उपराष्ट्रपति निर्वाचनमा ८१९ सांसदले गरे मतदान
उपराष्ट्रपति पदका लागि भएको निर्वाचनमा ८१९ जनाले मतदान गरेका छन्।
काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा मतदान भएको हो। मतदानको समय सकिंदासम्म प्रतिनिधि सभा र राष्ट्रिय सभाका ३११ र प्रदेश सभाका ५१८ जनाले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
उपराष्ट्रपतिको निर्वाचनमा ८८२ जना मतदाता थिए। जसमा संघीय संसद्का ३३२ जना र प्रदेश सभाका ५५० जना थिए।
संघीय संसद्का ३३४ जनामध्ये चितवन–२ बाट निर्वाचित रवि लामिछानेको सांसद पद खारेज भएपछि पद रिक्त रहेको छ। त्यस्तै, भ्रष्टाचारको आरोप लागेका कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा छन्।
आजको मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ र नेपाल मजदूर किसान पार्टीका एक सांसदले मतदान गरेनन्। उनीहरू तटस्थ रहे।
त्यस्तै, रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन्, सांसदहरू चन्द्र भण्डारी, वर्षमान पुन र मनोरमा शेरचन बिरामी भएकाले मतदान गरेनन्। जसपा सांसद सहनाज रहमानको निधन भएको थियो भने नेकपा (एमाले) सांसद लक्ष्मी महतो कोइरी मुद्दाका कारण अनुपस्थित रहे।
यसैगरी, प्रदेश सभातर्फ राप्रपाका २८ र नेमकिपाका तीन सदस्यले मतदान गरेनन्। जसपाका एक सदस्य पनि अनुपस्थित रहे।
नयाँ उपराष्ट्रपतिका लागि जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र पर्मिला कुमारी, नेकपा (एमाले) की अष्टलक्ष्मी शाक्य तथा जनमत पार्टीकी ममता झा उम्मेदवार छन्।
उपराष्ट्रपतिको निर्वाचन संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुन्छ। संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ रहेको छ।