च्याट-जीपीटीले पत्रकारितामा के प्रभाव पार्ला?
पत्रकारितालाई इतिहासको पहिलो खेस्रा भनेर हामीले पढ्दै आएका थियौं। अब पत्रकारिताको पहिलो खेस्रा च्याट-जीपीटी जस्ता एआईले गर्ने भए।
‘च्याट-जीपीटी’ ले कुन कुन क्षेत्रमा के के प्रभाव पार्न सक्छ भन्ने विषयमा अहिले थुप्रै बहस भइरहेका छन्। सन् २०२२ को नोभेम्बर ३० बाट औपचारिक रूपमा शुरू भएको ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ अर्थात् कृत्रिम बुद्धिमत्ता च्याटबोट च्याट-जीपीटी हाल विकासकै चरणमा छ।
त्यसैले तत्कालै यसले कुनै पेशालाई यस्तो प्रभाव पार्छ वा जोखिम निम्त्याउँछ भन्ने अड्कलबाजी पूर्णतः सत्य नहोला। विद्वान्हरू भने च्याट-जीपीटीले पत्रकारितामा गम्भीर र क्रान्तिकारी प्रभाव पर्न सक्ने अनुमान गर्छन्।
च्याट-जीपीटीअघि पनि केही सञ्चार माध्यमले तत्काल समाचार लेख्न विभिन्न च्याटबोट प्रयोग गरेका थिए। द वाशिङ्टन पोस्टले सन् २०१२ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा च्याटबोट प्रयोग गरेर १५ वटा समाचार छापेको थियो। सन् २०१६ मा ‘हेलियोग्राफ’ च्याटबोट प्रयोग गरी एक वर्षमा ८५० वटा समाचार समेत प्रकाशन गरेको थियो।
१ फेब्रुअरी २०१९ मा द गार्डियन अस्ट्रेलियाले ‘रिपोर्टरमेट’ च्याटबोट प्रयोगबाट राजनीतिक समाचार प्रकाशन गरेको थियो। सन् २०१९ सम्ममा ब्लुमबर्ग न्यूजले एक चौथाइ कर्मचारीको स्थानमा च्याटबोट प्रयोग गरी ३३ प्रतिशत समाचार उत्पादन गरेको थियो। सन् २०२० मा ‘माइक्रोसफ्ट’ ले एमएसएन वेबसाइट र एज ब्राउजरमा आवश्यक पर्ने समाचार छनोट, सम्पादन र प्रकाशन गर्न बेलायतमा काम गरिरहेका २७ जना पत्रकारलाई हटायो।
कारण उही थियो- खर्च कटौती गर्न पत्रकारको सट्टा च्याटबोटको प्रयोग।
सञ्चार संस्थाहरूका लागि पत्रकारितामा बढ्दो खर्च कटौती गर्ने सहज उपाय भनेको समाचार लेखनमा च्याटबोटको प्रयोग हो। र, अहिलेसम्मकै प्रभावकारी च्याट-जीपीटीको आगमनपछि यसको प्रयोग गर्नु स्वाभाविकै हो।
के च्याटबोटका कारण पत्रकारिता जोखिममा छ?
