नेपालसम्म धक्का महसूस भएको अफगान भूकम्पमा १३ को मृत्यु, सयौं घाइते
नेपालसम्म धक्का महसूस हुने गरी अफगानिस्तानमा गएको भूकम्पमा परी १३ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन्।
गएराति अफगानिस्तानको जुर्म शहरबाट ४० किलोमिटर दक्षिण–पूर्वमा केन्द्रबिन्दु भएर ६.५ म्याग्निच्यूडको भूकम्प गएको थियो। भूकम्पले अफगानिस्तान र पाकिस्तानका विभिन्न क्षेत्रमा क्षति पुगेको छ भने यसको धक्का भारत र नेपालमा पनि महसूस गरिएको थियो।
भूकम्पमा परी मृत्यु हुनेको संख्या १३ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। भूकम्पबाट उत्तरी पाकिस्तानमा नौ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएको सरकारी अधिकारीहरूले जनाएका छन्।
त्यस्तै, अफगानिस्तानमा चार जनाको मृत्यु भएको र ५० जना घाइते भएको विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन्। उनीहरूले समाचार संस्था रोयटर्सलाई दिएको जानकारी अनुसार थप विवरण आउने क्रम जारी रहेको छ।
भूकम्पको धक्का एक हजार किलोमिटर टाढासम्म महसूस गरिएको छ। अफगानिस्तान र पाकिस्तानसँगै भारत, उज्वेकिस्तान, ताजकिस्तान, काजखस्तान, किर्गिस्तानसम्म पनि धम्का महसूस गरिएको छ।
शक्तिशाली भूकम्प गएको केही समयमै ३.७ म्याग्निच्यूडको पराकम्प गएको छ। जसले भूकम्पले क्षति पुगेका भवन भत्किएको पाकिस्तानका अधिकारीहरूले जनाएका छन्। यसको प्रभावले पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा पहिरो समेत गएका छन्।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भूकम्पपछि देशका विपद् व्यवस्थापन अधिकारीहरूलाई सतर्क रहन आग्रह गरेका छन्।