वनदेवी स्कूल चम्काउने बुद्धि सर
छाप्रामा ६ विद्यार्थीलाई पढाउँदै आएको वनदेवीलाई प्रधानाध्यापक बुद्धिबहादुर तामाङले सहयोग जुटाएरै १८० विद्यार्थी पढ्ने भौतिक पूर्वाधार सम्पन्न स्कूलमा परिणत गरेका छन्।
घाम चर्किंदै गएको छ। दुई हजार २०० मिटर उचाइको उत्तरी पाखोबाट काठमाडौं उपत्यका छर्लङ्गै देखिएको छ। त्यही उत्तरी पाखो साँखुमाथि रहेको मणिचूडस्थित वनदेवी आधारभूत विद्यालयलाई घेरबार गर्न पर्खाल निर्माण चलिरहेको छ।
स्कूलको पश्चिमतर्फ अघिल्लो दिन लगाइएको तराईमा बनेका इँटाको गारो सुकिसकेको छ। नीलो रङको शर्ट, खरानी रङको ज्वारीकोट र पाइन्ट लगाएका अधबैंसे पाइपले पानी लगाएर घामले सुकेको गारोलाई भिजाइरहेका छन्। एक हातले पाइपबाट पानी छर्किरहेका उनको अर्को हातमा फाइल थियो।
उनी थिए, वनदेवी स्कूलका प्रधानाध्यापक बुद्धिबहादुर तामाङ। फागुन अन्तिम साता शंकरापुर नगरपालिका-८ स्थित विद्यालय परिसरमा पुग्दा प्रधानन्यायापक तामाङ बोले, “सरकारको प्राथमिकतामा बाटोघाटो, सडक, भौतिक संरचना छन्। शिक्षा प्राथमिकताको सूचीमै नहुँदा थुप्रै समस्या झेल्नुपरेको छ।”
उनी भने ती सबै समस्यासँग जुधिरहेका छन्, त्यो पनि ३४ वर्षदेखि। १९ वर्षको छँदा पढाउन शुरू गरेका तामाङले स्कूलको स्वरूपै फेरबदल ल्याएका छन्। २०६८ सालदेखि प्रधानाध्यापक भएर नेतृत्व दिइरहेका ५३ वर्षीय तामाङ स्कूललाई अब्बल बनाउने धुनमा एकोहोरिएका छन्। उनको चाहना छ- स्थानीय बालबालिकाले अन्यत्र पढ्न जान नपरोस्।
त्यसैका लागि उनी कक्षाकोठाभित्र मात्रै होइन, बाहिर पनि खटिइरहेकै हुन्छन्। त्यो खटाइ आजको मात्रै होइन।
पढाउन शुरू गर्दा उनले कक्षा १० मात्रै उत्तीर्ण गरेका थिए। भर्खर भर्खर शिक्षक हुँदा युवा जोश थियो। शिक्षकहरू प्रतिस्पर्धी र इमानदार भए विद्यार्थी राम्रा हुन्छन् भन्ने मान्यता राख्दै विद्यालय सुधारको कुरा गर्दा शिक्षकहरूले ‘पुच्छरले शरीर हल्लिंदैन’ भन्दै खिसीटिउरी गर्थे। आखिर साढे तीन दशकको लगावले ‘पुच्छरले शरीर हल्लाइछाडे’ र आज वनदेवी हेर्नलायक र पढ्नलायक स्कूल बनेको छ। अझै सन्तुष्ट नबनेका उनी भन्छन्, “स्थानीय बासिन्दाले आफ्ना बालबालिकालाई बोर्डिङ स्कूलतिर नलग्ने बनाउँछौं।”
कस्तो छ त अहिले वनदेवी स्कूल? वनदेवी आधारभूत विद्यालयको माझमा चौर छ। त्यसको चारैतिर स्कूल भवन बनेका छन्। विद्यार्थीलाई सहज हुने गरी भवन र भौतिक संरचना तयार छन्। त्यससँगै विद्यार्थीको संख्या पनि बढाएका छन्। “म प्रधानाध्यापक हुँदा स्कूलमा ६ जना मात्रै विद्यार्थी थिए,” १० वर्षअघिको सकस सम्झिँदै उनी भन्छन्, “एकातिर विद्यार्थी थिएनन्, अर्कातिर विद्यार्थी नहुने विद्यालयलाई शिक्षा मन्त्रालयले मर्जरमा लाँदै थियो। स्कूलको अस्तित्व नै सङ्कटमा थियो।”