बेलायती अखबार डेली मेलले गत १४ फेब्रुअरीमा च्याट-जीपीटीका कारण सबैभन्दा जोखिममा रहेका पाँच पेशा-व्यवसायको सूची सार्वजनिक गर्यो। त्यसको पहिलो क्रममा थियो- पाण्डुलिपि सम्पादक र ब्लगरहरूको जागीर। अर्थात् ‘एआई’ क्रान्तिको पहिलो निशानामा पत्रकार वा लेखन व्यवसायी छन्।
पत्रकारितामा एआईको प्रयोगबारे बजफिड मिडिया लेख्छ- पत्रकारितामा एआई लगायत नयाँ प्रविधिको प्रयोग गर्नुपर्छ, तर पर्याप्त सावधानी पनि अपनाउनुपर्छ। एआईको क्षमता र सीमितता जान्नुपर्छ र त्यसको प्रयोगबाट पर्न सक्ने प्रभावबारे मिहिन ढङ्गले अध्ययन गर्नुपर्छ। अहिल्यै एआईको प्रयोगले पत्रकारिता जोखिममा पर्छ वा पत्रकारितालाई गजब फाइदा हुन्छ भनेर निष्कर्षमा पुग्नु हुँदैन।
पत्रकारितामा च्याट-जीपीटीको प्रभाव बढ्दै गएपछि बजफिड मिडियाका सीईओ जोना परेटी आफ्ना कर्मचारीलाई नआत्तिन सुझाव दिन्छन्। उनी भन्छन्, “सिर्जनाको क्षेत्रमा एआईको प्रवेशले एउटा नयाँ सम्भावनाको युगको प्रक्षेपण गरेको छ जसले सिर्जनाका हरेक क्षेत्रमा हुने असीमित सम्भावनालाई नयाँ ढङ्गले सबै मानव समुदायको हितका लागि उपयोग गर्नुपर्छ भन्ने सन्देश दिएको छ।”
यस अर्थमा एआईले अन्तर्वस्तुको सिर्जना गर्ने र त्यसको उपयोग गर्ने दुवैलाई फाइदा पुर्याउँछ।
द न्यूयोर्क टाइम्सकी प्रविधि संवाददाता ज्याक्लिन पैजर लेख्छिन्- व्यावसायिक पत्रकारिताका लागि पत्रकारले प्रयोग गर्ने धेरै उपकरणमध्ये अब एआईयुक्त च्याटबोटलाई पनि सामेल गर्नुपर्छ। यसलाई पत्रकारको जागीर खोस्ने प्रविधि भनेर जोखिमका रूपमा मात्रै लिनु हुँदैन। बरू, तत्कालका सूचना सङ्कलन गर्ने र सङ्कलित सूचनाको प्रवृत्ति अध्ययन गर्ने काममा एआईलाई प्रयोग गर्न सकिन्छ। तर, ती सूचनाको तथ्य प्रमाणीकरण गर्ने, सूचनाको स्रोत र सन्दर्भ पहिल्याउने, कुनै खास विषयमा निर्णय गर्ने जस्ता गहन काममा पत्रकारहरूले अझ बढी समय खर्च गर्नुपर्छ।
अमेरिकाको रट्गर्स विश्वविद्यालयका पत्रकारिताका प्राध्यापक जोन भी पाभ्लिकले गत जनवरीमा च्याट-जीपीटीसँग मिलेर एउटा रिसर्च आर्टिकल लेखे, ‘पत्रकारिता र मिडिया शिक्षामा एआईले पार्ने प्रभाव’ शीर्षकमा। पाभ्लिकका अनुसार, च्याट-जीपीटीको मूल कमजोरी स्रोतको अभाव हो। यसले कुनै पनि विषयवस्तु कुन स्रोतका आधारमा लेखिएका हुन् भन्ने जानकारी दिंदैन।
पत्रकारिताको मुख्य आधारस्तम्भ भनेकै स्रोतको जानकारी हो। च्याट-जीपीटीले प्रस्तुत गर्ने विषयवस्तु कुनै अल्छी पत्रकार (आर्मचेयर जर्नलिस्ट)ले कार्यालयमै बसेर विभिन्न सञ्चार माध्यममा आएका समाचार पढेसुनेका आधारमा विना कुनै स्रोत लेखे जस्तै हो। उनका अनुसार, च्याट-जीपीटी मिथ्या समाचारको कारखाना हो जसलाई नियन्त्रण गर्न दक्ष पत्रकारको धैर्यपूर्ण निगरानी आवश्यक पर्छ।
फाइदा र बेफाइदा के हुन्?
