सेफ्टी पिन : यौन हिंसा विरुद्ध लड्ने हतियार
विभिन्न कपडाका टुक्रा अड्याउन वा लुगा लगाउँदा नमिलेको पाटो मिलाउन उपयोगी सेफ्टी पिन महिलाहरूले पीडक विरुद्ध लड्न पनि प्रयोग गर्दै आएका छन्।
भारतमा लगभग हरेक महिलासँग भीडभाडयुक्त सार्वजनिक स्थानमा यौन हिंसा भोगेको अनुभव छ- कसैले स्तन सुमसुम्याएको वा नितम्ब चिमोटेको छ, छातीमा कुहिनो राखेको छ वा उसको शरीर रगडेको छ।
ती पिपासुहरूमाथि धावा बोल्न महिलाहरूले आफूसँग उपलब्ध जे पनि प्रयोग गर्ने गरेका छन्। उदाहरणका लागि, दशकौंअघि विद्यार्थीका रूपमा कोलकाताको अति भीडभाड बस तथा ट्राममा यात्रा गर्दा म र मेरा साथी छाताको प्रयोग गर्थ्यौं।
हामीमध्ये कतिले त ती ‘सलबलाउने हात’ चिथोर्न आफ्नो नङ लामो र तीखो बनाउँथ्यौं। भीडको फाइदा उठाएर आफ्नो यौनाङ्गले हाम्रो शरीरमा घोच्नेहरूलाई अरू कतिपयले चाहिं तीखो हिलले प्रहार गर्थे।
अरू थुप्रैले चाहिं अझ प्रभावकारी औजार प्रयोग गर्थे- सेफ्टी पिन (हुपसियो)।
सन् १८४९ मा सेफ्टी पिनको आविष्कार भएसँगै संसारभरका महिलाहरूले विभिन्न कपडाका टुक्रा अड्याउन वा लुगा लगाउँदा नमिलेको पाटो मिलाउन यसको प्रयोग गर्दै आएका छन्।
सँगसँगै संसारभरि नै महिलाहरूले पीडक विरुद्ध लड्न पनि सेफ्टी पिनको प्रयोग गर्दै आएका छन्, पीडकको रगत निकाल्न पनि।
केही महीनाअघि ट्वीटरमा केही भारतीय महिलाले आफूले सधैं ह्यान्डब्यागमा सेफ्टी पिन बोक्ने गरेको खुलासा गरेका थिए। भीडभाड हुने स्थानमा विकृत मानसिकता बोकेका व्यक्ति विरुद्ध लड्न सेफ्टी पिन आफ्नो रोजाइको हतियार भएको पनि उनीहरूले बताएका थिए।
तीमध्ये एक, दीपिका शेरगिलले एक घटनाबारे लेखेकी छिन् जब उनले साँच्चिकै रगत निकाल्न सेफ्टी पिनको प्रयोग गरिन्।
घटना दशकौंअघिको हो, तर दीपिकालाई एक-एक याद छ।
उनी त्यस वेला २० वर्षकी थिइन्। उनको पीडक मध्य ४० का अधबैंसे। ती पुरुषले खैरो सफारी लगाउँथे। अक्सर यस्तो हुलिया भारतीय सरकारी कर्मचारीको हुन्थ्यो।
तिनले खुट्टाको बुढी औंला खुला हुने चप्पल लगाउँथे र छालाको आयाताकार झोला बोक्थे।
“ती जहिल्यै मेरो छेउमा उभिन्थे। मतिर फर्किन्थे र आफ्नो कम्मर मेरो नितम्बमा रगड्थे। हरेक पटक चालकले ब्रेक लगाउँदा उनी मतिर लड्न खोज्थे,” उनले भनिन्।
त्यस वेला आफू निकै डरपोक भएको र अरूको ध्यान आकर्षित गर्न नचाहेको उनी बताउँछिन्। यो क्रम महीनौं चल्यो। महीनौं उनले चूपचाप सहिन्।
तर, एक साँझ ती पीडकले हस्तमैथुन गरेर दीपिकाको काँधमा स्खलन गरे। दीपिकालाई लाग्यो- अब अति भयो।
