‘डीएनए अध्ययनले नेपालको बाघ संरक्षणमा मद्दत पुर्याउन सक्छ’
‘बाघको आहारा प्रजातिहरूबारे जानकारी राख्न र बाघकाे भरपर्दाे सङ्ख्या निकाल्न सकिने भएकाले डीएनए अध्ययनले बाघ संरक्षणमा मद्दत पुग्न सक्छ।’
पछिल्लो आँकडा अनुसार, नेपालमा बाघको सङ्ख्या ३५५ पुगेको छ। यो सन् २०१० को गणनामा देखिएको सङ्ख्या १२१ भन्दा झन्डै तीन गुणाले बढी हो। सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने भनी बाघको वासस्थान रहेका सबै १३ देशहरूले सन् २०१० मा सम्झौता गरेका थिए। नेपाल त्याे लक्ष्य प्राप्त गर्ने पहिलो देश हो। कतिपय देशहरूको न्युन प्रगतिसँग तुलना गर्दा नेपालको सफलता झनै उल्लेख्य छ। कम्बोडिया, लाओस र भियतनाममा बाघ झन्डै लोप हुने अवस्थामा छन्।
तर, नेपालमा भएको बाघको वृद्धिले केही महत्त्वपूर्ण सवाल उठाएका छन्। मुलुकको संरक्षित क्षेत्रले बाघको कति जनसङ्ख्या धान्न सक्ला? यो सङ्ख्या कत्तिको स्वस्थ छ? र बाघको वृद्धिले नजिकैका समुदायलाई सम्भाव्य जोखिम बढाएको हुनाले बाघ र मानिसबीच द्वन्द्व घटाउन के कस्ता उपाय अपनाउन सकिएला?
बाघको डीएनए अध्ययन गरेर यी कतिपय गम्भीर सवालहरूको जवाफ खोज्न सकिने नेपालका वैज्ञानिक दिवेश कर्माचार्य बताउँछन्। कर्माचार्यले सन् २००७ मा काठमाडौंमा सेन्टर फर मलिकुलर डाइनामिक्स नेपाल नामको वन्यजन्तुको आनुवंशिक अध्ययन गर्ने प्रयोगशाला स्थापना गरे। त्यसपछि सन् २०११ मा उनले बाघको दिसा सङ्कलन गरी त्यसको डीएनए विवरणको अभिलेख राख्ने गरी बाघको अनुवंश सम्बन्धी अध्ययनको शुरूआत गरे। त्यस अध्ययनको आधारमा हालै उनले अ मलिकुलर अप्रोच टु द कन्जर्भेसन एन्ड म्यानेज्मेन्ट अफ द बेंगाल टाइगर ईन नेपाल पुस्तक प्रकाशन गरेका छन्।
डीएनए अध्ययन गरेर बाघको जीवन सम्बन्धी केकस्ता कुरा थाहा पाउन सकिन्छ र यसले नेपालका बाघ र मानिस दुवैलाई कसरी मद्दत पुर्याउन सक्ला भनी बुझ्न रमेश भुसालले कर्माचार्यसँग काठमाडौंमा रहेकाे उनकाे प्रयोगशालामा गरेको कुराकानी:
डीएनए अध्ययनको प्रयोग गरेर कसरी सही रूपमा बाघको गणना गर्न सकिएला?