फाइदाको कुरा गर्दा आम रिपोर्टरले गर्ने काम यसले तत्कालै गर्न सक्छ। उदाहरणका लागि ‘आईसीसी विश्वकप लिग-२ मा नेपालको जितबारे पाँच अनुच्छेदमा समाचार लेख’ भनेर दिएको कमान्डलाई च्याट-जीपीटीले एक मिनेट पनि नलगाई ३३९ शब्दमा पाँचै अनुच्छेद लेखिदियो। तर, त्यस समाचारका त्रुटि सच्याएर सम्पादन गरी प्रकाशनयोग्य बनाउने काम भने दक्ष पत्रकारको हो।
अहिले सञ्चार संस्थाहरूलाई लोकप्रिय हुन मल्टिमिडिया कन्टेन्ट राख्नैपर्ने बाध्यता छ। यसले सञ्चार संस्थाको खर्च दुईदेखि चार गुणासम्म बढाएको छ। फेरि सञ्चार संस्थाको विज्ञापनको ठूलो हिस्सा फेसबूक, ट्वीटर र यूट्युब जस्ता सामाजिक सञ्जालले खोसेकाले च्याटबोटको सहयोगमा पत्रकारिता गर्नु सञ्चार उद्यमीका लागि खर्च कटौतीको हिसाबले लाभदायक हुन सक्छ।
च्याट-जीपीटी वैकल्पिक लेखनमा पनि उपयोगी हुन्छ। जस्तो, समाचारका कुनै विषयवस्तु यति जटिल हुन्छन् कि अनुभवी पत्रकारलाई पनि कस्तो आमुख वा शीर्षक राखेर शुरू गर्ने भन्ने द्विविधा हुन्छ। यस्तो वेला च्याट-जीपीटीले तुरुन्तै आमुख र समाचार शीर्षक लेखिदिएर पत्रकारलाई विकल्प दिन सक्छ। त्यसलाई आवश्यक परिमार्जन वा सम्पादन गरेर प्रकाशन/प्रसारण योग्य बनाउन सकिन्छ।
च्याट-जीपीटी समाचार विश्लेषणमा पनि सहयोगी हुन सक्छ। पत्रकारितामा धेरै तथ्याङ्कलाई छोटकरीमा सार राखेर प्रस्तुत गर्नुपर्छ। सञ्चार माध्यमको स्वभाव र उपलब्ध स्थान वा समय हेरी विषयवस्तुलाई मिल्दो वा छरितो बनाउनुपर्छ।
यस्तोमा जति नै ठूलो सूचना सामग्रीलाई पनि च्याट-जीपीटीले चाहिएको आकारमा तयार गर्न सक्छ। यसले पत्रकारलाई समाचार, सम्पादकीय वा टिप्पणी लेखनमा सघाउँछ।
तर, बेफाइदा वा जोखिम पनि उत्तिकै हुन्छ। जस्तो, सिकारु पत्रकारले सिक्ने मौका पाउँदैनन्। लगानीकर्ताहरू एआईले सित्तैमा गर्ने कामका लागि तलब दिएर किन सिकारु नियुक्त गर्नु भन्ने ठान्छन्। यसले नयाँ पुस्तालाई अवरोध गर्छ।
द हाल्डिमान्ड प्रेसका सहसम्पादक माइक रेन्जेला भन्छन्, “च्याट-जीपीटीका कारण अहिलेको पत्रकारिताको स्वभाव र प्रवृत्तिमाथि नै सङ्कट आउन सक्ने जोखिम छ। किनभने साधारण समाचारका लागि त अब भौतिक रिपोर्टरको आवश्यक नै पर्दैन।”
च्याट-जीपीटीको अर्को कमजोरी सन्दर्भको अभाव पनि हो। इन्टरनेटमा उपलब्ध लाखौं करोडौं तथ्याङ्कमा आधारित भएर प्रत्युत्तर लेख्ने भए पनि यसले तत्कालको कुनै घटनाको सन्दर्भ पत्ता लगाउन सक्दैन। अर्कातिर, तत्कालको सूचना इन्टरनेटमा पर्याप्त मात्रामा संग्रह नहुने भएकाले ती घटनालाई यसले विश्लेषण पनि गर्न सक्दैन।
पूर्वाग्रहको पुनरावृत्तिलाई यसको अर्को बेफाइदाका रूपमा लिन सकिन्छ। इन्टरनेट र सामाजिक सञ्जालमा भएका अधिकांश जानकारी कुनै व्यक्ति, समूह वा पक्षको पृष्ठपोषण वा आलोचना गर्न लेखिएका हुन्छन्। च्याटबोटले यिनै आग्रह-पूर्वाग्रहले भरिएका तथ्याङ्कहरू प्रयोग गर्ने हो। कुन पूर्वाग्रही हो र कुन होइन भनेर पर्गेल्न सक्ने क्षमता योसँग हुँदैन।
त्यस्तै, पत्रकारिता समाचार स्रोतको आधिकारिता र विश्वसनीयतामा आधारित हुन्छ। अहिलेसम्म च्याट-जीपीटीले दिने उत्तरहरू कुन स्रोतबाट लिइएका हुन् भन्ने पाठकले थाहा पाउँदैनन्। स्रोतको ठेगान नभए त्यो समाचार विश्वसनीय हुँदैन।
नेपाली पत्रकारितामा के प्रभाव पर्न सक्छ?
