पानी व्यवस्थापनमा चुलिंदो चुनौती
परम्परागत पानी संरक्षणका विधि र प्रक्रियालाई त्याग्दै जाँदा पानीको सङ्कट त थपिएको छ नै, व्यवस्थापनका चुनौती पनि चुलिँदै गएका छन्।
ऐतिहासिक अन्वेषक डा. साफल्य अमात्यले पानीलाई लिएर पुस्तक लेखेका छन्, पानी र संस्कृति। मानिसको जन्मदेखि मृत्युपर्यन्त पानीको महत्त्व उल्लेख गरिएको पुस्तकमा नेपालभर नै विभिन्न समुदाय र सम्प्रदायमा पानी संरक्षणका आआफ्ना पद्धति रहेको खुलाएका छन्। त्यससँग नेपाली समाज पनि जोडिंदै आएको छ।
जस्तो- धारा, कुवा खनाउने, पोखरी बनाउने, गाउँघरमा वरपीपल रोप्ने परम्परा नेपाली समाजमा सर्वत्र थिए। विभिन्न कालका शासकहरू मन्दिर तथा धार्मिक स्थलका अतिरिक्त धारा, कुवा र पोखरी खनाउन लागिपर्थे। पुण्य प्राप्त हुने अपेक्षामा गरिने यस्ता काममा सर्वसाधारण पनि जोडिन्थे।
भक्तपुरको ब्याँसीस्थित महाकाली मन्दिर छेउको पुँला हिति (ढुङ्गे धारा) पनि त्यसकै एक उदाहरण हो। एउटी महिलाले कपास कातेर बनाएको धागो बापत प्राप्त रकमबाट पुँला हिति बनाउन लगाएको नजिकै रहेको शिलालेखमा उल्लेख छ।
नेवारी संस्कृति अन्तर्गत काठमाडौं उपत्यकामा बनेका हिति, पुखुहरू अझै पनि केही प्रयोगमा छन्। काठमाडौं बाहिर पनि धारा र पोखरी देख्न सकिन्छ। अझ जनकपुरधाम तथा तराई-मधेशका पोखरी र अन्य जलसम्पदाका आआफ्नै इतिहास र गौरव छन्।
परम्परागत भनेर बेवास्ता गरिएका यी महत्त्वपूर्ण काम फेरि गर्न थालिएका छन्, गाउँ-शहरमा। जल भण्डारणका लागि पोखरी निर्माण गर्ने क्रम पछिल्लो समय बढ्दै गएको छ। गत एक दशकमा बाटो निर्माणमा धेरै खर्चेका स्थानीय सरकारहरू पनि पर्यावरण संरक्षण र दिगो विकासको महत्त्व बुझेर जल व्यवस्थापनलाई प्राथमिकतामा राख्न थालेका छन्।
यसमा व्यक्तिगत पहलकदमी पनि चलिरहेका छन्। पूर्वाधार तथा पुरातत्त्वका क्षेत्रमा संलग्न विज्ञ जीवराज पोखरेल हाल पूर्वी नेपालमा पोखरी निर्माणमा संलग्न छन्। उनकै पहलमा खोटाङमा ७५ र महोत्तरीमा १०१ पोखरी खनाइसकेको तथ्य सार्वजनिक भएको छ। संस्थागत प्रयासमा काठमाडौंको रानीबारी क्षेत्रमा पानीको कृत्रिम पुनर्भण्डारण गर्न संरचना बनाइएको छ जसका कारण वरपरका सुक्दै गएका इनारमा समेत पानी आउन थालेको स्थानीय बताउँछन्।
अहिले पनि काठमाडौं उपत्यकामा विशेष गरी भक्तपुरमा सिथिनखका दिन पानीका स्रोत धारा, इनार, पोखरी सफा गर्ने चलन कायमै छ। यो चाड जेठको कुमारषष्ठीका दिन मनाइन्छ। त्यतिखेर इनार, धारा, पोखरीमा पानीको तह निकै घट्ने हुनाले सरसफाइ गरेर वर्षभरिका लागि जोगाउने गरिन्छ। यसै दिनलाई पछि आएर विभिन्न संघसंस्थाको पहदमा ‘नेपाल पानी दिवस’ का रूपमा मनाउन थालिएको छ।
