विद्युत् चुहावट घट्यो, वितरणतर्फको चुहावट ८ प्रतिशतमा सीमित
विद्युत्को चुहावट थप घटेको आँकडा नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको छ।
प्राधिकरणका अनुसार, चालू आर्थिक वर्ष २०७९/८० को पहिलो सात महीना (माघसम्म)मा वितरणतर्फको विद्युत् चुहावट ७.९९ प्रतिशतमा झरेको छ। नियमित रूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएका अभियानबाट गत वर्षको तुलनामा वितरणतर्फको सञ्चित चुहावट १.६६ प्रतिशतले घटाइएको प्राधिकरणको दाबी छ।
गत वर्ष माघसम्मको वितरणतर्फको विद्युत् चुहावट ९.६५ प्रतिशत थियो। गत आर्थिक वर्ष २०७८/७९ मा वितरणतर्फको समग्र विद्युत् चुहावट १०.८६ प्रतिशत थियो।
यस वर्षको माघमा गत वर्षको सोही महीनाको तुलनामा वितरणतर्फको विद्युत् चुहावट ३.९८ प्रतिशतले घटेर ४.८९ प्रतिशतमा सीमित भएको छ। गत वर्षको माघमा यस्तो चुहावट ८.८७ प्रतिशत थियो।
प्रसारणतर्फको माघसम्मको ४.६० प्रतिशत सहित प्रणालीको समग्र विद्युत् चुहावट १२.५९ प्रतिशतमा सीमित भएको छ। गत असारसम्म समग्र प्रणालीको विद्युत् चुहावट १५.३८ प्रतिशत थियो।
चालू आर्थिक वर्षको माघसम्म वितरण प्रणालीमा पाँच अर्ब ७३ करोड २२ लाख युनिट विद्युत् प्राप्त भएकोमा पाँच अर्ब २७ करोड ४१ लाख युनिट विद्युत् बिक्री भएको छ। त्यस्तै, चार करोड ५८ लाख युनिट विद्युत् चुहावट भएको छ।
प्रणालीमा रहेको विद्युत् चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ। प्राधिकरणले चालू आर्थिक वर्षमा समग्र प्रणालीको विद्युत् चुहावटलाई १४ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई ८.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गर्मीमा तराई क्षेत्रमा केही मात्रामा चुहावट बढे पनि प्राविधिक र गैरप्राविधिक चुहावटका लागि चालिएका कदमलाई अझै प्रभावकारी बनाएर यस वर्षका लागि तोकिएको लक्ष्यभन्दा चुहावटलाई तल झार्ने गरी काम भइरहेको बताए। “ग्राहकका घरमा राखिएका मिटर सुधार गर्ने, बक्यौता नतिर्ने तथा कालोपाटीमा रहेका ग्राहकको लाइन काट्ने, छड्के मिटर रिडिङ गर्ने, हुकिङ लगायतबाट हुने विद्युत् चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारबाही गर्ने लगायत कार्यलाई देशैभरि अभियानकै रूपमा सञ्चालन गरिएको छ,” घिसिङले भने।
प्राधिकरणका वितरण केन्द्रहरूमध्ये सबैभन्दा बढी विद्युत् चुहावट रहेको मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरको चुहावट ११.७८ प्रतिशतमा झरेको छ। प्रादेशिक कार्यालय जनकपुर मातहतका वितरण केन्द्रहरूको गत वर्ष माघसम्म समग्र विद्युत् चुहावट १२.३० प्रतिशत थियो।
यद्यपि, सर्लाहीको मलंगवा वितरण केन्द्रको सबैभन्दा बढी ४०.९७ प्रतिशत विद्युत् चुहावट रहेको छ। गत वर्ष मलंगवा वितरण केन्द्रको विद्युत् चुहावट ४१.८६ प्रतिशत थियो।