सामसङका ग्यालेक्सी ए-३४ र ए-५४ नेपाली बजारमा उपलब्ध हुने
सामसङको नयाँ ग्यालेक्सी ए-सिरिजका स्मार्टफोन नेपाली बजारमा उपलब्ध हुने भएका छन्।
विश्वबजारमा बिक्री शुरू भएको सामसङ ग्यालेक्सी ए-३४ र ग्यालेक्सी ए-५४ छिटै नेपाली बजारमा आउन लागेको आधिकारिक वितरक कम्पनी आईएमएसले जनाएको छ। सामसङ नेपालको आधिकारिक सामाजिक सञ्जालका प्लेटफर्ममा मोबाइलका टिजर पोस्ट शुरू गरिएको छ।
नयाँ ग्यालेक्सी ए-३४ र ग्यालेक्सी ए-५४ दुवै मोबाइल फोन फाइभ-जी प्रविधिमा आधारित छन्। तीन लेन्सयुक्त रेअर क्यामरा र नाइटोग्राफी जस्ता मुख्य विशेषता भएका यी स्मार्टफोनमा आठ एमपीको अल्ट्रावाइड एंगल लेन्स पनि जडित भएको जनाइएको छ।
ब्लर कम भएको रात्रिकालीन फोटो/भिडिओ, पिक्सेल अटोफोकसका साथ गुणस्तरीय फोटोग्राफी यी मोबाइलका विशेषता रहेको जारी विज्ञप्तिमा उल्लेख छ। यी फोनहरू बलिया भएको तथा पानी र धूलो प्रतिरोधक प्रविधि प्रयोग गरिएको जनाइएको छ। यी मोबाइलमा पाँच वर्षको सुरक्षा अद्यावधिक सुविधा तथा चार वर्षको ओएस अपग्रेड ग्यारेन्टी दिइएको छ।