विश्वमञ्चमा केही दशकदेखि चर्चा हुँदै आएको एकीकृत पानी व्यवस्थापन हामीकहाँ भने मल्लकालमै भएको पाइन्छ। एकीकृत पानी व्यवस्थापनमा हाम्रो परम्परागत ज्ञान जोडिएको छ। जस्तो- भक्तपुरको नगरकोटमाथिको महादेवपोखरीबाट ल्याइएको पानी कुलो मार्फत खेतमा सिंचाइ गर्न, घट्ट चलाउन, माछा पाल्न अनि पिउने पानीका रूपमा प्रयोग भएको थियो। यो ऐतिहासिक पृष्ठभूमिले पानीको बहुउपयोगितामा जोड दिन्छ।
पछिल्लो समय ‘मल्टिपल युज सिस्टम’ का रूपमा विकासे शब्दावली एकीकृत व्यवस्थापनकै नजिक रहेको छ। स्रोतको पानीको अधिकतम प्रयोग होस् भन्ने हेतुले विभिन्न प्रयोजनमा पानीको प्रयोग बढाउन थालियो। जलस्रोत ऐनले निर्धारण गरे अनुरूप पहिलो प्रयोग पिउने पानीका लागि, त्यसपछि सिंचाइ अनि अन्य काममा प्राथमिकता निर्धारण गरियो।
पानीको यही बहुउपयोगितालाई ध्यानमा राखेर आज अर्थात् मार्च २२ मा विश्व पानी दिवस मनाइन्छ। सन् १९९३ बाट मनाउन थालिएको यो दिवसले तीन दशकको समयरेखा पार गर्दैगर्दा पानी व्यवस्थापन र दिगोपनाको बहस धेरै कोणबाट उठिसकेको छ।
उसो त नब्बेको दशकको प्रारम्भमै यी दुई विषयबीचको अन्तर्सम्बन्धबारे चर्चा हुन थालेको हो। आयरल्यान्डको डब्लिनमा सन् १९९२ मा सम्पन्न सम्मेलनले पानीसँगका चार सन्दर्भलाई डब्लिन सिद्धान्तका रूपमा लिपिबद्ध गरेको थियो। जसमा पानीलाई सीमित सम्पदाका रूपमा लिनुपर्ने, पानी व्यवस्थापनमा विभिन्न तहका सरोकारवालाको सहकार्य आवश्यक रहने, पानी व्यवस्थापनमा महिलाको भूमिकालाई विशेष स्थान दिनुपर्ने र पानीलाई आर्थिक वस्तुका रूपमा स्विकार्नुपर्ने उल्लेख छन्। त्यो वेला हामीकहाँ पानीको किनबेच नौलो मानिन्थ्यो। घर घरमा जारको पानी बिक्रीवितरण शुरू भएको थिएन।
यसैबीच सहस्राब्दी विकास लक्ष्य भेट्टाउन संघर्षरत रह्यौं, हामी। नेपाल जस्ता देश यस लक्ष्य अन्तर्गतका कैयौं सूचकको छेउछाउमै पुग्न सकेनन्। पिउने पानीसँगै शौचालय, सरसफाइ र स्वास्थ्य पनि एकीकृत रूपमा व्यवस्थापन भए मात्र ‘मर्यादित जीवन सम्भव छ’ भन्ने मनन गर्दै ‘वास’ बहसमा भित्रियो।
त्यसपछि सन् २०१५ बाट दिगो विकास लक्ष्य चर्चामा आयो। अहिले सन् २०३० सम्म सबैका लागि स्वच्छ पिउने पानी उपलब्ध गराउने सङ्कल्प गर्दै दिगो विकास लक्ष्य अन्तर्गतको छैटौं बुँदा पानी व्यवस्थापनको क्षेत्रमा विशेष चर्चामा छ।
केही दशकअघिसम्म काठमाडौं उपत्यकामा ढुङ्गे धारा पिउने पानीका भरपर्दा माध्यम थिए। जलभण्डार र आगलागी नियन्त्रणका लागि पोखरी महत्त्वपूर्ण स्रोत मानिन्थे। बढ्दो शहरीकरणसँगै पानी व्यवस्थापनमा चुनौती थपिंदै छन्। पानीका मुहान सुक्दै गएका छन्।
जसले गर्दा पानीकै कारण झैझगडा र द्वन्द्वका घटना समाचारमा आउन थालेका छन्। स्थानीय स्तरमा समाधान हुन नसक्दा पानी विवाद अदालतसम्म पुगेका घटना छन्। पानीकै अभावमा बसाइँ सर्नुपरेको सुुनिंदै आएको छ।
केही वर्षअघि भोजपुरको रामप्रसाद राई गाउँपालिकाको मानेभञ्ज्याङका ५६ परिवार पानीकै अभावमा अन्यत्र बसाइँ सरे। एक दशक पहिले नै राष्ट्रिय योजना आयोगको एउटा अध्ययनले सुक्खाका कारण पाँचथरको यासोकबाट झापा, मोरङ र सुनसरी तथा गुल्मीका दुर्गम गाउँबाट बुटवलमा बसाइँसराइ बढ्दै गएको देखाएको छ।
पानीको आपूर्ति र ढल व्यवस्थापनमा जटिलता थपिएको छ। ढल मिसाएर नदी सभ्यतामाथि नै प्रहार गर्ने क्रम रोकिएको छैन। अहिलेको अवस्थामा शहर केन्द्रित बढ्दो जनघनत्वको अवस्थामा ढल व्यवस्थापन एकदमै चुनौतीपूर्ण देखिन्छ। जलवायु परिवर्तनसँगै आएका अरू चुनौती छन्, जसलाई झेल्न अझ हामी जस्ता प्राविधिक र आर्थिक रूपमा कमजोर देशका लागि कठिन छ। हरेक थोपाको महत्त्वलाई ध्यानमा राखेर प्रशोधन मार्फत पानीको पुनःप्रयोगमा जोड दिंदै त्यसै अनुरूपको प्रविधि र बानीव्यवहार अपनाउनु आवश्यक छ।
यस्तो अवस्थामा पानी व्यवस्थापन र सङ्कट समाधानका लागि ‘नेक्सस एप्रोच’ ( गठजोड दृष्टिकोण)को कार्यान्वयन आवश्यक भइसक्यो। यो दृष्टिकोण हाम्रो हकमा नयाँ शब्दावली हो। तर, अत्याधुनिक प्रविधि र व्यवस्थापनमा आएका सङ्कटसँग जुध्न यो दृष्टिकोण अपरिहार्य भइसकेको छ।
यस्तो वेला पानी व्यवस्थापनमा उद्यमशीलता अलि पछि परेको छ। ‘वेस्ट पानी’ जस्ता केही उद्यमशील संस्था छन्, वर्षेपानी सङ्कलनका क्षेत्रमा काम गर्ने। तर, प्राविधिक र दक्ष मानवस्रोत सहित सिंचाइ, खानेपानी लगायत अन्य क्षेत्रमा पनि यस्ता संस्थाको उल्लेख आगमन र दिगो उपस्थिति आवश्यक छ।
तथ्याङ्कहरूमा एकरूपता, विश्वसनीयता अर्को समस्या हो। यसकै कारण एकातिर समस्या खुट्याउन र हस्तक्षेप गर्न चुकेका छौं भने अर्कातर्फ दाताहरूको नजरमा विश्वासको सङ्कटमा छौं।
आजबाट संयुक्त राष्ट्रसंघको पहलमा तीनदिने पानी सम्मेलन हुँदै छ। यस वर्षको विश्व पानी दिवसको नारा ‘पानी र सरसफाइको सङ्कट समाधानका लागि परिवर्तनको गति बढाउँदै’ भन्ने छ। हामीकहाँ पनि यो पूर्वसन्ध्यामा समसामयिक छलफल र अन्तरक्रिया भइरहेका छन्।
पिउने पानीको बढ्दो माग र व्यवस्थापनको विकराल समस्याबीच संस्कारी पाराले मनाइने यो पानी दिवसले आम जीवनमा कतै छुन सक्ला त? बाक्लै छ संशयको बादल। कलेरिजले अठारौं शताब्दीको अन्त्यतिर लेखेको कवितांश ‘पानी पानी जताततै पानी, पिउनलाई छैन एकथोपा पानी’ आउँदा दशकमा पनि उत्तिकै सान्दर्भिक लाग्नेछ।