च्याट-जीपीटीले नेपाली भाषामा पनि समाचार लेख्छ। तर, व्याकरण र अभिव्यक्तिको सिलसिला मिलेको छैन। निकट भविष्यमा भने यसले स्वाभाविक नेपाली भाषा वा नेपालका अन्य स्थानीय भाषामा पनि समाचार लेख्न सघाउन सक्छ। सुधारिएको संस्करण पनि निःशुल्क वा कम शुल्कमा उपलब्ध भयो भने यसको प्रयोग नेपाली अनलाइन पोर्टलहरूमा अवश्य बढ्नेछ।
नेपाली पत्रकारितामा च्याट-जीपीटी जस्ता च्याटबोटहरूको प्रयोगले निम्न प्रभाव पर्न सक्छ:
साना मिडिया अझै थपिने: नेपालमा ‘स्वरोजगारमूलक’ साना मिडिया खोल्ने र आफैं सम्पादक/प्रकाशक हुने चलन बाक्लिँदो छ। हाल नेपालमा करीब चार हजार अनलाइन पोर्टल दर्ता छन्। तीमध्ये अधिकांशले पाँच जनालाई पनि रोजगारी दिएका छैनन्।
रोजगारी दिएकाले पनि पत्रकारलाई फिल्ड रिपोर्टिङमा खटाउनेभन्दा डेस्कमा राख्ने र विभिन्न माध्यमबाट उपलब्ध समाचारलाई काँटछाँट गरेर आफ्नो जस्तो पार्ने हुन्। यो अवस्थामा च्याट-जीपीटी निःशुल्क वा न्यून शुल्कमा उपलब्ध भयो र नेपाली भाषामा पनि राम्रो लेख्न सक्ने भएमा अनलाइन सञ्चालकहरू अझ बढ्नेछन्।
अंग्रेजीमा समाचार प्रकाशन हुने: कतिपय सञ्चार माध्यमले नेपाली र अंग्रेजी दुवै भाषामा अनलाइन चलाउन खोजेका छन्। तर, जनशक्ति वा लगानीको अभावमा त्यो हात्तीको देखाउने दाँत जस्तो मात्रै भएको छ।
अब च्याट-जीपीटीको प्रयोगले अनुवादक नभए पनि अंग्रेजीमा समाचार प्रकाशन गर्न सकिने भएको छ। समाचारका ६ ‘क’ सम्बन्धी मुख्य शब्दहरू राखेर समाचार लेख्न लगाउँदा च्याट-जीपीटीले तुरुन्तै समाचार लेखिदिन्छ। सम्पादकले तथ्य प्रमाणीकरणमा मात्रै ध्यान दिए पुग्यो। नेपाली पत्रकारितामा च्याट-जीपीटीको प्रयोगले तत्कालै पार्न सक्ने प्रभाव भनेको यही हो।
आर्थिक दिगोपन: नेपाली भाषामा लेखिएका अनलाइनले तिनका समाचारमा क्लिक गरे वा पढे बापत गुगल वा फेसबूकले पैसा दिंदैनन्। तर, त्यही समाचार अंग्रेजीमा छ भने सहजै ‘मनिटाइज’ गर्न सकिन्छ। यसले अनलाइनलाई आर्थिक सहयोग हुन सक्छ।
साथै, एआईले सित्तैमा समाचार लेखिदिए कथित ‘स्वरोजगारमूलक’ साना मिडियाका सञ्चालक वा लगानीकर्ताहरू श्रमजीवी पत्रकार ऐन वा न्यूनतम पारिश्रमिकको लफडाबाट जोगिनेछन्। एआई सिर्जित कन्टेन्ट राखेर एकातिर गुगल वा फेसबूक अर्कातिर स्थानीय विज्ञापनदातालाई झुक्याएर पैसा कमाउने मेसो हुन सक्छ।
मौलिकतामा ह्रास: अल्छी वा कामचोर पत्रकारका लागि त च्याट-जीपीटी वरदान हुनेछ। समाचारको आमुख वा शीर्षक वा पूरै समाचार लेख्न घोत्लिनुभन्दा च्याटबोटको सहयोग लिने चलनले पत्रकारको सिर्जनात्मक लेखन अझै कमजोर हुन सक्छ।
साथै, च्याटबोटले समाचारको तथ्य प्रमाणीकरण गर्न नसक्ने भएकाले सञ्चार संस्थामा दक्ष र पर्याप्त जनशक्ति नभए समाचारको आवरणमा मिथ्या समाचारको थुप्रो लाग्ने सम्भावना हुन्छ।
च्याट-जीपीटी प्रयोगको नैतिक मार्गचित्र के हो?