पहिले पहिले बाघको पाइला हेरेर बाघलाई एक-एक गरेर पहिचान गरी यसको गणना गरिन्थ्यो। यो विधिमा प्रत्येक पाइला विशिष्ट हुन्छ भन्ने अनुमानको भरमा पाइलाको आकार मापन गरिन्छ। तर, जमीनको बनावट र चिस्यानको अवस्था लगायतका पर्यावरणीय पक्षहरूले पाइलाको आकारलाई असर गर्न सक्छ, जसले गर्दा अनुमानमा थुप्रै त्रुटि आउन सक्छन्।
पाइलाको आकार नाप्ने विधिपछि यसभन्दा अझै भरपर्दो विधि भनी क्यामेरा ट्र्यापहरूको प्रयोग गर्न थालियो। यो विधिमा प्रत्येक बाघको पाटा फरक-फरक हुन्छन् भन्ने आधारमा ठाउँ ठाउँमा राखिएका क्यामेराको प्रयोग गरी बाघको तस्वीर लिइन्छ। क्यामेरा ट्र्यापिङ् विधिमा पनि विभिन्न बेफाइदाहरू छन्। जस्तै, अप्ठ्यारो भूबनोट भएको स्थानमा राम्रो तस्वीर नआउने, प्रतिकूल मौसम, चोरी र तोडफोड हुने डर र व्यापक फैलिएको वासस्थानमा क्यामेरा ट्र्यापमा सबै बाघ नआउने जोखिम। यो विधि सञ्चालनको लागि मानव स्रोतको पनि अत्यधिक खपत हुन्छ।
यीमध्ये धेरै चुनौतीलाई मलिकुलर विधिले सम्बोधन गर्छ। यो विधिमा बाघको आनुवंशिक विवरण पत्ता लगाउन बाघको दिसा सङ्कलन गरिन्छ। प्रत्येक बाघको डीएनए फरक-फरक हुने भएकाले बाघको सङ्ख्या गणनामा त्रुटि हुने सम्भावना कम हुन्छ।
बाघ गणनामा डीएनए विधिले क्यामेरा ट्र्यापको विधिलाई प्रतिस्थापन गर्ला त?
अहिले नै यो विधिले क्यामेरा ट्र्यापको विधिलाई पूरै प्रतिस्थापन गर्छ भन्ने मलाई लाग्दैन। त्यसैले बाघ गणना गर्दा डीएनए विश्लेषणलाई छुट्टै प्रक्रियाभन्दा पनि क्यामेरा ट्र्यापिङ्सँगै एकीकृत रूपमा प्रयोग गर्न सकिन्छ। विज्ञानको विकास हुँदै गर्दा चाँडै नै यो विधिलाई बाघ गणनाको प्रमुख विधिका रूपमा प्रयोग गर्न सकिन्छ।
सरकारी अधिकारी र संरक्षित क्षेत्रमा काम गर्ने उल्लेख्य समूहले क्यामेरा ट्र्यापबाट डीएनए विधिमा जान आनाकानी गरिरहेका छन्। मलाई लाग्छ, यो हिचकिचाहट मूलतः नतीजामा फेरबदल आउन सक्ने डरले हुन सक्छ। बाघको सङ्ख्या घटेको छ भनेर कसैले पनि भन्न चाहँदैनन्। त्यसैले आनुवंशिक अध्ययन नै गरे पनि पहिले घोषणा गरिएको नतिजालाई परिमार्जन गर्न सक्ने अवस्था छैन। तर, कसैले चाहेमा क्यामेरा ट्र्यापसँगै यो विधि पनि प्रयोग गर्दा बढी सजिलो हुन सक्छ। दोस्रो, देशहरूले यो विधि प्रयोग गर्न पर्याप्त स्रोत नभएको बताइरहेका छन्।
बाघको डीएनए विश्लेशण गर्न कत्तिको महँगो पर्छ?
नेपालमा हाल क्यामेरा ट्र्यापिङ् विधि प्रयोग गरेर बाघको गणना गर्न पाँच लाख डलर खर्च हुने गरेको छ। यसको आधा रकमले डीएनए विश्लेषण गरेर गणना गर्न सकिन्छ।
बाघको आनुवंशिक स्वास्थ्यबारे र बाघका समूहहरू कत्तिको पर्गेलिएका छन् भन्ने सम्बन्धी कत्तिको जानकारी डीएनए अध्ययनले प्रदान गर्न सक्छन्?