त्यहीबीच उनले काम शुरू गरे, अभिभावकसँग छलफल बढाए। पढाइ राम्रो बनाउन तल्लीन भए। अहिले वनदेवीमा १८० विद्यार्थी पुगेका छन्।
उनले २०६८ सालमा कक्षा ६ सम्म पढाउन शुरू गरे। त्यसको दुई वर्षपछि कक्षा ८ सम्म पढाइ हुने बताए। अहिले कक्षा ८ मा मात्रै १६ जना विद्यार्थी छन्।
विद्यार्थी संख्या बढाउदा अर्को समस्या आइलाग्यो, शिक्षकको। त्यसपछि सम्बन्धित निकायलाई गुहार्न थाले। अहिले १० जनाको दरबन्दी भएको स्कूलमा १४ जना शिक्षक-कर्मचारी कार्यरत छन्। त्यतिले नपुगेपछि चार जना शिक्षकलाई निजी स्रोतबाट नियुक्त गरेका छन्।
विद्यालयको एउटा चुनौती निजी स्रोतका शिक्षकको दिगो व्यवस्थापन हो। त्यसका लागि उनले स्थानीयलाई गुहारे। तर, विद्यालय रहेको शंकरापुर-८ मा अधिकांश कृषिमा निर्भर छन्। दैनिक हातमुख जोड्नै ठिक्क हुने कृषकले विद्यालयलाई आर्थिक सहयोग गर्न सक्ने अवस्था थिएन। तैपनि उनले गाउँ-समुदायसँग हारगुहार गर्न थाले। अहिले त नगरपालिकाले पनि आंशिक सहयोग गरेको छ। “सरकारी दरबन्दी कम छ, स्कूल राम्रो बनाउन निजी स्रोतबाट शिक्षकको व्यवस्था नगरी हुँदैन,” उनी गुनासो गर्छन्, “कतै फालाफाल शिक्षक छन्, हामीले चलाएको कक्षा अनुसारको दरबन्दी पाएका छैनौं।”
त्यो सँगसँगै उनी विद्यालयलाई स्रोतसाधन सम्पन्न बनाउनतर्फ लागे। त्यही क्रममा सनराइज एजुकेशन फाउन्डेशनसँग स्कूलको सहकार्य भयो। २०६८ सालदेखि सनराइज फाउन्डेशनले सहयोग गर्दै आएको छ। फाउन्डेशनकै सहयोगमा २०७२ सालमा एउटा भवन पनि बन्यो।
नयाँ भवनमा पढाइ थालेको एक साता मात्रै के भएको थियो, भूकम्पले गर्ल्यामगुर्लुम ढल्यो। फेरि स्कूललाई भवन अभाव भयो। विभिन्न क्षेत्रको सहयोग जुटाएर भवन तयार पारे।
विद्यालय परिसरकै पश्चिमतर्फ दुईतले पक्की भवन भर्खरै बनिसकेको छ। त्यो भवन सफल सुनौलो समाजको सहयोगमा तयार पारेका हुन्। भवन निर्माण हुँदै गर्दा समाजका राकेश हमालको देहावसान भयो। आर्थिक सहायता जुटाउन सहयोग गरेका हमालकै स्मृतिमा भवनको नाम नै ‘राकेश हमाल स्मृति भवन’ राखिएको छ।
आधारभूत पूर्वाधार तयार भएसँगै उनको ध्यान पढाइतिर गएको छ। पढाइमा नयाँ विधि अपनाउनुपर्ने उनको बुझाइ छ। त्यसैले उनी ‘मल्टिग्रेड मल्टिलेभल (एमजीएमएल)’ अर्थात् बहुकक्षा बहुस्तर विधिबाट कक्षा ३ सम्म पढाउने स्रोत जुटाउन दौडधुप गरिरहेका छन्। यो भनेको कक्षा १ देखि ५ सम्म ग्रेड टिचिङ हुने कक्षामा धेरैभन्दा धेरै शिक्षण सामग्रीका माध्यमबाट पढाइने विधि हो। यस विधिमा शिक्षकले प्रवचन दिनेभन्दा पनि ‘की वर्ड’ (मुख्य शब्द सिकाइ)का आधारमा सिकाउने, पढाउने गरिन्छ।
