ट्रम्प भन्छन्- आउँदो मंगलबार मलाई पक्राउ गर्न सक्छन्
अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आउँदो मंगलबार आफू पक्राउ पर्न सक्ने बताएका छन्।
एक पूर्व पोर्नस्टारलाई कुरा लुकाउनका लागि पैसा दिएको आरोपमा आफू गिरफ्तार हुन सक्ने सम्भावना उनले व्यक्त गरेका हुन्। आफैंले बनाएको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल प्लेटफर्म’ मा पोस्ट गर्दै ट्रम्पले आफू गिरफ्तार भइहाले प्रदर्शन गर्न समर्थकलाई आह्वान गरेका छन्।
अर्को साता उनलाई अभियोग लगाइने भनी मिडियामा भएको रिपोर्टका आधारमा ट्रम्पले त्यस्तो सम्भावना व्यक्त गरेको उनका एक वकीलले बताएका छन्। उनी विरुद्ध मुद्दा दर्ता भएमा अमेरिकाका पूर्व राष्ट्रपति विरुद्ध आपराधिक मुद्दा दर्ज भएको पहिलो घटना हुनेछ।
सन् २०२४ को राष्ट्रपति निर्वाचनका लागि रिपब्लिकन पार्टीबाट उम्मेदवार छनोटका लागि उनले थालेको अभियानलाई पनि यसले गम्भीर असर पुग्नेछ। ट्रम्पको तर्फबाट पूर्व पोर्नस्टार स्ट्रोमी डेनियललाई सन् २०१६ को राष्ट्रपति निर्वाचनअघि नै पैसा दिइएको सम्बन्धमा पछिल्लो पाँच वर्षदेखि न्यूयोर्कका अभियोजनकर्ताहरूले अनुसन्धान गरिरहेका छन्।
डेनियलले आफूलाई ट्रम्पका पूर्व वकील मिसेल कोहनले सन् २०१६ को निर्वाचनअघि ट्रम्पसँगको सम्बन्धबारे मौन रहन भन्दै एक लाख ३० हजार अमेरिकी डलर दिएको बताएकी छन्। ट्रम्पले भने आफूहरूबीच यौन सम्बन्ध रहेको अस्वीकार गरेका छन्। साथै, राजनीतिक उद्देश्यले प्रेरित भएको भन्दै मुद्दा बेवास्ता गरेका छन्।
७६ वर्षीय ट्रम्पमाथि अनुसन्धान चलिरहेका अरू थुप्रै मुद्दामध्ये यो एक हो। (बीबीसीबाट)