नेपालमा भेटिए दुई नयाँ प्रजातिका चमेरा
नेपालमा चमेराका दुई नयाँ प्रजाति फेला परेका छन्। इलाममा ‘हार्पियोसिफलस हार्पिया’ र मकवानपुरमा ‘सिलप्स फ्रिथी’ प्रजाति चमेरा भेटिएका हुन्।
प्राणीशास्त्री दिव्यराज दाहालको टोलीले ‘हार्पियोसिफलस हार्पिया’ र ‘सिलप्स फ्रिथी’ नामको चमेरो प्रजाति फेला पारेको हो। सिलप्स फ्रिथी प्रजातिका चमेरो भने आईयूसीएनको रातो किताबमा जोखिम निकट अवस्थमा रहेको उल्लेख छ।
सिलप्स फ्रिथी मकवानपुरको राक्सिराङमा भेटिएको हो। दाहालले भने‚ “मकवानपुरको राक्सिराङमा भेटिएको यो चमेरो संसारको सबैभन्दा पूर्वको स्थानमा देखिएको हो।”
यस प्रजातिका चमेरो दक्षिणएशियामा देखिएको पाँचौं प्रमाण हो। अहिलेसम्म यो प्रजाति इन्डोनेशियाको बालीमा देखिएको थियो। सिलप्स फ्रिथी प्रजातिका चमेरो संवेदनशील हुन्छ। यसले कुनै पनि प्रकारको दबाब सहन सक्दैन भन्ने विभिन्न अध्ययनबाट देखिएको छ। यस प्रजातिको चमेराको कान सोली जस्तै हुन्छ।
हार्पियोसिफलस हार्पिया प्रजातिको चमेरो इलामको सन्दकपुरको माईखोला किनारामा भेटेको हो। यसको पखेटाभरि रौं हुन्छ। माईखोला क्षेत्रमा यस प्रजातिसँगै अन्य तीन प्रजातिका चमेरा भेटिएको दाहालले बताए।
दाहालसँगै सञ्जन थापा, सुरज बराल, तेजबहादुर थापा र नन्दबहादुर सिंहको अनुसन्धानपत्र जर्मनीबाट प्रकाशिन हुने डि ग्रुइटरको म्यामलिया जर्नलको सन् २०२२ अप्रिलमा प्रकाशित भएको थियो। अनुसन्धानपत्रको शीर्षक ‘फर्स्ट रेकर्ड अफ इस्ट एशियन टेललेस लिफ–नोस्ड ब्याट (सिलोफल फ्रिथी) फ्रम नेपाल एन्ड एक्सटेन्सन अफ इट्स ग्लोबल रेन्ज’ रहेको छ।
हार्पियोसिफलस हार्पिया एउटा मात्र प्रजाति भएको वर्ग हो। यो चमेरो प्रजाति एशियाका १० वटा मुलुकमा मात्र पाइएको छ। बाह्य आवरणको विस्तृत अध्ययनमा यो प्रजाति मुरिना प्रजातिभन्दा भिन्न रहेको र हार्पियोसिफलस हार्पिया भएको पुष्टि भयो। यसको शरीर तुलनात्मक रूपले ठूलो हुन्छ, थुतुनो सानो हुन्छ भने खुट्टामा बाक्लो रौं हुन्छ।
हार्पियोसिफलस हार्पिया यसअघि भेटिएको स्थानभन्दा झण्डै ४०० किलोमिटर पश्चिममा पाइएकाले यसको विस्तार भएको सङ्केत मिलेको छ। जुन प्राणीशास्त्रीहरूका लागि महत्त्वपूर्ण समाचार हो। यो प्रजाति भुटान, कम्बोडिया, चीन, भारत, इन्डोनेशिया, लाओस, मलेसिया, फिलिपिन्स, थाइल्यान्ड र भियतनाममा पाइएको छ।
