‘नेमप्लेट’भरि पुष्पकमल दाहाल (तस्वीरहरू)
मन्त्रिपरिषद् विस्तार नहुँदा प्रधानमन्त्री पुष्पकमल दाहालले १६ मन्त्रालय सम्हालिरहेका छन्। कतिपय मन्त्रालयमा मन्त्री भनेर दाहालकै ‘नेमप्लेट’ राखिएको छ भने कतिपयमा खाली छोडिएको छ।
नेकपा (एमाले) सहित ६ दलको समर्थनमा गत पुस १० गते दाहाल प्रधानमन्त्री नियुक्त भएका थिए। त्यसको भोलिपल्ट शपथ लिएपछि एमाले, नेकपा (माओवादी केन्द्र) र जनमत पार्टीलाई समेटेर सानो आकारको मन्त्रिपरिषद् गठन गरेका थिए। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकारमा सहभागी भएका थिए।
दुई वटा मन्त्रालय प्रधानमन्त्री दाहालसँगै रहेको वेला माघ २३ गते राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्री सरकारबाट बाहिरिए। त्यसको दुई सातापछि राष्ट्रपति निर्वाचनलाई लिएर प्रधानमन्त्री दाहालले नेपाली कांग्रेससँग सहमति गरे।
त्यसपछि फागुन १४ गते राप्रपाले पनि सरकार छोड्यो। त्यसको दुई दिनपछि फागुन १६ मा एमाले पनि सरकारबाट बाहिरियो। त्यसयता १६ वटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहालले नै सम्हालिरहेका छन्।
अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै गृह, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय प्रधानमन्त्री दाहालले नै हेरिरहेका छन्।
त्यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, रक्षा मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र शहरी विकास मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री दाहालले नै सम्हालिरहेका छन्।
कतिपय मन्त्रालयमा प्रधानमन्त्री दाहाललाई मन्त्री भनेर ‘नेमप्लेट’ राखिएको छ भने कतिपय मन्त्रालयमा खाली छोडिएको छ।