एआई सिर्जित अन्तर्वस्तुको कानूनी र नैतिक प्रयोग सम्बन्धी प्रश्नहरू पनि उठेका छन्। के च्याटबोट निर्माता वा प्रयोगकर्ताहरूले प्रतिलिपि अधिकार भएका कागजातको तथ्याङ्क प्रयोगका लागि अनुमति लिएका छन् त?
च्याट-जीपीटीले उत्पादन गर्ने विषयवस्तु नैतिक र कानूनी दायरा उल्लंघन नगरी तयार भएको छैन। सँगै, यस्ता विषयवस्तुको प्रयोगलाई बौद्धिक चोरी गरेको ठहर्छ कि ठहर्दैन भन्ने विषयमा पनि बहस जारी छ। कतिपयले यसलाई बौद्धिक चोरी मान्नुपर्ने र त्यसलाई रोक्न च्याट-जीपीटीले उत्पादन गरेको अन्तर्वस्तुमा वाटरमार्क लगाउनुपर्ने दबाब दिइरहेका छन्।
च्याटबोटले उत्पादन गरेका अन्तर्वस्तु (समाचारहरू) चिन्न सक्ने सफ्टवेयरहरू जस्तै ‘कपिलिक्स एआई’, ‘कन्टेन्ट एट स्केल’ को परीक्षण भइरहेको छ। यसो भए मानिसको मौलिक सिर्जना र यान्त्रिक उत्पादन छुट्याउन सकिन्छ।
साथै, समाचारमा च्याटबोट प्रयोग भएको छ भने त्यसलाई समाचारको शुरूमै खुलाउनुपर्छ। उक्त समाचार प्रमाणीकरण र सम्पादन गर्ने पत्रकारको नाम समेत समाचारमा खुलाउनुपर्छ। ताकि, त्यस समाचारमा कुनै त्रुटि देखिए सच्याउन कोही जिम्मेवार होस्।
उदाहरणका लागि नेचर जर्नलले च्याट-जीपीटीको प्रयोगबाट सिर्जना भएको लेखलाई जस्ताको तस्तै अनलाइनमा प्रकाशन गर्न बन्देज लगाएको छ। किनकि, यन्त्रबाट उत्पादित सिर्जनामा प्रश्न उठे त्यसको जिम्मेवारी वहन गर्ने व्यक्ति हुँदैन।
युनिभर्सिटी अफ अक्सफोर्डका प्राध्यापक लुसियानो फ्लोरिडी विद्वत्ता विनाको संयन्त्र भन्दै च्याट-जीपीटीबारे लेख्छन्, ‘यसले मानव जनशक्तिलाई प्रतिस्थापन गर्ने कुरा विश्वसनीय लाग्दैन। किनभने यसले विषयवस्तुको सन्दर्भबारे थाहा पाउन सक्दैन। बरु च्याटबोट प्रयोग गरेर गहन दृष्टिकोणयुक्त सामग्री तयार पार्ने लेखक नै भोलिको उत्कृष्ट बन्न सक्छ। किनकि, सही/गलतको ज्ञान, सन्दर्भको ज्ञान, आग्रह/पूर्वाग्रहको ज्ञान मानिसलाई हुन्छ, च्याटबोटलाई हुँदैन।”
अन्त्यमा, मेरो विचारमा समाचार लेखनमा च्याटबोटको प्रयोग हिसाबकिताब सुल्झाउन क्याल्कुलेटर वा कम्प्युटरको प्रयोग गरे जस्तै हो। तिनको प्रयोगले हामीलाई घाटा भएको छैन, बरु हाम्रो युगलाई अझै अघि बढाउन मद्दत पुर्याएको छ।