आफूले चाहँदैमा सजिलै सहयोग जुट्दैन भन्ने तीतो अनुभव उनीसँग छ। अझ संघीय राजधानीको विद्यालय भएर पनि समस्या बेहोर्नुपरिरहेको उनी सुनाउँछन्। “शिक्षाको क्षेत्रमा काम गर्ने दातृ संस्थाले काठमाडौं सम्पन्न छ भनेर यहाँका विद्यालयलाई प्राथमिकतामा राख्दैनन्,” प्रधानाध्यापक तामाङ भन्छन्, “हामी पनि काठमाडौंमै छौं, तर स्रोतको अभावसँग लडिरहेका छौं।”
काठमाडौंमा भएकाले दातृ निकाय तथा संस्थाले सहयोग गर्दैनन् भने सरकारी सहयोगले पुग्दैन। सरकारी सहयोग कस्तो छ भन्ने बुझाउन उनी दिवा खाजाको उदाहरण दिन्छन्। सरकारले दिवा खाजाका लागि प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँ दिन्छन्। “एक कप चियालाई २० रुपैयाँ पर्छ। एउटा दुनोट २० रुपैयाँ घटीमा आउँदैन। एक प्लेट चना खाने हो भने पनि २० रुपैयाँ पर्छ। १५ रुपैयाँले विद्यार्थीलाई के खुवाउने?” उनी भन्छन्, “सरकारले १५ रुपैयाँ दिन्छ, विद्यार्थीलाई खाजा खुवाउन २५ देखि ३० रुपैयाँ खर्च हुन्छ।”
तैपनि स्कूलले सकेको गरिरहेको छ। साना विद्यार्थीलाई स्कूलले पकाएर खुवाउने गरेको छ भने ठूलालाई क्यान्टिनमा किनेर खान दिने व्यवस्था मिलाएको छ।
१८० विद्यार्थी भएको वनदेवीलाई अलि सहजताका साथ चलाउन वार्षिक १० देखि १२ लाख बजेट चाहिने उनी बताउँछन्। चारैतिरबाट सहयोग जुटाउँदा पनि वार्षिक चार लाख अभाव हुने गरेको छ। “कहिले यताको बजेट काटेर उता हाल्नुपर्छ, कहिले उताको बजेट काटेर अन्त हाल्नुपर्छ,” उनी भन्छन्।
सानैदेखि स्कूल पठाउने वातावरण बनाउन मन्टेस्वरी कक्षा सञ्चालन गरिएको छ। यसका लागि उनले शिक्षकबाटै सहयोग जुटाएका छन्। “मन्टेस्वरी र कक्षा चलाउन शिक्षकबाटै चन्दा सङ्कलन गरेर दुई लाख जुटायौं,” प्रधानाध्यापक तामाङ सुनाउँछन्।
उनको कामको स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी पनि प्रशंसा गर्छन्। शिक्षक, अभिभावक सबै मिलेर वनदेवी विद्यालयलाई राम्रो बनाएको शंखरापुर नगरपालिका शिक्षा शाखा प्रमुख सुकदेव नेपाल बताउँछन्। “जुन मेहनतका साथ स्कूललाई यहाँसम्म ल्याउनुभएको छ, त्यो काम प्रशंसायोग्य छ,” नेपाल भन्छन्।
विद्यालयले बालमैत्री शिक्षण सिकाइ विधि राम्रोसँग सञ्चालन गरेको मात्रै होइन, एमजीएमएल एप्रोच पनि अपनाएको नेपाल बताउँछन्। “वनदेवीले टिचिङ, लर्निङको पाटोमा पनि राम्रो काम गरेको छ,” उनी भन्छन्।
धेरै सरकारी शिक्षकले आफ्ना सन्तानलाई निजी स्कूल वा अन्त पढाउँछन्। प्रधानाध्यापक तामाङका दुवै सन्तानले वनदेवीमै पढे। गाउँका बालबालिकालाई सरकारी स्कूलमै पढाउन अभिभावकलाई आग्रह पनि गर्छन्। “अभिभावकलाई राम्रो पढाइ हुन्छ भन्ने विश्वास दिलाएपछि विद्यार्थी नआउने कुरै छैन,” प्रधानाध्यापक तामाङ प्रश्न गर्छन्, “नत्र एक घण्टा हिंडेर जङ्गलको छेउमा छोराछोरी पढाउन किन पठाउँथे?” त्यसैले त अन्यत्र सरकारी स्कूलमा विद्यार्थी घटिरहेका वेला शिवपुरी राष्ट्रिय निकुञ्जसँगै टाँसिएको यो विद्यालयमा विद्यार्थी हरेक वर्ष बढिरहेका छन्।