ठानमा भर्ना गरिएको थियो।
संघर्ष समितले चैत्र १० गते विज्ञप्ति जारी गर्दै सरकारले लिम्बूको हत्या गरेको आरोप लगाएको छ। विज्ञप्तिमा उल्लेख छ‚ ‘मुक्ति योद्धा लाजेहाङ लिम्बूको हत्याको जिम्मा प्रदेश १ लाई षड्यन्त्रमूलक ढङ्गले कोशी नाम राख्ने ८२ जना सांसदहरू, पार्टीहरू, मुख्यमन्त्री हिक्मत कार्की र वर्तमान प्रधानमन्त्री एवम् नेपाल प्रहरीले लिनुपर्दछ।’ समितिले घटनाको अनुसन्धान गर्न छानबिन आयोग गठन‚ दोषीलाई कारबाही र लिम्बूलाई शहीद घोषणा गर्न माग गरेको छ।
धरानमा बसोबास गर्दै आएका ४२ वर्षीय लिम्बू संघीय लिम्बुवान प्रान्तीय मञ्चका सचिवालय सदस्य थिए। उनी २०६२ सालदेखि नै लिम्बुवान आन्दोलनमा आबद्ध थिए।