पत्रकारितामा पनि च्याट-जीपीटी जस्ता च्याटबोटको प्रयोगलाई स्वाभाविक विकासका रूपमा लिनुपर्ने हुन्छ। अन्तिम निर्णय गर्ने अधिकार त दक्ष पत्रकारलाई छँदै छ। पत्रकारितालाई इतिहासको पहिलो खेस्रा भनेर हामीले पढ्दै आएका थियौं। अब पत्रकारिताको पहिलो खेस्रा च्याट-जीपीटी जस्ता एआईले गर्ने भए। कुरा यत्ति हो।
सिनेटमा च्याटबोटको प्रयोग र सिकाइ
गत जनवरीको मध्यसम्म सूचना र विद्युतीय प्रविधिका समाचार प्रकाशन गर्ने अमेरिकी सञ्चार संस्था सिनेट डटकमले ‘सिनेट मनी स्टाफ’ का बाइलाइनमा खुरुखुरु एआई सिर्जित समाचार, फिचर र टिप्पणीहरू प्रकाशन गरेको रहेछ। जब हरेक लेख वा समाचारमा अनपेक्षित त्रुटिहरू बग्रेल्ती भेटिए, सिनेट पाठकको आलोचनाको निशाना बन्यो।
द वासिङ्टन पोस्ट र फ्युचरिजम लगायतले सिनेटको गुपचुप एआई प्रयोगको खुलेर आलोचना गरे। अनि, जनवरी १७ मा एउटा लामो क्षमायाचना लेख्दै एआईयुक्त च्याटबोटको भर पर्दा बर्बाद भएको भन्दै सिनेटले माफी माग्यो।
लगत्तै ‘सिनेट मनी स्टाफ’ का नाममा लेखिएका सबै समाचारमा एक हरफको टिप्पणी थपियो- ‘हामी यो समाचारको तथ्यगत सत्यताको परीक्षण गर्दै छौं। त्रुटि फेला परे सच्याउँछौं।’
पछि ‘एआई पनि स्टाफ हो र?’ भन्दै सामाजिक सञ्जालमा आलोचना भएपछि सिनेटले ‘सिनेट मनी स्टाफ’ लाई ‘सिनेट मनी’ मात्रै बनायो।
एआईले लेखेका समाचारलाई कुनै सम्पादकले सावधानीपूर्वक सम्पादन गरेपछि उसको नाम समेत राखेर सिनेट डटकममा प्रकाशन गर्न थालियो। साथै, त्यस्ता समाचारको बाइलाइनमुनि ‘यो समाचार/टिप्पणी/लेख एआईले सिर्जना गरेको हो र यसलाई हाम्रो सम्पादन समूहका सदस्यले सावधानीपूर्वक सम्पादन तथा तथ्य प्रमाणीकरण गरेपछि मात्रै प्रकाशन गरिएको छ’ भन्ने वाक्य अनिवार्य लेख्ने पद्धति बसालियो (तल स्क्रिनशट हेर्नुहोस्)।
सिनेटकी सम्पादक कोनी गुग्लिएल्मोले भन्छिन्, “च्याटबोटको प्रयोग केवल अध्ययनका लागि भएको थियो, जसको अर्थ प्रविधिले पत्रकारलाई प्रतिस्थापन गर्नु होइन। बरु पत्रकारको काममा कति सहयोग पुर्याउन सकिन्छ भनेर परीक्षण गर्नु हो।”
समाचारमा प्रविधिको प्रयोग ठीक कि बेठीक भन्ने कुरा त्यसले पत्रकारिताको मापदण्ड र सम्पादकीय मूल्यमान्यतालाई आत्मसात् गर्छ कि गर्दैन भन्नेबाट निर्धारण हुन्छ। सिनेट लगायतका मिडियाको हकमा च्याटबोटलाई समाचार लेख्न छाडिदिएर सम्पादक बेखबर बस्नु भनेको सम्पादकीय लापरवाही नै हो। पत्रकारिता जस्तो संवेदनशील पेशामा प्रविधिलाई नै निर्णयकर्ताका रूपमा खुला छाड्नु निश्चय नै गलत हो।