आज उपराष्ट्रपति पदका लागि निर्वाचन
उपराष्ट्रपति पदका लागि आज मतदान हुँदैछ। मतदान नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा हुने छ।
मतदानका लागि शुक्रबार बिहान १० देखि अपराह्न ३ बजेसम्म समय निर्धारण गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतदानमा संघीय संसद्का सदस्य र प्रदेश सभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र तय गरिएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्।
निर्वाचनमा नेकपा (एमाले) की अष्टलक्ष्मी शाक्य‚ सत्ता गठबन्धनबाट जनमत पार्टीकी ममता झा‚ जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव र प्रमिलाकुमारीले उम्मेदवारी दिएका छन्। तर‚ प्रमिलाकुमारीले उम्मेदवारी निष्कृय बनाएको घोषणा गरेकी छन्।
संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसा सदस्यको मतभार ४८ रहेको छ। निर्वाचनमा संघीय संसद्का ३३२ र प्रदेश सभाका ५५० सांसद मतदाता रहेका छन्।
उपराष्ट्रपति मर्यादाका हिसाबले दोस्रो माथिल्लो पद हो। उपराष्ट्रपतिको पदावधि पाँच वर्षको हुनेछ। मुलुकमा उपराष्ट्रपतिको यो तेस्रो निर्वाचन हुन लागेको हो। हाल उपराष्ट्रपतिमा नन्दबहादुर पुन छन्। उनीभन्दाअघि परमानन्द झा थिए।