प्रदेश १ मा बाढीपीडितकाे नि:शुल्क उपचार
१ नम्बर प्रदेशले बाढी तथा डुबान पीडितलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ ।
सरकारी स्वास्थ्यसंस्थामा निःशुल्क उपचार र निजीमा उपचार गर्न चाहनेहरुलाई रु ५० हजार सम्म उपचार खर्च दिइने सामाजिक विकास मन्त्री जिवन घिमिरेले बताए ।
“मन्त्रालयले सोमबार नै यो विषयमा निर्णय गरेको छ” विराटनगर ८ स्थित सिंघिया खोला किनारका बाढी पीडितलाई आज बिहान त्रिपाल वितरण गर्दै मन्त्री घिमिरेले भने “म स्वास्थ्य मन्त्री पनि भएको हैसियतले उपचारमा कुनै कमी नहुनेमा विश्वस्त हुन आग्रह गर्दछु ।”
उनका अनुसार बाढी तथा डुबान पीडित बसेका ठाउँमा रोग फैलन नदिन प्रदेश सरकारले एकसय जना स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखेको छ ।
हैजा लगायत बिभिन्न सरुवा रोग फैलन सक्ने देखेर चाहिएको बेला परिचालन गर्ने गरी चिकित्सकसहित सय जना स्वास्थ्यकर्मी तयारी अवस्थामा राखिएको उनले बताए ।
प्रदेश १ सरकारले बाढीका कारण मृत्यु भएका परिवारलाई जनही रु २ लाख राहत रकम दिने यस अघि नै घोषणा गरिसकेको छ ।