मन्त्री र उच्च कर्मचारीले अत्यावश्यक बाहेक विदेश भ्रमण गर्न नपाउने
सरकारका मन्त्री र अन्य उच्च पदस्थ कर्मचारीले अत्यावश्यक अवस्थामा बाहेक वैदेशिक भ्रमण गर्न नपाउने भएका छन्।
मन्त्रिपरिषद् बैठकले अत्यावश्यक बाहेकका विदेश भ्रमण रोकने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन्। मन्त्रिपरिषद्को फागुन ३० गतेको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव एवं अतिरिक्त स्वास्थ्य सचिवको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ।
त्यस्तै, पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने निर्णय गरिएको छ।
कोशी पम्प चन्द्र नहरको प्रणालीमा सुधारका लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिएको छ। ‘द युनाइटेड नेशन २०२३ वाटर कन्फरेन्स’ विषयक कार्यक्रममा सहभागी हुन खानेपानी मन्त्रीलाई स्वीकृति दिएको छ।
नेपाल र अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एकरूपता कायम गर्ने निर्णय गरेको छ। यससँगै नेपाली सेनाको एक महासेनानी र एक सहायक रथी पदमा बढुवा गरी पदस्थापन गरेको छ ।
बैठकले तल्लो लिखु जलविद्युत् आयोजनाको १३२ केभी प्रसारण लाइन निर्माणका लागि वन क्षेत्र उपयोग गर्न दिने, रामपुर स्वास्थ्यचौकी, उदयपुरलाई १० शय्याको आधारभूत अस्पतालमा स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ।