प्रधानमन्त्रीको विरोध गरेका तीनै युवामाथि मुद्दा चलाउने तयारी
प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी कार्यक्रममा विरोध गर्दा पक्राउ परेका तीन जना युवा विरुद्ध प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले हिरासतमा राखेर अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिदिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले बताए। “अरूले आयोजना गरेको कार्यक्रममा गएर नाराबाजी गर्दै होहल्ला गरेकाले अभद्र व्यवहारमा मुद्दा चलाउन म्याद थप भएको हो,” एसपी रिजालले हिमालखबरसँग भने।
चैत ७ गते काठमाडौंको नयाँ बानेश्वरमा अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको कार्यक्रममा प्रधानमन्त्री दाहाल पुग्ने बित्तिक्कै केही युवाले नाराबाजी गरेपछि प्रहरीले मुख थुनेर उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
एसपी रिजालका अनुसार, पक्राउ पर्नेमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बाग्लुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्का छन्। प्रहरीले उनीहरू स्वतन्त्र अभियन्ता समूहमा आबद्ध रहेको दाबी गरेको छ। यो कस्तो समूह हो भन्ने चाहिं खुलिनसकेको एसपी रिजालले बताए।
सामाजिक सञ्जालमा ती युवाले ब्यांकको ब्याजदर घटाउन माग गर्दै सरकारको विरोध गरेको भिडिओ सार्वजनिक भएको थियो। नारा लगाउने बित्तिकै प्रहरीले उनीहरूको मुख थुनेर भ्यानमा राखेको थियो।
ब्यांकको ब्याजदर घटाउन माग गर्दै केही व्यापारीले विरोध गर्दै आएका छन्। आन्दोलनरत व्यापारी र यी युवाबीच साइनो रहे/नरहेको खुलिनसकेको एसपी रिजालले बताए। यद्यपि, नागरिकको अभिव्यक्ति स्वतन्त्रता र विरोध गर्न पाउने अधिकारमाथि बन्देज लगाएको भन्दै प्रहरी कदमको विरोध भइरहेको छ।