रासायनिक मलको अनुदान यथावत् राख्ने सरकारको निर्णय
सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिंदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले रासायनिक मलमा दिंदै आएको अनुदान कटौती नगरी यथावत् राख्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताइन्।
बैठकले रासायनिक मलमा दिंदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णय समेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्माले जानकारी दिइन्।
यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिले रासायनिक मलमा दिंदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो। आजको मन्त्रिपरिषद् बैठकपछि रासायनिक मलको अनुदान र मूल्य समेत यथावत् रहने भएको छ। (रासस)