“मलाई अपवित्र महसूस भयो। घर पुगेपछि धेरै बेर लगाएर नुहाएँ। मसँग के भयो भनेर मैले आमालाई पनि भनिनँ,” उनले सुनाइन्।
“त्यस रात म सुत्न सकिनँ, जागीर छोड्नेसम्म सोचें। तर, पछि मैले बदला लिने सोचें। फेरि यस्तो नगरोस् भनेर म उसलाई शारीरिक रूपमै चोट पुर्याउन चाहन्थें,” उनले भनिन्।
भोलिपल्ट दीपिकाले आफूले लगाउँदै आएको फ्ल्याट जुत्ताको साटो तीखो हील लगाइन् र बस चढिन्, सेफ्टी पिन सहित।
“ऊ बसमा आएर मेरो छेउमा उभिनासाथ म सीटबाट उठें र मेरो हिलले उसको बूढी औंलामा किचिदिएँ। दुखेपछि उसले निकालेको आवाज सुनें मैले, खूब आनन्द महसूस गरें। अनि, मैले सेफ्टी पिन निकालेर उसको पाखुरामा घोचिदिएँ र तुरुन्तै बसबाट झरें,” उनले भनिन्।
त्यसपछि पनि दीपिका सोही बसमा यात्रा गर्थिन्। तर, ती पीडक फेरि कहिल्यै देखा परेनन्।
दीपिकाको कथा स्तब्ध बनाउने छ, तर दुर्लभ भने होइन।
करीब ३० वर्षकी मेरी एक सहकर्मीले एउटा घटना सुनाइन् जब कोचिन र बेंग्लोरबीचको रातभरको बसमा एक व्यक्तिले उनलाई बारम्बार पक्रने कोशिश गरे।
“शुरूमा त संयोगवश होला भनेर मैले उसलाई हल्लाएँ,” उनले भनिन्।
तर, पटक पटक भएपछि उनलाई लाग्यो- यो जानाजानी हो। त्यस दिन आफ्नो पछ्यौरीलाई अड्याउन प्रयोग गरेको सेफ्टी पिनले उनको ‘दिन जोगियो’।
“मैले उसलाई घोचें अनि पछि हट्यो। तर, उसले फेरि पनि प्रयास गरिरह्यो। मैले पनि उसलाई फेरि घोचें। अन्ततः उसले यो क्रम रोक्यो। म निकै खुशी छु कि मसँग सेफ्टी पिन थियो। तर, पछाडि फर्केर झापड नहानेकोमा भने मलाई आफू मूर्ख भएको महसूस हुन्छ,” उनले भनिन्।
“तर, म सानी हुँदा भने मैले यस्तो घटनाबारे बोलें भने मानिसहरूले मलाई समर्थन गर्दैनन् भन्ने लाग्थ्यो,” उनले थपिन्।
यही डर र लाजका कारण दुर्व्यवहार गर्नेहरू प्रोत्साहित हुने र समस्यालाई थप व्यापक बनाउने अभियन्ताहरू बताउँछन्।
सन् २०२१ मा भारतका १४० शहरमा गरिएको अनलाइन सर्वेक्षणमा ५६ प्रतिशत महिलाले सार्वजनिक यातायातमा यौन दुर्व्यवहार भोगेको बताएका थिए। तीमध्ये दुई प्रतिशत मात्र प्रहरीमा गए।
एउटा ठूलो जमातले भने आफैंले कारबाही गरेको अथवा परिस्थितिलाई बेवास्ता गरेको बताए। तमासा नबनोस् वा परिस्थिति झन् नबिग्रियोस् भनेर प्रायः उनीहरू यस्तो घटनाबाट टाढा बस्न खोज्छन्।
यस्तै ५२ प्रतिशतभन्दा बढी महिलाले शिक्षा र रोजगारीको अवसरलाई ‘असुरक्षा महसूस’ गरेकाले नकारेको बताए।
“यौन हिंसाको डरले महिलाको मानसिकता र गतिशीलतालाई वास्तविक हिंसाभन्दा बढी प्रभाव पार्छ,” महिलाका लागि सार्वजनिक क्षेत्र सुरक्षित र समावेशी बनाउने कार्यमा संलग्न सामाजिक संस्था सेफ्टी पिनकी सहसंस्थापक कल्पना विश्वनाथले बताइन्।
“महिलाहरूले आफैंमाथि प्रतिबन्ध लगाउन थाल्छन् र यसले हामीलाई पुरुष बराबर नागरिकता पाउन वञ्चित गर्छ। दुर्व्यवहारको वास्तविक घटनाभन्दा यसले महिलाको जीवनमा गहिरो प्रभाव पार्छ,” उनले भनिन्।
विश्वनाथका अनुसार, महिलामाथिको दुर्व्यवहार भारतीय मात्र नभएर एक विश्वव्यापी समस्या हो। थम्पसन रोयटर्स फाउन्डेशनले लन्डन, न्यूयोर्क, मेक्सिको सिटी, टोक्यो र कायरोका एक हजार महिलालाई सहभागी गराएर गरेको सर्वेक्षण अनुसार, ‘यातायातको सञ्जाल यौन पिपासुहरूका लागि चुम्बक हो जसले रश-आवर (अत्यधिक भीड हुने समय)लाई आफ्नो व्यवहार लुकाउन र समातिइहाले पनि ढाकछोप गर्न प्रयोग गर्छन्।’
ल्याटिन अमेरिका र अफ्रिकाका महिलाहरूले पनि सेफ्टी पिन बोक्ने गरेको विश्वनाथ बताउँछिन्। साथै, स्मिथसोनियन म्यागेजिनका अनुसार अमेरिकामा पनि महिलाहरू सन् १९०० तिर ह्याटपिन प्रयोग गर्थे, नजिक आउने पुरुषलाई घोच्न।
सार्वजनिक दुर्व्यवहार सम्बन्धी विश्वव्यापी विभिन्न सर्वेक्षणमा ‘टप’ गरे पनि भारतले यसलाई गम्भीर समस्याका रूपमा भने लिएको छैन।
विश्वनाथका अनुसार, यसको आंशिक कारण कम रिपोर्ट हुनु हो जो अपराध तथ्याङ्कमा प्रतिबिम्बित हुँदैन। र, लोकप्रिय चलचित्रको प्रभाव पनि हो जसले दुर्व्यवहार गर्नु भनेको केटी पट्याउने तरीका हो भन्ने सिकाउँछ।
पछिल्ला वर्षहरूमा भने केही शहरतिर यो समस्यामा केही सुधार भएको विश्वनाथ बताउँछिन्। राजधानी शहर दिल्लीका बसमा ‘प्यानिक बटम’ र सीसीटीभी क्यामेरा राखिएका हुन्छन्। यस्तै महिला चालकहरू बढी मात्रामा राखिएका छन् र चालक तथा कन्डक्टरहरूलाई महिला यात्रुप्रति बढी जवाफदेही हुन तालीम सत्रहरू आयोजना गरिएका छन्।
साथै, मार्शलहरू तैनाथ गरिएका हुन्छन्। प्रहरीले एप्स तथा हेल्पलाइन नम्बर पनि शुरू गरेको छ जसलाई महिलाहरूले सहायता लिन प्रयोग गर्न सक्छन्।
तर, विश्वनाथका अनुसार, यो सधैं प्रहरी नभएर हुने समस्या भने होइन।
“मलाई लाग्छ, सबैभन्दा महत्त्वपूर्ण समाधान भनेको यसबारे अझ धेरै बहस गर्नु हो। ठोस मिडिया अभियान हुनुपर्छ जसले कुन स्वीकार्य व्यवहार हो र कुन होइन भन्नेबारे मानिसलाई सूचित गराउँछ,” उनले भनिन्।
त्यतिन्जेल दीपिका र मेरा सहकर्मी सहित लाखौं भारतीय महिलाले आ-आफ्नो सेफ्टी पिन हातैमा राख्नुपर्छ।
- बीबीसीमा प्रकाशित गीता पाण्डेको यस लेखको अनुवाद असीम तिमल्सिनाले गरेका हुन्।