नेपालमा रहेको बाघको समूहलाई तीन पृथक् उपसमूहमा विभाजन गर्न सकिन्छ। ती उपसमूहलाई खेतीयोग्य जमीन वा मानव बस्तीले छुट्याएका छन्। मध्य नेपालको समथर भूमिमा रहेको चितवन राष्ट्रिय निकुञ्ज र योसँग जोडिएको पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या सबैभन्दा धेरै छ।
बाघको दोस्रो उपसमूह चितवनको पश्चिममा रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा छ र तेस्रो उपसमूह योभन्दा पनि पश्चिम शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छ। सन् २०११ देखि २०१३ को बीचमा मेरो नेतृत्वमा नेपाल टाइगर जेनम प्रोजेक्टले यी बाघहरूको पहिले बृहत् आनुवंशिक अध्ययन गरेको थियो। त्यति वेला हामीले बाघको दिसाको ३९६ नमूना सङ्कलन गरेका थियौं। त्यति वेला ७७ भाले र ४८ पोथी गरी १२५ वटा बाघको गणना गरेका थियौं।
हामीले अन्यको तुलनामा बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आनुवंशिक विविधता अलि धेरै भएको पाएका थियौं। यसको अर्थ स्वस्थ र दिगो सङ्ख्या कायम गर्न चितवन राष्ट्रिय निकुञ्जको आरक्षण गतिविधि मूलतः आनुवंशिक विविधता कायम गर्ने विषयमा केन्द्रित हुनुपर्छ।
हामीले यी उपसमूहहरूमध्ये एक वासस्थानबाट अर्को वासस्थानमा सरेका बाघको सङ्ख्या सात (पाँच भाले र दुई पोथी) रहेको पाएका थियौं। उदाहरणका लागि एउटा भाले बाघ र दुई पोथी शुक्लाफाँटाबाट बर्दिया राष्ट्रिय निकुञ्जमा सरेको पाएका थियौं। ती बाघहरूले त्यहीं नै प्रजनन गरे भने हाडनाता प्रजननबाट बाघकाे आनुवंशिक स्वास्थ्य बलियाे बनाउन मद्दत पुग्छ।
डीएनए विश्लेषणले बाघ र अन्य प्रजातिबारे कस्तो जानकारी प्रदान गर्छन्?
दिसा सङ्कलन गरेर डीएनए विश्लेषण गर्दा बाघको आनुवंशिक अभिलेख गर्न सक्ने मात्रै हाेइन, आहारा प्रजातिकाे पनि अभिलेखीकरण गर्न सकिन्छ। हामीले हाम्रो अध्ययनमा प्रजातिहरूको आहार मिश्रण र अन्य महत्त्वपूर्ण विषयको समेत जानकारी सङ्कलन गरेका थियौं। यस्तो जानकारी क्यामेरा ट्र्यापिङबाट सङ्कलन हुन सक्दैन। बाघको आहार नक्शाङ्कन पनि गरेका थियौं।
हामीले नेपालको हिमाली क्षेत्रमा विशेष गरी मुस्ताङमा त्यस्तै किसिमको अध्ययन गर्दा हिमचितुवाको आहारमा ४३ प्रतिशत घरपालुवा बाख्रा, ५५ प्रतिशत घोरल र दुई प्रतिशत घरपालुवा भेडा रहेको पाइयो। यसको अर्थ हिमचितुवाको मुख्य आहारा घरपालुवा जनावर हुन्। त्यसैले गर्दा मानिस र वन्यजन्तु द्वन्द्व हुने गरेको छ।
तस्करी गरिएका वन्यजन्तु अङ्गहरूको स्रोत पत्ता लगाउन डीएनए प्रभावकारी विधिविज्ञान उपकरण हुन सक्छ। के नेपालमा पनि बाघको तस्करी रोक्न यसको प्रयोग गरिएको छ?
