सडक अवरुद्ध गरेर कोशीका मुख्यमन्त्री कार्कीको विरोध
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की विरुद्ध ओखलढुंगामा प्रदर्शन गरिएको छ।
प्रदेशको नाम कोशी राखिएको विरोधमा नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद्को नेतृत्वमा सोमबार मुख्यमन्त्री कार्कीलाई कालो झण्डा देखाइएको छ।
कार्यक्रमको सिलसिलामा सदरमुकाम ओखलढुंगाबाट तलुवातर्फ जाने क्रममा गोरुमारे भञ्ज्याङ चोकमा सुरक्षाकर्मीको घेरा नाघेर विरोध प्रदर्शन गरिएको हो।
मुख्यमन्त्री कार्की ओखलढुंगा आएपछि नेपाल आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा, नेपाल शेर्पा संघ लगायतले विरोध गर्दै बिहान ११ बजेदेखि गोरुमारे भञ्ज्याङमा टायर बालेर चक्काजाम गरेका थिए।
प्रदेशको कोशी नाम खारेज गर्दै पहिचानको आधारमा किरात राख्नुपर्ने मागमा मुख्यमन्त्रीको विरोध गरिएको नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् ओखलढुंगाका अध्यक्ष नेत्रबहादुर नेम्बाङले बताए। सामुदायिक भवनको उद्घाटन गर्न मुख्यमन्त्री कार्की सिद्धिचरण नगरपालिका–१ तलुवा जाँदै थिए।