संवैधानिक परिषद् सम्बन्धी विधेयक संसद्मा पेश
प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ पेश गरिएको छ।
प्रतिनिधि सभाको चैत ५ गतेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयक पेश गरेकी हुन्। सरकारले संवैधानिक व्यवस्था विपरीत विधेयक ल्याएको भन्दै आलोचना भइरहेको छ।
त्यस्तै, प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीको तर्फबाट समितिका सदस्य रमेश लेखकले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्तुत गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ।
यसैगरी, राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बैठकको बहुमतले स्वीकृत गरेको छ। उक्त प्रस्तावलाई अघिल्लो बैठकमा गणपूरक सङ्ख्या नपुग्दा निर्णयार्थ प्रस्तुत गरिएको थिएन।
बैठकको अन्त्यमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री दाहालले चैत ६ गते विश्वासको मत लिने कार्यक्रम रहेको सभालाई जानकारी गराएका थिए। प्रतिनिधि सभाको अर्को बैठक यही चैत ६ गते दिउँसो १ बजे बस्नेछ।