यो विधिको विकास हुँदै गइरहेको छ। संसारभरि नै विभिन्न प्रजातिमा यसको प्रयोग गरिएको छ। हामीले हाम्रो अध्ययनमा सङ्कलन गरेका बाघको आनुवंशिक अभिलेख प्रयोग गरेर बरामद भएका बाघका अङ्गको विश्लेषण गरी मारिएका बाघको लिङ्ग र भौगोलिक उद्गमबिन्दु पत्ता लगाउन सक्छौं। सन् २०१४ देखि २०१६ को बीचमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागले बरामद गरेका १३ छालाका टुक्रा र रगत लत्पतिएका दुई चक्कु गरी १५ बाघ निस्साको विश्लेषणमा यो प्रविधि प्रयोग गरेका थियौं।
बरामद गरिएका सबै विधिविज्ञान नमूनाहरू बाघकै भएको पाइएको थियो। १० भाले बाघ र पाँच पोथी। विधिविज्ञान नमूनाको एउटा आनुवंशिक विवरण हाम्रो प्रयोगशालामा भएको डीएनएहरूको विवरणसँग भिडाउँदा बर्दियाबाट पहिले सङ्कलन गरिएको बघिनीकाे आनुवंशिक विवरणसँग शतप्रतिशत मिलेको थियो। यसको अर्थ त्यो बाघ सन् २०११ र २०१३ को बीचमा जीवित थियो। सन् २०१४ मा बरामद हुनुभन्दा केही समयअघिसम्म मात्रै त्याे बाघको शिकार भएको हुन सक्ने देखियो।
बाँकी नमूनाहरू हामीसँग भएको डीएनए विवरणसँग मिलेनन्। तर, ती बाघ कहाँका हुन् भनेर पत्ता लगाएका थियौं। धेरैजसो नमूनाहरू बर्दिया र शुक्लाफाँटा क्षेत्रका थिए। यसले चोरी शिकारी कहाँ बढी भइरहेको छ भन्ने देखाउँछ।
संरक्षणमा डीएनएको प्रयोगलाई थप एकीकृत गर्न दक्षिणएशियाका मुलुकले कसरी राम्रो सहकार्य गर्न सक्छन्?
भारतमा पनि केही प्रयोगशाला छन्। तर, तिनीहरू एक्लाएक्लै काम गर्छन्। नेपालमा एउटा मात्रै प्रयोगशाला छ।
बाङ्लादेश र भुटानमा कुनै पनि प्रयोगशाला छैनन्। नेपालमा रहेका धेरैजसो बाघ वासस्थानहरू उत्तरपश्चिम भारतका आरक्षित क्षेत्रसँग जोडिएका छन्। सुन्दरवन जङ्गल भारत र बंगालमा फैलिएको छ। त्यस्तै भुटान र भारतमा पनि साझा बाघ वासस्थान छन्। हामी क्षेत्रीय बाघ आनुवंशिक केन्द्र स्थापना गरेर स्रोत र विज्ञहरूको सामूहिक ज्ञानको फाइदा लिन सक्छौं।
आनुवंशिक अनुसन्धानको कुरा आउँदा मुलुकहरू भित्रैदेखि डराउँछन्। उनीहरू आनुवंशिक सूचनालाई गोप्य सूचनाका रूपमा बुझ्छन् र अन्य देशहरूले आफ्ना बाघहरूका आनुवंशिक जानकारी पाए भने के होला भन्ने चिन्ता गर्छन्। तर, खतरामा रहेका प्रजातिहरूलाई बुझेर त्यस्ता प्रजातिलाई संयुक्त रूपमा संरक्षण गर्नु नै प्रमुख समग्र लक्ष्य हुनुपर्छ।
यस क्षेत्रमा बाघका थुप्रै वासस्थानहरू जोडिएका हुनाले संयुक्त काम गर्नुपर्छ। हामीले विश्वासको वातावरण निर्माण गरेर मिलेर काम गर्ने इच्छाशक्ति व्यक्त गर्नुपर्छ। बाघको संरक्षण गर्ने र व्यवस्थापन रणनीतिलाई अझै प्रभावकारी रूपमा लागू गर्ने हो भने आनुवंशिक तहको अध्ययन गर्नुपर्छ।
(भुसाल द थर्ड पोलका नेपाल सम्पादक हुन्। यो अन्तर्वार्ता द थर्ड पोलबाट साभार गरिएको हो।)