खोलै सुकाएर विद्युत् उत्पादन
खोटाङको ६.६ मेगावाट क्षमताको साप्सु खोला जलविद्युत् आयोजनाले विद्युत् उत्पादनका क्रममा खोलै सुकाएर पानी प्रयोग गरेको पाइएको छ।
हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीस्थित साप्सु खोलाबाट विद्युत् उत्पादन गर्ने क्रममा आयोजनाको प्रवर्द्धक कम्पनी थ्री-स्टार हाइड्रोपावर कम्पनी लिमिटेडले सिङ्गो खोला नै फर्काएर पानी प्रयोग गरिरहेको पाइएको हो। कम्तीमा १० प्रतिशत पानी खोलामा छाड्नुपर्ने भए पनि सबै पानी ड्यामतर्फ लगेको पाइएको खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले बताए।
जलविद्युत् आयोजनाका लागि राजापानीकै बसुवास्थित साप्सु खोलामा बाँध बनाइएको छ। बाँधभन्दा मुनि खोलामा बग्ने गरी पानी छाडिएको छैन। विद्युत् उत्पादनका क्रममा खोलै सुकाएपछि पर्यावरणमा असर पुगिरहेको छ।
“आयोजनाको कामको अनुमति लिने वेला खोलामा जति पानी छोड्नुपर्छ भनेर निर्देशन दिइएको थियो वा सहमति भएको थियो, त्यस अनुसार पानी छाड्नुपर्छ। अथवा आईईई गर्दाखेरी खोलामा जति पानी छोड्ने सम्झौता थियो, त्यही बराबरको पानी छाड्नुपर्छ,” प्रजिअ सेढाईंले भने।
आयोजनाले आवश्यक पानी नछोडेको उनले बताए। प्रजिअ सेढाईंले भने, “सामान्यतया कम्तीमा १० प्रतिशत पानी खोलामा छाड्नुपर्ने हुन्छ। तर, अहिले त एक प्रतिशत पनि छाडेको छैन। कमिला वारपार गर्ने अवस्था छ।”
२०७८ मंसीर १४ गतेदेखि परीक्षण उत्पादन शुरू गरिएको जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत २०७८ पुसमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो। हिउँद याममा खोलामा पानीको बहाव घटेका कारण थ्री-स्टार हाइड्रोपावर कम्पनीले खोलै फर्काएको देखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए।
त्यस्तै, साप्सु खोला जलविद्युत् आयोजनाको डिसेन्डर, नहर र जलाशय वरपर तारबार लगाइएको छैन। जसले गर्दा मान्छे तथा जनावर सहजै जान सक्ने र जलाशयमा डुब्ने खतरा भएकाले धराप थापे जस्तो बनेको स्थानीय बासिन्दा बताउँछन्।
स्थानीय बासिन्दाको गुनासोपछि प्रजिअ सेढाईंले कम्पनीका प्रोजेक्ट इन्चार्ज प्रदीप दाहाललाई १५ दिनभित्र घेराबार लगाउन निर्देशन दिएको बताए।
प्रोजेक्ट इन्चार्ज दाहालले कमजोरी स्वीकार्दै अधुरो कामलाई पूर्णता दिने बताए। “खोला फर्काए पनि ग्राभेल फ्लसिङ र डिसेन्डरबाट पानी छाडेका छौं। तर, मापन गर्ने उपकरण नहुँदा केही तलमाथि हुनसक्छ,” उनले भने।
करीब एक अर्ब ५० करोडमा साप्सु खोला जलविद्युत् आयोजनाको काम सम्पन्न भएको हो। चार किलोमिटर टाढा खोलाबाट ल्याइएको पानीलाई बेलडाँडाबाट ११० मिटर पेनस्टक मार्फत प्रतिसेकेन्ड सात हजार लिटर पानी खसाएर विद्युत् उत्पादन गरिएको हो।
राजापानीको बेलडाँडास्थित विद्युत्गृहबाट उत्पादित विद्युत् २.५ किलोमिटरमाथि पुरानो गाउँमा निर्माण गरिएको सब-स्टेशन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।