समुदायको ‘मिनरल वाटर’ उद्योग
कास्कीको फुर्केटारी सामुदायिक वन उपभोक्ता समूहले गाउँमा मिनरल वाटर उद्योग स्थापना गरेर खेर गइरहेको पानी बिक्री मार्फत आम्दानी गरिरहेको छ।
कास्कीको हेम्जामा रहेको फुर्केटारी सामुदायिक वन उपभोक्ता समूहले खेर गइरहेको पानीलाई सदुपयोग गरेर ‘मिनरल वाटर’ उद्योग स्थापना गरेको छ। उपभोक्ता समूहका सदस्यलाई शेयरहोल्डर बनाएर शुरू गरिएको उद्योगबाट स्थानीयले बर्सेनि लगानीको मुनाफा बुझ्न थालेका छन्। उद्योगका कारण २३ जना स्थानीयले गाउँमा रोजगारी पाएका छन्। वन उद्यममा लगानी गरेका उपभोक्ताको आर्थिक हैसियत पनि फेरिएको छ।
सहभागितामूलक वन संरक्षणमा लागेका स्थानीयले ३० वर्ष पहिले १० हेक्टर क्षेत्रफलमा रहेको वन विस्तार गरेर २८ हेक्टर पुर्याएका थिए। अहिले सोही वनमा मिनरल वाटर उद्योग स्थापना गरेर गाउँको आर्थिक हैसियत बदलेका छन्।
उपभोक्ता समूहकी सचिव रमा त्रिपाठीका अनुसार‚ वन उद्यमको सम्भावित अध्ययनका क्रममा सामुदायिक वनमा पर्ने खानेपानीको मुहानबाट मिनरल वाटर उद्योग स्थापना गर्ने प्रस्ताव गरिएको थियो। उद्योगमा सबै उपभोक्ताले लगानी गर्नुपर्ने अनिवार्य शर्त थियो। दलित र विपन्न समुदायका उपभोक्ताको लगानी गर्न सक्ने हैसियत बनाउन वन समूहले कमजोर आर्थिक अवस्था भएकाहरूलाई जग्गा भाडामा लिई बेमौसमी तरकारी खेती गर्न रकम पनि उपलब्ध गरायो। उपभोक्तालाई आर्थिक अनुदानका लागि अमेरिकी दातृ निकाय यूएसएडको सहयोगमा केयर नेपाल, सामुदायिक वन उपभोक्ता महासंघबाट सहयोग प्राप्त भएको थियो।
सामुदायिक वनको घुम्ती कोषको रकम, गरीब र विपन्न समुदायले तरकारी खेतीबाट आम्दानी गरेको रकम हैसियत अनुसार मिनरल वाटर उद्योगमा लगानी गरे। अहिले उद्योगबाट मुनाफा बुझिरहेका छन्।
मिनरल वाटर उद्योगको शेयरमा लगानी बाहेक बेमौसमी तरकारीबाट भएको आम्दानी कुखुरा र बाख्रापालनमा लगाएका छन्। २०७२ सालमा हरियो वन कार्यक्रमको परामर्शमा बेमौसमी तरकारी खेतीमा लागेकाहरूको आर्थिक हैसियत पनि फेरिएको छ। वन उपभोक्ता समूहका सदस्यहरूले राम्रो आम्दानी गरेको देखेर सात वर्षदेखि हेम्जाका प्रत्येक घरपरिवारले टनेल प्रविधिमा आधारित बेमौसमी तरकारी खेती गरिरहेका छन्। उनीहरूले उत्पादन गर्ने बेमौसमी सिमी, काउली, साग लगायत तरकारीले राम्रो भाउ पाउने गरेका छन्।
“मैले पनि टनेलमा आधारित बेमौसमी तरकारी लगाएको एउटा टनेल टेन्टबाट नै ८२ हजार कमाइ भयो‚” रमा भन्छिन्, “व्यापारीहरू तरकारी लिन यहीं आइपुग्छन्। पोखरा लगे अझ राम्रो मूल्यमा बिक्री हुन्छ।”
आर्थिक स्रोतको व्यवस्था भएपछि वन क्षेत्रमा पर्ने मोहभीर खोलाको पानी हिउँदमा पनि नसुक्ने भएकाले उपभोक्ताले सोही पानी प्रशोधन गरेर बिक्री गर्ने अवधारणा अघि सारिएको थियो। पहराबाट निस्केको पानी भएकाले स्वादिलो र परीक्षणका क्रममा पनि पिउनयोग्य भएको विभिन्न अनुसन्धानले देखाएपछि उपभोक्ता उत्साहित भएर लागे।
“२०६८ सालमा म केयर हरियो वन कार्यक्रमको सहजकर्ता भएर पनि काम गरिरहेको थिएँ। केयर नेपाल र सामुदायिक वनको संयुक्त फिल्ड अनुगमनमा गएको वेला मिनरल वाटर उत्पादन गर्ने विषयमा कुरा राखें,” रमा पुराना कुरा सम्झिन्छिन्, “पानी उद्योगको प्रस्ताव स्वीकृत भयो। तर‚ सबै उपभोक्तालाई शेयर सदस्य बनाउन आर्थिक समस्या देखिएपछि बेमौसमी तरकरी खेतीको कार्यक्रम ल्याएर पानी उद्योगको योजना सफल भयो।”
वन उपभोक्ता समूहका सदस्य बाहेकलाई पानी उद्योगको शेयर सदस्य बनाइएको छैन। उद्योग सञ्चालनका लागि शुरूमा दुई करोड रुपैयाँ लगानी गरिएको थियो। अहिले थप लगानी गरिएको समूहले जनाएको छ। वन उपभोक्ताले आफ्नो आर्थिक क्षमता अनुसार २५ हजारदेखि पाँच लाख रुपैयाँसम्म लगानी गरेका छन्। वन समूहको कोषमा रहेको पाँच लाख पनि उद्योगमा लगानी गरिएको थियो भने सामुदायिक वन उपभोक्ता महासंघले तीन लाख रुपैयाँ र केयर नेपालले २६ वटा टनेल बनाएर स्थानीयलाई उद्योगमा लगानी गर्ने हैसियत बनाइदिएको थियो।
उद्योगमा न्यूनतम १० देखि २२ हजार मासिक तलबमा कार्यरत २३ जना कर्मचारी छन्। तर पनि, उद्योगले लगानीकर्तालाई मुनाफा वितरण गरिरहेको छ। उद्योगले प्रगति गरेको देखेर हेम्जा आसपासमा राम्रो आर्थिक हैसियत भएकाहरूले आफूहरूलाई पनि लगानी गर्ने अवसर दिन आग्रह गरेका थिए। तर‚ उपभोक्ता बाहेकलाई संलग्न गराउन नसक्ने समूहको विधानमा प्रावधान भएकाले उनीहरूको प्रस्ताव अस्वीकृत भएको छ।
उद्योगबाट प्रतिमहीना २० हजार बोतल मिनरल वाटर उत्पादन हुन्छ। वन समूहले गर्मी महीनामा पानीको माग धान्न सक्दैन। वन समूहका तीन वटा गाडी र बाहिरका दुई गाडी प्रयोग गरेर बजार क्षेत्रसम्म पानी वितरण गरिन्छ।
यहाँ उत्पादित पानी पोखरा, बाग्लुङको सदरमुकाम बेनी तथा आसपासका क्षेत्र र मुस्ताङसम्म पुर्याइएको छ। व्यापारीहरू मुस्ताङ जाने गाडी हेम्जामा रोकेर यहींको पानी किनेर लैजान्छन्। हेम्जा आसपासमा निजी स्तरमा सञ्चालन भएका तीन वटा पानी उद्योग भए पनि उपभोक्ताको रोजाइमा फुर्केटारी सामुदायिक वन उपभोक्ता समूहको पानी नै परेको वन उपभोक्ता समूहका सदस्यहरू बताउँछन्।
“पोखराका मन्त्रालयमा पनि यहींको पानी जान्छ, होटलमा पनि हाम्रो पानी खोज्छन्। सीधै जङ्गलको बीचमा रहेका पहराबाट रसाएर आउने भएकाले हाम्रो पानी मीठो छ, सबैको रोजाइमा फुर्केटारी वन समूहले उत्पादन गरेको पानी परेको छ,” रमा भन्छिन्।
पानी परीक्षण गर्न आएकाहरूले स्वच्छ सफा पहराबाट रसाएर आएको मुहान दक्षिणतिर फर्केको कारण शुद्धीकरणको आवश्यकता नै नभएको बताएका थिए। तर‚ गुणस्तरका सबै मापदण्ड पूरा गर्न शुद्धीकरणका सबै उपाय अवलम्बन गरिएको छ। त्यसले गर्दा पनि पानी उपभोक्ताले सामुदायिक वनले उत्पादन गरेको पानी रोज्छन्।
पानीको माग र खपत राम्रो भएकाले स्थापना भएको दुई वर्षमा नै वन समूहले आफ्ना सदस्यहरूलाई वार्षिक लगानीको १० प्रतिशत मुनाफा वितरण गरिसकेको छ। मुनाफा बाहेकको केही रकम पानी उद्योग विस्तारमा लगाइएको छ। पानी उद्योगको विस्तार गरे गाउँको आर्थिक अवस्थामा कायापलट हुनेमा उपभोक्ताहरू ढुक्क छन्।
“अघिल्लो वर्ष पाँच लाख लगानी गर्ने उपभोक्ताहरूले ५० हजार मुनाफा लिनुभयो। उद्योगमा थप रकम लगानीको सुनिश्चितता गरेर मुनाफा वितरण गरिएको थियो,” स्थानीय वन अधिकारकर्मी मित्रलाल त्रिपाठी भन्छन्।
कसरी भयो उद्योग स्थापना?
सामुदायिक वन उपभोक्ता महासंघले एक सामुदायिक वन एक उद्योगको नीति अनुसार फुर्केटारी सामुदायिक वन समूहले मिनरल वाटर प्लान्ट स्थापना अघि सारको थियो। स्थानीय वन समूहको सहजकर्ता भएकाले पानी उद्योग स्थापनाका लागि रमाले अग्रसरता लिइन्।
वन उपभोक्ता समूहमा सक्रिय मित्रलाल त्रिपाठी‚ होतराज त्रिपाठी लगायतलाई काठमाडौं पठाएर पानी शुद्धीकरण गर्ने अटोमशिनबारे जानकारी लिन लगाइयो। पानी उद्योग सञ्चालन गरेको ठाउँमा गएर उपभोक्ताले अध्ययन गरे। हरियो वन कार्यक्रमका लागि सहयोग गरेको अमेरिकी दातृ निकाय यूएसआईडीले मशिनको व्यवस्था गर्न सघायो। उसले नै मशिन जडान गर्न प्राविधिक पनि खटायो। ती प्राविधिक एक सातासम्म गाउँमै बसेर उद्योग सञ्चालनको काममा सघाए।
वन समूहले कर्मचारीलाई तालीम दिएर पानी उत्पादन गर्न सक्ने बनायो। एक सातासम्म पोखरामा बसेर मशिन जडान गरे, पानी उत्पादनको परीक्षण पनि उनीहरूलाई काम गर्न सघाए। त्यसयता उनीहरूले शुरू गरेको पानी उद्योग सफलतापूर्वक सञ्चालन भइरहेको छ। उद्योगका कारण बेरोजगार स्थानीयले गाउँमै रोजगारी पाएका छन्। लगानीकर्ताले सोचेभन्दा राम्रो मुनाफा लिइरहेका छन्।
उद्योग व्यवस्थापन र वन उपभोक्ता समूह सदस्यको सहयोगका लागि भैपरी आउने कोषमा २५ लाख रुपैयाँ जम्मा भएको छ। कोषको रकम आर्थिक समस्याले विदेश जान नसकेका, बिरामी र अन्य अत्यावश्यक काममा खर्च गरिंदै आएको छ। अप्ठ्यारो पर्दा आर्थिक सहयोग पनि मिल्ने र उद्योगबाट नाफा पनि पाइने कारण उपभोक्ता उत्साहित छन्। जंगलमा कटुस र चिलाउने मात्र पाइने भएकाले काठ उत्पादनबाट आर्थिक उपार्जनको सम्भावना थिएन। त्यही भएकाले उनीहरूले वनमा उपलब्ध पानीलाई आय आर्जनको स्रोत बनाएका हुन्।
“पहिला पानीको योजना थिएन। त्यति वेला गाउँघरमा घर घरमा धाराको पानी पाइन्थ्यो। तर‚ अहिले अवस्था परिवर्तन भएकाले हाम्रो योजना पनि सफल भयो,” रमा खुशी व्यक्त गर्छिन्।
पानी उद्योग सञ्चालन भएपछि जनकपुर, काठमाडौं र छिमेकी जिल्लामा गठित सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि अवलोकन गर्न फुर्केटारी पुग्न थालेका छन्। त्यहाँ आउनेहरूको सूचीमा अमेरिका, जापान, बेलायत र अन्य यूरोपेली मुलुकका नागरिक तथा नेपालको वन विज्ञान क्याम्पसका विद्यार्थी र अनुसन्धाताहरू पनि छन्।
“यी सबै परिवर्तन आफ्नै आँखा अगाडि भएको देख्दा त हामीले राम्रै काम गरेका रहेछौं भन्ने लाग्छ,” रमा भन्छिन्।