उधारोका दुई कुखुराबाट शुरू गरिएको व्यवसायले दैनिक अढाई लाखको कारोबार
उद्योग डुबेर घरखेत गुमाएपछि नारायणगढ छोडेर धनगढी पुगेकी सन्तमाया दम्पतीले उधारोमा ल्याएका दुई कुखुराबाट शुरू गरेको व्यवसायले अहिले दैनिक अढाइ लाखको कारोबार गरिरहेको छ।
सुदूरपश्चिमको प्रमुख शहर धनगढीमा मासु काटेर बेच्ने चलन थिएन। अझ ब्रोइलर कुखुराको मासु त कसैले खाँदैनथ्यो। त्यही वेला धनगढीको चौराहामा सन्तमाया विकले मासु पसल सञ्चालन गरेको २४ वर्ष भयो। “धनगढीमा ब्रोइलर कुखुराको मासु खाने चलन नै हामीले बसालेका हौं,” उनी भन्छिन्।
उनको १२ वर्षकै उमेरमा विवाह भयो। पछि दुई छोरा र दुई छोरीकी आमा भइन्। त्यही वेला सन्तमायाका श्रीमान् वार्ताबहादुर विकले केही साथीहरूसँग मिलेर साझेदारीमा ‘मनकामना फिड उद्योग’ सञ्चालन गरे। उद्योग चलेन। उनीहरू ऋणमा डुबे। चितवनको नारायणगढमा भएको घर पनि ऋणले खायो।
त्यसपछि बालबच्चा बोकेर २०५४ सालमा धनगढी आएको सन्तमाया बताउँछिन्। “हामी पढेलेखेका मान्छे थिएनौं। उद्योग डुबेपछि सडकमा आयौं। जे होला होला भनेर धनगढी आयौं,” उनी भन्छिन्।
धनगढीमा जीविकोपार्जन गर्न २०५५ सालमा उनीहरूले ‘नारायणी मासु पसल’ दर्ता गरे। र यहींबाट शुरू भयो सन्तमायाको उद्यम यात्रा।
“पहिलो दिन दुई वटा ब्रोइलर काटें। यो त आलु हो, को खान्छ भने,” सन्तमायाले पुरानो कुरा सम्झिइन्, “ग्राहकको कुरा सुन्दा आँसु नै झर्थ्यो। कुनै दिन बुहुनी समेत नहुँदा दिक्क लाग्थ्यो।”
त्यति वेला धनगढीमा एक जनाले जिउँदो कुखुरा बेच्थे। काटेर बेच्न भने सन्तमाया दम्पतीले नै शुरू गरेका हुन्। उनीहरूले नारायणगढदेखि ब्रोइलर कुखुरा ल्याउँथे।
सन्तमाया र वार्ताको जोडीले व्यवसायलाई अघि बढाउँदै लग्यो। ग्राहकको तीखो वचनलाई सहज रूपमा लिएको उनी सुनाउँछिन्। फलस्वरूप व्यवसाय फस्टायो।
उनीहरूले शुरूआतमा ३० हजार रुपैयाँ लगानी गरेर व्यवसाय थालेका थिए। “धनगढीमा भाडामा लिएको पसलका साहुले भाग्ने हुन् कि भनेर १५ हजार रुपैयाँ अग्रिम लिए। १५ हजार अचानो सहित औजार जुटाउनमै लाग्यो,” सन्तमाया भन्छिन्, “कुखुरा चाहिं नारायणगढको साहुले उधारोमा पठाइदियो।”
अहिले सन्तमाया दैनिक दुईदेखि अढाई लाख रुपैयाँसम्मको कारोबार गर्ने भएकी छन्। उनीहरूले धनगढीको चौराहामै जग्गा जोडेर घर बनाएका छन्। व्यवसायका लागि पाँच कट्ठामा फार्म निर्माण गरेका छन्।
श्रीमान् वार्ता सुगर र आँखाको समस्याले च्यापेपछि थलिएका छन्। ५९ वर्षीया सन्तमायालाई जेठो छोरा ज्ञानेन्द्रले सघाइरहेका छन्।
यति वेला त कैलाली ब्रोइलरको मासुमा आत्मनिर्भर भएको छ। सन्तमायाबाट शुरू भएको व्यवसायमा सयौं लागेका छन्।
पशु वधस्थल सञ्चालन
उनीहरूले मासु प्रशोधनसँगै दुई वर्षदेखि आधुनिक पशुपन्छी वधस्थल समेत सञ्चालन गरिरहेका छन्। यसमा करीब तीन करोड रुपैयाँ लगानी भएको सन्तमायाका छोरा ज्ञानेन्द्र बताउँछन्।
ज्ञानेन्द्र कुखुराको मासु प्याकेजिङ गरी धनगढी सहित काठमाडौं लगायत शहरमा पुर्याउँछन्। दैनिक २५० देखि ३०० वटा कुखुरा र १० देखि १५ वटा खसीको मासु प्याकेजिङ हुँदै आएको उनी बताउँछन्। अब छिट्टै ससेज बनाएर बेच्ने उनको योजना छ।
सन्तमायाको मासु पसल अहिले उद्योगमा रूपान्तरण भइसकेको छ। १८ जनाले काम पाएका छन्। तीमध्ये नौ जना महिला छन्। “म सुत्केरी भएको १३औं दिनदेखि मासु काटेर बेच्न थालें। त्यही भएर महिला दिदीबहिनी काम खोज्न आउँदा नाइँ भन्न सक्दिनँ,” उनी भन्छिन्।
उनलाई लाग्छ, महिला आत्मनिर्भर हुनुपर्छ। आफैंले कमाउने भएपछि घरपरिवार र छरछिमेकले हेप्न सक्दैनन्। त्यसैले उनको उद्योगमा काम गर्न आउनेहरूलाई आत्मनिर्भर हुन हौसला दिन्छिन्।
काम सिकेर गएका कतिपयले आफ्नै व्यवसाय पनि गरिरहेका छन्। सन्तमाया भन्छिन्, “हामीले कति कमायौं भन्दा पनि कतिले रोजगारी पाए भन्ने कुरामा खुशी लाग्छ।”