हार्पियोसिफलस हार्पिया एक्लै बस्न रुचाउने प्रजाति हो। यसको मुख्य वासस्थान पहाडी घना जङ्गल हो जुन पानीको स्रोत वा खोला नजिकै हुन्छ। यसको मुख्य आहारा कमिला‚ खपटे कीरा हुन्। हार्पियोसिफलस हार्पियाको संख्या गणना र विस्तृत पर्यावरणीय अध्ययन हुन बाँकी छ।
मकवानपुरको सिलिङमा पहिलो र इलामको सिस्नेमा दोस्रो पटक हार्पियोसिफलस हार्पिया देखिएको हो। यो प्रजाति मकवानपुरमा देखिनुलाई महत्त्वपूर्ण मानिएको छ। किनभने यसअघि यहाँभन्दा ४०० किलोमिटर पश्चिममा पाइएको थियो।
अर्को अनुसन्धानपत्र स्पेनिस एशोसिएशन फर द कन्जर्भेशन एन्ड रिसर्च अफ ब्याट (एसईसीईएमयू)को जर्नलमा सन् २०२२, अक्टोबरमा प्रकाशित भएको थियो। ‘फर्स्ट रेकर्ड अफ द हेयरी–विंग्ड ब्याट (हार्पियोसिफलस हार्पिया) फ्रम नेपाल’ शीर्षकको अनुसन्धानका लागि दिव्यराज दाहाल, सञ्जन थापा, रामेश्वर घिमिरे, ग्याबर ई. सोर्बा र नन्दबहादुर सिंहको टोलीको संलग्न थियो।
अचम्मको प्राणी
वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ चमेरोलाई अचम्मको प्राणी मान्छन्। “यो हावामा उड्छ, तर चरा होइन। रातमा चहार्छ, तर लाटोकोसेरो होइन,” उनी भन्छन्, “हामी अँध्यारोमा टर्च बालेर प्रकाश छरेपछि सबै छर्लङ्ग देख्छौं तर चमेराले भने आफ्नो कण्ठको ध्वनि र प्रतिध्वनिका माध्यमबाट हरेक कुरा ठम्याउँछ।”
मुसा, खरायो, स्याल, बाँदर वा मान्छे जस्तै स्तनधारी प्राणी हो‚ चमेरो। चमेरोले बच्चा जन्माउँछ, बच्चालाई दूध चुसाउँछ। यसको शरीरमा रौं हुन्छ। प्वाँख हुँदैन। बच्चालाई गुँडमा नै छाडेर पोथी चमेरो एक्लै उडेर कतै जान पाउँदैन। उसले आफ्नो बच्चालाई बोकेर उड्नुपर्ने हुन्छ। नहुर्कुन्जेल बच्चा आमाको जिउमा टाँसिएर बस्छ।
सामान्यतया चमेरो खुट्टाका नङ्ग्राले रूखका हाँगाबिंगा वा गुफामा चट्टानलाई च्यापेर मुन्टो तल पारेर झुन्डिएर बस्छ। तर‚ दिसापिसाब गर्दा, भाले लाग्दा तथा बच्चा पाउँदा भने आवश्यकता अनुसार आसन परिवर्तन गर्छ।
संसारका अधिकांश देशमा चमेरा पाइन्छन्। विश्वमा १३ सयभन्दा बढी प्रजातिका चमेरा छन्। “त्यो भनेको सम्पूर्ण स्तनधारी प्राणी प्रजातिको २० प्रतिशत हो,” श्रेष्ठ भन्छन्। कुनै प्रजातिका चमेरा दुई ग्राम जति तौल भएका साना हुन्छन् भने कुनै प्रजाति एक किलो २०० ग्रामभन्दा बढी तौलका हुन्छन्। सबैभन्दा सानो प्रजातिको चमेरा ‘बम्बल बी ब्याट’ थाइल्यान्डमा पाइएको छ। सबैभन्दा ठूलो ‘गोल्डेन क्राउन्ड फ्लाइङ फक्स’ फिलिपिन्समा पाइएको छ।
