चम्किलो धातुको आकाशिंदो मूल्य
दुर्लभ धातु सुनको मूल्य छिटोछिटो बढ्दै जानुको मुख्य कारण यसप्रति मानिस र सरकारहरूको विश्वास र साख हो।
पहेंलो धातु सुन चैत ५ गते नेपाली बजारमा अहिलेसम्मकै महँगो मूल्य एक लाख १० हजार रुपैयाँ प्रतितोलामा किनबेच भयो। एक महीनाअघि एक लाख तीन हजार हाराहारी प्रतितोला रहेको सुनको मूल्य सरासर उकालो चढ्दै गएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अझै बढेर जाने जानकारहरूले अनुमान गरेका छन्। कतिसम्म बढ्छ भन्ने आकलन यो दुर्लभ मूल्यवान् धातुको मागमा निर्भर हुनेछ। बितेको चार वर्षकै बीचमा सुनको मूल्य करीब ८२ प्रतिशतले बढिसकेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, चार वर्ष पहिले २०७५ चैतमा सुनको मूल्य अधिकतम ६० हजार ६०० रुपैयाँ थियो। त्यसयताका चार वर्षमा सुनको मूल्य हरेक वर्ष औसतमा १६ प्रतिशतको दरले बढिरहेको देखिन्छ। बढेको मूल्यले पनि यो महँगो धातुको आकर्षणलाई कम गर्न सकेको छैन।
बजारको चर्को मूल्यवृद्धि नियन्त्रण गर्न ब्याजदर बढाएका संसारभरिका केन्द्रीय ब्यांकहरूले सुनको माग बढाएपछि यसको मूल्य थप उकालो लागेको छ। सन् २०२२ मा केन्द्रीय ब्यांकहरूले ऐतिहासिक रूपमा सुनको खरीद गरेका थिए। टर्की, उज्वेकिस्तान, भारत र कतार जस्ता मुलुकले उच्च गतिमा सुन खरीद गरिरहेका छन्।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिआउन्स (३१.१०३४ ग्राम) एक हजार ९८५ अमेरिकी डलरको हाराहारीमा पुगेको छ। यो सजिलै दुई हजार डलर प्रतिआउन्स पुग्ने अनुमान गरिएको छ। अमेरिकामा ब्यांकहरू धराशायी भएको र क्रेडिट स्वीस ब्यांकको शेयरमा भारी गिरावट आएको वेला लगानीकर्ताहरूले लगानी सुरक्षित बनाउन सुनको शरण लिइरहेको विश्वास गरिएको छ। जसले गर्दा यसको माग बढाएको र अन्ततोगत्वा मूल्य चढिरहेको छ। डलरको मूल्य घट्दा मूल्यवृद्धि माथि चढ्छ। जब मूल्यवृद्धि उकालो चढ्छ, सुनको मूल्य पनि बढ्ने गरेको छ।
खास गरी अन्तर्राष्ट्रिय कारोबारमा अमेरिकी डलरको विकल्प खोज्ने प्रयत्नले सुनको मूल्य बढाउन मद्दत गरेको छ। अमेरिकी इतरको खेमाका मुलुकहरू चीन, रुस, इरान सहित भारत लगायतका मुलुकले अन्तर्राष्ट्रिय कारोबारका लागि डलरको सट्टा सुन वा अरू मुद्राको प्रयोग गर्ने विषयमा छलफल चलाएपछि यसको माग बढेको छ।
त्यसमाथि, केन्द्रीय ब्यांकहरूले आफ्नो मुद्राको सुरक्षा प्रत्याभूतिका लागि मुख्य सम्पत्तिका रूपमा सुनको मौज्दात बढाउँदै लगेका छन्। “विश्व अर्थतन्त्रको अनिश्चय, अमेरिकाको वित्तीय सङ्कटको आशंकाका कारण सुनको माग थप बढेको छ, यसले मूल्यवृद्धि बढाउँदै लगेको छ,” नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य भन्छन्, “यही गतिमा सुनको मूल्य बढ्दै गए नेपालीको क्रय क्षमताभन्दा मूल्य माथि पुग्छ।”
सुनको मूल्य बढेसँग कारोबारमा शिथिलता आउन थालेको उनी बताउँछन्। नेपाली बजारमा अहिले दैनिक १५ किलो सुनको किनबेच हुन्छ। उच्च कारोबार हुने वेला करीब ४० किलोसम्म सुन कारोबार हुने गरेको शाक्य बताउँछन्।
विश्वास र साख
सुनको मूल्य अहिले जस्तो चर्कोसँग कहिल्यै बढेको थिएन। करीब दुई शताब्दीअघि सन् १८०० तिर सुनको मूल्य प्रतिआउन्स करीब २० अमेरिकी डलरको हाराहारी मात्रै थियो।
यो ५० वर्षअघि सन् १९७२ तिर पुग्दा ६४ डलर हाराहारी मात्रै थियो। तर, त्यसयता भने सुनको मूल्यले अविश्वसनीय गति लियो। सन् १९७३ तिर प्रतिआउन्स १०० डलर नाघेको सुनको मूल्य त्यो दशकको अन्त्यतिर पुग्दा ५९० आउन्सको हाराहारी पुगिसकेको थियो।
सन् १९९० को दशकभरि मूल्य घटेर सन् २००० तिर आइपुग्दासम्म मूल्य ३०० प्रतिआउन्सभन्दा तलै रहन पुग्यो। तर, त्यसपछिका वर्षहरूमा भने भाउ बढेको बढ्यै छ। यो एक दशकअघि सन् २०१३ तिर एक हजार २०० डलर जति थियो। अहिले दुई हजार डलर प्रतिआउन्सको छेउछाउ पुगेको छ।
सुनको मूल्य छिटो छिटो बढ्दै जानुको कारण यसप्रति मानिस र सरकारहरूको विश्वास र साख मुख्य कारण हो। यो विश्वास र साख अहिले मात्रै होइन, पाँच हजार १०० वर्षभन्दा अघिबाटै शुरू भएको मानिन्छ।
देख्नमा चित्ताकर्षक र प्राप्तिमा दुर्लभ यो धातुको लोकप्रियतामा कहिल्यै कमी आएन। मौद्रिक हरहिसाबका लागि नोट र अरू माध्यम प्रयोगमा आए पनि सुनको स्वीकार्यता र साख अविछिन्न कायम रह्यो।
लगानीका लागि मात्रै होइन, गरगहना तथा केही विद्युतीय र चिकित्सा उपकरणमा पनि प्रयोग हुन्छ, सुन। सानो टुक्रालाई पनि तन्काएर लामो बनाउन सकिने सुन नखिइने, जीर्ण नहुने र नाश भएर नजाने अमरत्व गुण बोकेको हुन्छ।
यसको धार्मिक र सांस्कृतिक सम्बन्ध मात्रै होइन, औषधीय गुण पनि छ। आयुर्वेदमा स्वर्णभस्मको सेवनले आयु, शक्ति र प्रताप वृद्धि हुने र रोग नाश हुने महत्त्व दर्शाइएको छ। त्यसैले, धनकुवेरहरूले आयु र चमकका लागि स्वर्णभस्म सेवन गर्ने गरेको बताइन्छ।
प्राप्त गर्न कठिन भएकाले नै सुनको मूल्य बढेकोमा शङ्का छैन। मूल्यको बढोत्तरीले न्यून क्रय क्षमता भएका आम नागरिकका लागि सुन अझै दुर्लभ बन्नेछ।