माग नबढ्दा घरजग्गाको कारोबार शिथिल, फागुनमा थप घट्यो
माघ महीनामा सुधार देखिएको घरजग्गा कारोबार फागुनमा फेरि घटेको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार, फागुनमा देशभरिमा घरजग्गा किनबेच ४० हजार ७३४ वटामा सीमित भएको छ। यो संख्या माघमा ४१ हजार ८६ पुगेको थियो।
ब्यांक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम पर्याप्त भए पनि घरजग्गा कारोबार शिथिल देखिएको छ। यसअघि ब्यांक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम नहुँदा घरजग्गाको कारोबार शिथिल भएको अनुमान गरिएको थियो।
नेपाल राष्ट्र ब्यांकका अनुसार, अहिले ब्यांकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८५.९७ छ। यसको अर्थ लगानीका लागि ब्यांकहरूलाई सुविधा छ। ब्यांकहरूले सीडी रेसियो ९० प्रतिशतसम्म पुर्याउन सक्छन्।
व्यवसायीले बजारमा वस्तु र सेवाको माग घटेको र अर्थतन्त्र शिथिलता उन्मुख भएको बताउँदै आएका छन्। अर्थतन्त्रको यही शिथिलताको प्रतिबिम्व घरजग्गा कारोबारमा पनि देखिएको छ।
गत वर्षको तुलनामा घरजग्गाको कारोबार आधाले घटेको देखिएको छ। गत आर्थिक वर्षको पहिलो आठ महीना (माघसम्म) मा पाँच लाख २७ हजार ९४९ वटा घरजग्गा किनबेच भएकोमा यो वर्षको त्यही अवधिमा संख्या दुई लाख ७२ हजार १५७ मा ओर्लिएको छ।
घरजग्गा कारोबारको केन्द्र काठमाडौंमा पनि कारोबार ह्वात्तै घटेको छ। काठमाडौंका तीन जिल्लामा फागुनमा चार हजार ३५९ वटा मात्रै घरजग्गा कारोबार भयो। जुन गत वर्षको यही महीनामा आठ हजार ८४९ वटा थियो।
यसले घरजग्गाको कारोबारमा देशैभरि ठूलो मन्दी आएको देखाउँछ। शहरी क्षेत्रमा आवश्यकता बाहेक व्यापारिक दृष्टिले घरजग्गाको किनबेच निकै शिथिल देखिन्छ। घरजग्गा बिक्रीको सूचना दिने अनलाइनमा बिक्रीका लागि राखिएका घरजग्गाको संख्या बढे पनि ग्राहक बढेका छैनन्।
माग घटेकाले बाध्यतामा घरजग्गा बिक्री गर्नुपर्ने विक्रेताले मूल्य घटाएर विक्री गरिरहेका छन्। ब्यांक तथा वित्तीय संस्थाको ऋण तिर्न नसकेका ऋणीहरूको घरजग्गा लिलामी संख्या बढेपनि ती समेत बिक्री नभएको ब्यांकरहरूले बताउने गरेका छन्।
गत वर्ष हरेक महीना ६६ हजार हाराहारीमा घरजग्गा किनबेच हुने गरेकामा यो आर्थिक वर्षमा मासिक औसत ३४ हजार वटा मात्रै कारोबार भएको छ। ब्यांक तथा वित्तीय संस्थाबाट ऋण लिएर घरजग्गा व्यवसाय गरिरहेकाहरू चर्को समस्यामा छन्। खास गरेर बढेको ब्याजदरका कारण उनीहरूको लगानी जोखिममा परेको छ। अहिले ब्यांक तथा वित्तीय संस्थाको ऋणको ब्याज करीब १५ प्रतिशत हाराहारीसम्म पुगेको छ।
घरजग्गामा खन्याएका दर्जनौं सहकारी संस्था डुब्दा यो क्षेत्रको थप लगानी भित्रिन पाएको छैन। जसले गर्दा बजारमा माग सिर्जना हुन पाएको छैन। नेपाल राष्ट्र ब्यांकले चालू पूँजी कर्जाको मार्गदर्शन जारी गर्दै व्यावसायिक प्रयोजन देखाएर ऋण लिने र घरजग्गामा लगानी गर्ने अभ्यासमा रोक लगाएको छ। यसले गर्दा पनि घरजग्गा किनबेच गर्ने नयाँ पूँजी बजारमा आउन पाएको छैन। ऋण लिएर घरजग्गा किन्नेको क्षमता समेत खस्किएपछि घरजग्गाको माग घटेको छ।
कारोबार घट्दा यो व्यवसायबाट सरकारले पाउने राजस्व पनि खुम्चिएको छ। फागुनमा घरजग्गा कारोबारबाट सरकारले तीन अर्ब ५७ करोड राजस्व उठाएको छ। माघमा यो रकम तीन अर्ब ७५ करोड रुपैयाँ थियो।
गत वर्षको फागुनमा सरकारले घरजग्गा कारोबारबाट ६ अर्ब २६ करोड संकलन गरेको थियो।