रामसहाय यादव: विज्ञान शिक्षकदेखि उपराष्ट्रपतिसम्म
अस्थायीबाट स्थायी शिक्षक हुन १२ वर्ष मेहनत गरेका रामसहायप्रसाद यादव सक्रिय राजनीतिमा लागेको १५ वर्षमै उपराष्ट्रपति बनेका छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालका रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन्। शुक्रबार भएको निर्वाचनमा ३० हजार ३२८ मतभार पाएर यादव उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्। उनी देशको तेस्रो उपराष्ट्रपति बनेका छन्।
उपराष्ट्रपति निर्वाचित हुने उनी मधेशी समुदायका दोस्रो व्यक्ति हुन्। यसअघि २०६५ सालमा परमानन्द झा उपराष्ट्रपति बनेका थिए।
लामो समय शिक्षण पेशामा बिताएका यादव मधेश आन्दोलनबाट चर्चामा आएका थिए। शिक्षक आन्दोलनबाट राजनीतिक यात्रा शुरू गरेका यादव मधेशी समुदायलाई आफ्नो अधिकारका पक्षमा लड्न प्रेरित गर्ने व्यक्तिमा पर्छन्। उनी मधेश आन्दोलनको नेतृत्व गर्ने थोरै नेतामध्ये पर्छन्।
सानैदेखि कम्युनिस्ट राजनीतिबाट प्रभावित यादवले बाराको कलैयामा २३ वर्षसम्म शिक्षण पेशा गरेका थिए। उनलाई मधेशका माड्साबका रूपमा समेत चिन्ने गरिन्छ।
उनले २०४८ सालमा अस्थायी शिक्षकका रूपमा पन्नादेवी कन्या माविबाट शिक्षण पेशा शुरू गरेका थिए। उनले १२ वर्षसम्म अस्थायी शिक्षक भएर पढाएका थिए।
२०६० सालमा आएर उनी स्थायी शिक्षकमा नाम निकाल्न सफल भए। उनी विज्ञान र गणितमा अब्बल शिक्षकका रूपमा चिनिन्थे।
शिक्षण पेशामा संलग्न भएकै वेला उनी राजनीतिमा पनि सक्रिय थिए। भूमिगत राजनीतिका क्रममा उनलाई चन्द्रगुप्तका नामले परिचित थिए।
मधेश आन्दोलनका क्रममा उनले शिक्षण पेशाबाट राजनीतमा आए। त्यसपछि मध्य तराईमा मधेश जनविद्रोहको नेतृत्व गरेका थिए। उनलाई मधेशमा सडक संघर्षका नायकमा रूपमा लिने गरिन्छ।
मधेश आन्दोलनपछि बनेका प्रायः सबै सरकारमा मधेशका सबै नेता मन्त्री बने। उनी भने लाभको पदतिर आकर्षित भएनन्। त्यसैले पनि होला, उनलाई मधेशको राजनीतिमा स्वच्छ तथा इमानदार छविका नेताका रूपमा लिइन्छ।
बाराको कचोर्वास्थित बसबरियामा २०१७ सालमा सिहवादेवी यादव र प्रसादराय यादवका कान्छो छोराका रूपमा जन्मिएका उनको बाल्यकाल सामान्य तवरले बितेको थियो। उनका दुई दाइ र तीन दिदी छन्।
उनको प्रारम्भिक शिक्षा गाउँकै नेपाल राष्ट्रिय प्राविबाट शुरू भएको थियो। त्यसपछि कक्षा ४ देखि ७ सम्म कचोर्वास्थित जनता निमाविमा अध्ययन गरेका थिए। कक्षा ८ मा सिम्रौनगढस्थित कंकाली माविमा भर्ना भएका उनले एसएलसी पनि त्यहींबाट गरे।
भारतको सीतामढी कलेजबाट बीएस्सीसम्म अध्ययन गरेका यादव त्यसपछि शिक्षण पेशामा लागेका थिए। अध्यापनकै क्रममा उनले ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जबाट गणितमा बीएड गरेका थिए।
नेपाल सद्भावना पार्टीबाट राजनीति शुरू गरेका यादव युवावस्थादेखि नै प्रगतिशील स्वभावका थिए। २०४७ सालमा सद्भावना पार्टीको नेपाल शिक्षक संगठनमा आबद्ध भएका थिए।
२०५९ सालमा नेपाल सद्भावना पार्टीको पाँचौं महाधिवेशनका क्रममा पार्टी एकता कायम राख्न माग गरी सप्तरी सेवा आश्रममा अनशन बसेका थिए। सद्भावना पार्टीकी नेत्री आनन्दीदेवी सिंहले अनशन तोड्न लगाएकी थिइन्। त्यसपछि सिंहकै नेतृत्वमा नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) गठन भएको थियो।
सद्भावना छोडेर मधेशी जनअधिकार फोरम, नेपालमा आबद्ध भएका यादव २०६० फागुन ७ मा फोरम बाराको अध्यक्ष बनेका थिए। त्यही वर्ष भारतको पटनामा भएको बैठकबाट केन्द्रीय सदस्य बनेका थिए।
२०६२/६३ सालको जनआन्दोलनका क्रममा काठमाडौंमा सक्रिय रहेका वेला पक्राउ परेका थिए। त्यस्तै, मधेश आन्दोलनका क्रममा बारा, पर्सा, रौतहट र कैलालीमा पटक पटक पक्राउ परेका थिए।
२०६४ साल मधेशी जनअधिकार फोरम, नेपाल पार्टी दर्ता हुँदा उनी पनि केन्द्रीय सदस्य थिए। त्यसपछि शिक्षकबाट राजीनामा दिएर पूर्णकालीन राजनीतिमा लागे।
संविधानसभाको पहिलो निर्वाचनमा समानुपातिकबाट संविधानसभा सदस्य बने। २०७० सालमा भएको संविधानसभाको दोस्रो चुनावमा पनि समानुपातिक उम्मेदवार थिए, तर निर्वाचित हुन सकेनन्।
२०७२ सालमा मधेशी जनअधिकार फोरम र संघीय समाजवादी पार्टी एकीकरण भएर बनेको संघीय समाजवादी फोरमको महासचिव बने। त्यसपछि २०७५ सालमा संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरण भएर बनेको संघीय समाजवादी पार्टीको पनि महासचिव बने। त्यसको अर्को वर्ष समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) मिलेर जनता समाजवादी पार्टी बन्दा कार्यकारिणी समिति सदस्य भएका थिए।
उनी २०७४ सालमा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा बारा-२ बाट निर्वाचित भएका थिए। गत मंसीर ४ गते भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पनि बारा-२ बाटै निर्वाचित भएका थिए। जसपा संसदीय दलको नेता रहेका यादव अब देशको उपराष्ट्रपति बनेका छन्।