नेपालमा चमेरा
नेपालमा ५५ प्रजातिका चमेरा पाइएका छन्। जसमध्ये ११ प्रजाति सङ्कटापन्न मानिन्छन्। सर्बाको मुसाकाने चमेरा नेपालमा मात्रै पाइन्छ। नेपालको तराईदेखि पहाडी क्षेत्रसम्म चमेरा पाइन्छन्। डोल्पाको मुकुटमा फेला परेको नै अहिलेसम्म उच्च ठाउँमा पाइएको चमेरा हो। त्यस ठाउँको उचाइ चार हजार १५४ मिटर छ।
तराईमा संख्यात्मक रूपमा धेरै चमेरा पाइए पनि प्रजाति भने कम पाइने प्राणीशास्त्री दाहाल बताउँछन्। “तराईमा अन्य प्राणीको जस्तै चमेराको संख्या अधिक छ भने प्रजातिको संख्या तुलनात्मक रूपमा कम छ,” दाहाल भन्छन्, “पहाडी क्षेत्रमा भने चमेराको प्रजाति बढी पाइन्छ‚ संख्यामा तुलनात्मक सीमितता छ।”
नेपालमा पाइने चमेरालाई उनीहरूले खाने आहाराका आधारमा तीन प्रकारमा बाँड्न सकिन्छ। “फलफूल मात्रै खाने फ्रुजिभोरस, कीराफट्याङ्ग्रा खाने इन्सेक्टिभोरस र मुसा, भ्यागुता, साना चरा तथा चमेरा नै खाने कार्निभोरस,” चीनको ग्वाङ्जाउ विश्वविद्यालयबाट ‘नेपाल तथा चीनका चमेरा प्रजाति’ शीर्षकमा पीएचडी शोध गरिरहेका सञ्जन थापा बताउँछन्। गुफामा बस्ने चमेरा साना खालका हुन्छन् र तिनको आहारा रातमा उड्ने कीरा, लामखुट्टे लगायत साना प्राणी हुन्।
वासस्थान विनाशसँगै नेपालमा स्तनधारी प्राणी चमेरा हराउँदै जान थालेका छन्। चमेरा सङ्कटमा पर्नुको मुख्य कारण मानव अतिक्रमण हो। चमेरा बस्ने अग्ला रूख मासिएर बस्ती बढ्नु र गुफामा मानवीय क्रियाकलाप बढ्दै जाँदा चमेरा सङ्कटमा परेको हो। “आधुनिक निर्माणका कारण मानव बस्तीमा चमेरा भेटिन छोडे। विगतमा काठ, बाँसले बनेका घरको टौवामा चमेरा बस्थे। अब त्यस्ता घर बन्नै छाडे अनि बस्तीमा हुने चमेरा लोप हुँदै गए,” थापा भन्छन्।
गुणी चमेरो
चमेराले परागसेचन गरेर किसान तथा प्रकृतिलाई गुन लगाउने गरेको छ। पाकेको फलफूल खाने शाहाकारी चमेराले वनस्पतिहरूको परागसेचन र बीज वितरण गरी प्राकृतिक रूपमा वनस्पतिहरूको प्रसारमा सहयोग पुर्याउँछ। यसले अम्बा, चिउरी लगायत वनस्पतिको परागसेचनमा सहयोग पुर्याउँछ। यसको विष्टा उत्कृष्ट प्राङ्गारिक मल हो।
“संसारमा विनाशक कीराहरूको संख्या बढिरहेको छ। तिनलाई त कुनै न कुनै रूपमा व्यवस्थापन गर्नु नै पर्ने देखिन्छ,” प्राणीशास्त्री दाहाल भन्छन्, “सो काम चमेराले जैविक रूपमै गरिरहेको छ।” चमेराबाट मान्छेलाई भने कुनै हानिनोक्सानी भएको दृष्टान्त छैन।