ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु
नेपालगञ्जबाट दैलेखका लागि ग्यास सिलिन्डर बोकेर आउँदै गरेको ट्रक दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु भएको छ।
ग्यास सिलिन्डर बोकेको भे १ क २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका- ४, तालपोखरी मोडमा दुर्घटना भएको हो। तीन जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दीपकसिंह विष्टले बताए।
घटनास्थल पुगेका अस्थायी प्रहरी चौकी रानीमक्ताका प्रहरी सहायक इन्चार्ज मोहन पुजराका अनुसार, मृत्यु हुनेमा बाँकेका २९ वर्षीय चालक कृष्ण चौधरी, ट्रकमा यात्रारत दाङका १८ वर्षीय विष्णु चौधरी र २७ वर्षीय लछिराम चौधरी रहेका छन्।
तालपोखरी झर्ने बाटोमा ‘ब्रेक फेल’ भई माथिल्लो सडकबाट करीब १५० मिटर तलको सडकमा खसेको स्थानीयले बताएका छन्। ओरालो सकिएर मोडमै आइपुग्दा चालकले ब्रेक लागेन भनेपछि सहचालक सल्यान कुपिण्डेदह गाउँपालिका-७ का २८ वर्षीय प्रकाश कुमाईंले सडकमा हाम फालेर ज्यान जोगाएको प्रहरीको भनाइ छ।
दुर्घटनाको कारण, घटनास्थलको अवस्था, अनुसन्धान र मृतकहरूको शव उठाउन जिल्ला सदरमुकामबाट प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताए।