तनहुँ र बारामा पनि वैशाख १० मै उपनिर्वाचन
निर्वाचन आयोगले तनहुँ र बारामा पनि आगामी वैशाख १० मा नै उपनिर्वाचन गर्ने निर्णय गरेको छ।
निर्वाचन आयोगको चैत ६ गते बसेको बैठकले तनहुँ-१ र बारा-२ मा सँगसँगै उपनिर्वाचन गर्ने निर्णय गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिएका छन्।
गत मंसीर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेका छन् भने बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेका छन्।
प्रतिनिधि सभा सदस्य राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचित भएमा सांसद पद स्वतः रिक्त हुने संवैधानिक व्यवस्था छ। रिक्त दुवै क्षेत्रमा निर्वाचन आयोगले एउटै मितिमा उपनिर्वाचन गर्ने निर्णय गरेको हो।
यसअघि निर्वाचन आयोगले चितवन-२ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको थियो। गत मंसीर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा चितवन-२ बाट रवि लामिछाने निर्वाचित भएका थिए। सर्वोच्च अदालतले नागरिकता विवादमा लामिछानेको सांसद पद खारेज गरेको थियो। जसले गर्दा चितवन-२ मा पनि प्रतिनिधि सभा सदस्य पद रिक्त छ।