कांग्रेसका सांसद काठमाडौंबाट नफर्केपछि प्रदेश सभाको बैठक सूचना टाँसेर स्थगित
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने भएपछि बोलाइएको बागमती प्रदेश सभा बैठक सूचना टाँसेर स्थगन गरिएको छ।
प्रदेश सभा सचिवालयले चैत ८ गते साँझ सूचना टाँसेर प्रदेश सभाको बैठक स्थगन भएको जनाएको छ। प्रदेश सभाका सचिव कृष्णहरि खड्काले ‘विशेष कारणवश’ सभामुख भुवनकुमार पाठकले बैठक स्थगन गरेको जनाएका छन्।
नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा नेकपा (माओवादी केन्द्र)का नेता जम्कट्टेल मुख्यमन्त्री नियुक्त भएका थिए। राष्ट्रपति निर्वाचनलाई लिएर गत फागुन १२ गते माओवादी सहित नेपाली कांग्रेस लगायतका दलको गठबन्धन बनेपछि राप्रपा प्रदेश सरकारबाट बाहिरिएको थियो।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। त्यही आधारमा मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिने तयारी थियो।
यस्तो वेला मुख्यमन्त्री जम्कट्टेलले कांग्रेसको साथ खोजेका थिए। कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको थियो।
तर, कांग्रेस सांसदहरू काठमाडौंमै छन्। उनीहरू प्रदेश सभा बैठकमा सहभागी हुन हेटौंडा आएनन्।
कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले एमाले सरकारबाट बाहिरिएपछि मात्रै विश्वासको मत दिने मुख्यमन्त्री जम्कट्टेललाई जानकारी दिएका थिए। एमाले सरकारबाट नबाहिरिएका कारण उनीहरू काठमाडौंबाट हेटौंडा नआएको जनाइएको छ।
सरकारमा सहभागी रहेको एमालेले के गर्ने भन्ने तय गरेको छैन। प्रदेश सभा बैठकमा आफ्ना धारणा राखेर मात्र मन्त्रीले सरकारबाट राजीनामा दिने एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए।
यही विवादका बीच चैत ८ गते अपराह्न ३ बजे बोलाइएको प्रदेश सभाको बैठक स्थगन गरिएको छ। प्रदेश सभाको अर्को बैठक चैत १० गते अपराह्न १ बजे बस्ने गरी तय गरिएको प्रदेश सभाका सचिव खड्काले जनाएका छन्। प्रदेश सभाको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको छ।